बालसिर्जना संवाददाता ९ असार २०७७, मंगलवार

 

कुर्घा, पर्वतमा २०११ साल मंसिर २६ गते पिता स्व. गंगाप्रसाद शर्मा र माता डिल्लीकुमारीको तेस्रो सन्तानको रुपमा म जन्मिएको हुँ । मलाई सोही ठाउँमा नै हजुरबुबा, हजुरमुमा, पिता र माताको असीममाया ममतामा हुर्किँदै कखरा चिन्ने अवसर प्राप्त भयो । लेखपढ गर्ने समय आउँदा गाउँमा कुनै पाठशाला नभएको अवस्थामा हजुरबुबाले छिमेकी गाउँका एक जना गुरु जो अपाङ्ग हुुनुहुन्थ्यो (पोलियोका कारण हुन सक्छ) लाई हाम्रो घरमा ल्याउनु भयो र गुरु मलाई पढाउने जिम्मेवारी लिएर हाम्रै घरमा परिवारकै सदस्य जस्तो भई रहनुभयो । बिस्तारै हाम्रो घरछिमेकका दाइभाइहरु पनि उहाँसँग शिक्षाआर्जन गर्न हाम्रै घरमा आउन थाल्नुभयो । हाम्रो घर एक प्रकारको औपचारिक शिक्षालय जस्तो भएको थियो । हामी एकै समूहमा सरस्वती वन्दना गाएपछि पिँढीमा गुन्द्री ओछ्याएर बस्थ्यौं । त्यसपछि गुरुले पालैपालो सिकाउनु हुन्थ्यो ।

 

केही समय पश्चात् हाम्रो गाउँमा प्राथमिक स्कूल खोल्ने कुरा चल्यो । केही समयमा स्कूल पनि खोलियो र त्यस स्कूलमा मलाई घरमा पढाउने गुरुले पढाउनु हुन्थ्यो । मकक्षा ५ सम्मगाउँको स्कूलमा पढेपछि भारतको आसाममा गएँ । त्यहाँ मेरा काकाकाकी बस्नुहुन्थ्यो । आसाममा गएपछि नेपालीले सञ्चालन गरेको स्कूलमा कक्षा ६ मा भर्ना भई पढ्न थालें । गाउँमा पढेर गएको तथा त्यहाँको भाषाको ज्ञान नभएकाले मैले राम्ररी पढ्न सकिनँ । नेपाली स्कूल भए पनि हिन्दी र आसामी भाषासाथै अन्य विषय पनि उनै भाषामा पढ्नुपर्ने हुँदा ज्यादै अप्ठेरो भयो । एकातिर भाषाको समस्याले पढाइमा गाह्रो भयो भने अर्कोतिर आमाबुबा र माया गर्ने दिदीहरुदेखि धेरै टाढा हुँदा मन रमाउन सकेन । त्यसैले म कक्षा ६ मा फेल भएँ । फेल हुँदा कसलाई पो रमाइलो लाग्थ्यो र ? त्यहाँको बसाइ र वातावरणमा मलाई झन् नरमाइलो लाग्न थाल्यो ।

 

अन्ततः लगभग डेढ वर्षपछि म नेपाल फर्केँ । गाउँको प्राथमिक स्कूललाई निमावि बनाउने भनेर कक्षा ६ सुरु गरिएको रहेछ । म भदौ महिनातिर कक्षा ६ मा भर्ना भएँ । आफ्नो गाउँ र आफ्नै भाषामा रम्न पाउँदा मलाई पढाइ बोझ होइन मनोरञ्जनको माध्यम पो बन्यो । यसैले होला मंसिरको जाँचमा त म कक्षामा प्रथम भएँ । मलाई पढ्ने प्रेरणा झनै बढ्दै जाग्न थाल्यो । कक्षा ८ सम्म त्यही स्कूलमा पढी छिमेकी गाउँको माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरें । गाउँमा उच्चशिक्षा अध्ययन गर्न कलेजहरु थिएनन् । यसैले आई.ए. अध्ययन गर्न पोखरा पृथ्वीनारायण कलेजमा आएँ । घर छाडेर पोखरा बसी अध्ययनलाई अगाडि बढाउन गाह्रो हुन्थ्यो तैपनि २ वर्ष सबै कुरा सहँदै आई. ए. उत्तीर्ण गरँे ।

 

काठमाडौंको त्रिचन्द्र कलेजमा बीएमा भर्ना भई दुई वर्षमा बीए उत्तीर्ण गरी घर फर्कें । हाम्रै गाउँमा नयाँ माध्यमिक स्कूल बनाउने र त्यहाँ अध्यापन गर्ने आग्रह अनुसार मासिक रु ३५० तलब लिने गरी एक वर्षसम्म गाउँमा अध्यापन गरेँ । एक वर्ष यतै पढाएर बस्ने अनि एम.ए. पढ्नको लागि काठमाडौ आउने विचारले गाउँमा भर्खरै स्थापना गर्न लागेको हाइस्कूलमा शिक्षक बनें । एक वर्षमात्र भनेर थालेको शिक्षण पेसाबाट त म बाहिरिनै सकिनँ । आखिर शिक्षण पेसा जिन्दगी भरिकै निम्ति पो भयो । चार वर्ष सोही स्कूलमा शिक्षण कार्य गरें, तीचार वर्ष त चार महिना जस्ता पनि लागेनन् । चार वर्षमध्ये पछिल्ला २ वर्ष प्रधानाध्यापकको रुपमा काम गरेको थिएँ ।

 

त्यसपछि नयाँशिक्षा योजना लागेकोले सेवा कालीन वि.एड.अध्ययनको निम्ति मलाई शिक्षा कार्यालयले कीर्तिपुर पठायो । काठमाडौँबाट भूगोल र अंग्रेजी शिक्षण विषय लिई बि.एड. उत्तीर्ण गरें र पर्वत फर्कें । पढेर गाउँ फर्कँदा त मेरो दरबन्दी अर्को हाइस्कूलमा सारिएको रहेछ । मलाई त्यो काम चित्त बुझेन र त्यहाँबाट मुस्किलले सरकारी प्रक्रिया पूरा गरेर बितिनपुरको आदर्श शिक्षा मन्दिर माविमा भूगोल शिक्षकका रुपमा सरुवा भएँ । त्यस ठाउँमा चार वर्ष सेवा गरेपछि सन् १९८३ को अन्ततिर नेपालको सुप्रसिद्ध शैक्षिक संस्था बूढानीलकण्ठ स्कुलमा आबद्ध भएको हुँ ।

 

बूढानीलकण्ठ स्कूलमा अध्यापन सुरु गरेको ६ वर्षपछि कञ्चनजंघाको हाउसमास्टर बनाइयो र पछि मलाई Geographical education  मा M.Sc.गर्न UK को  University मा पठाइयो । मलाई John Tyson हेडमास्टरले यस स्कुलमा नियुक्ति गर्नु भएको हो र उहाँले नै मलाई UK पढ्न पठाउनु भयो । लगभग साढे एक वर्षपछि मेरो पढाई पूरा भयो र नेपाल फर्की पुनः बूढानीलकण्ठ स्कूलमा नै आफ्नो सेवालाई निरन्तरता दिएँ । त्यसपछि सहायक हेडमास्टर हुँदै सन् १९९५ को डिसेम्बरमा का.मु. प्रिन्सिपल भई १९९६ को सुरुदेखि शिक्षा मन्त्रालय र स्कूल बोर्डको निर्णयले ३ वर्षको समयावधिका लागि मलाई प्रिन्सिपलको रुपमा नियुक्त गरियो । ३ वर्षपछि पुनः ५ वर्ष समयावधि थप भयो । त्यसपछि पनि समयावधि थप हुँदै गयो ।

 

एकपटक प्रिन्सिपल नियुक्तिका विषयमा स्कूलमा ठूलो झमेला भएको थियो । त्यतिखेर मेरै पदको म्याद थपका बारेमा कुरा नमिल्दा विज्ञापन गरियो तर मेरो समयावधि सकिए पनि पुनः म नै नियुक्त भै अर्को ९ वर्षसमेत गरी जम्मा १७ वर्ष प्रिन्सिपलको रुपमा र बूढानीलकण्ठ स्कूलमा ३० वर्ष सेवा गरेपछि आफ्नै पुरानो विद्यार्थी र भाइस प्रिन्सिपल केशरबहादुर खुलाललाई प्रिन्सिपलको जिम्मेवारी सुम्पेर शिक्षा मन्त्रालयको अनुरोधमा २०७० साल जेठमा धनकुटा गई निजामती आवासीय स्कूलको स्थापना गरें ।

 

सबै सरकारी कर्मचारीहरु स्थानीय व्यक्तिहरुको सहयोग र मेरो आफ्नै मेहनतले ३ महिनापछि भदौको सुरुमा १५ जना विद्यार्थी भर्ना गरी बूढानीलकण्ठ स्कूलकै आदर्श रुपमा स्कूलको भव्य सुरुवात गराउन सफल भएँ । नेपालको पूर्वाञ्चलमा यो स्कूल अहिले एउटा उत्कृष्ट स्कूलको रुपमा अगाडि आउँदै छ । धनकुटाबाट फर्केपछि २ वर्ष जति स्वतन्त्र रुपमा रहे पनि मेरै ग्लष्खभचकष्तथ का गुरु अध्यक्ष रहेको काठमाडौंको नयाँबजार स्थित प्राइम एजुकेशनल इन्कमा Prime globule School को सो इन्क अन्तरगत रहने गरी सञ्चाल नगर्न आग्रह भएकोले हालसम्म त्यहीँ संलग्न  भइआएको छु । हाल Prime International School / Prime globule School को प्रिन्सिपलको रुपमा कार्यरत छु ।

 

पर्वत जिल्लामा शिक्षण पेसा सुरु गर्दा र त्यहाँको संस्थाको विकास र स्थायित्वका निम्ति कार्य गर्दा होस् वा आदर्श विद्या मन्दिरमा कार्य गर्दा होस् वा बूढानीलकण्ठ स्कूलमा जीवनको ज्यादै महत्त्वपूर्ण समय व्यतीत गर्दा होस् या धनकुटामा छोटो समय भएपनि एउटा शैक्षिक संस्थालाई जन्माउँदा होस् वा बूढानीलकण्ठ स्कूलमा रहँदा राजदरबारमा गई तत्कालीन युवराजाधिराज, अधिराजकुमार, अधिराजकुमारीलाई पढाउँदा होस् म सधैँ आफ््नो कार्यमा इमानदारिताका साथ लगनशील भएँ । यसैले मलाई अहिले पनि भित्रैबाट सन्तोष लाग्छ ।

 

जीवनमा अनेक उतारचढाव त हुन्छन् नै । सहयोग, असहयोग, मित्र, शत्रु जेजसो भएपनि म र मेरो जीवनको डुंगालाई भगवानले आशीर्वाद प्रदान गर्नु भएको छ । मलाई अझै पनि ९१ वर्षकी आमाको आशीर्वाद छ । छोराछोरीहरु पनि राम्रै गर्दैछन् । अन्तमा बूढानीलकण्ठ स्कूलप्रति म सदा ऋणी रहने छु । मलाई त्यो संस्थाले एक प्रकारले नेपालमा विशिष्ट पहिचान बनाउने अवसर प्रदान ग¥यो । जय होस् बूढानीलकण्ठ स्कूलको जय होस् । यो देशको जय होस् ।

 

मलाई सफल बनाउने खास गरी बूढानीलकण्ठ स्कूलको प्रिन्सिपलको रुपमा सबै मेरा विद्यार्थी, अभिभावकज्यूहरु, शिक्षक साथीहरु र प्रशासनिक कर्मचारीहरु अनि मलाई सहयोग पु¥याउने सरकारी निकायका विभिन्न व्यक्तित्वहरु सबैको जय होस् भन्ने कामना गर्दछु । अन्तमा भविष्यका कर्णधार भाइबहिनीलाई अप्ठेरो अवस्थामा पनि नैतिकवान् बनी कर्ममा जुट्न आग्रह गर्दछु ।

Top