बालसिर्जना संवाददाता २१ असार २०७७, आइतवार

 

“अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,

चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः ”

संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । गुरूपूर्णिमा आर्य सभ्यताको एउटा धरोहर हो । वैदिकसनातन धर्मावलम्वीहरूले वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्। आषाढ महिनाको शुक्ल पक्षको यही पुर्णिमालाई गुरुपूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । वेदव्यासले महाभारत, श्रीमद्भागवतलगायतका अठार पुराण र उपनिषदहरुको रचना गरेका हुन् । अपौरूषेय वेदलाई चार भाग लगाउने महर्षि वेदव्यास वास्तवमा विश्व गुरु हुन् । यही परम्परालाई आत्मसात गर्दै आफ्ना गुरुलाई फूलमाला अर्पण गर्ने र उनीहरूबाट आशीष थाप्ने चलन छ। ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म नेपालको तनहुमा भएको थियो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ। सनातन मान्यताअनुसार संगीतलगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, ब्राह्मण, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् । गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्यामा रुचि भएका हुन्थे । भगवान् गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा मनाउने चलन छ ।

भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन्को भनाई छ-  ‘देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ।’

त्यस्तै पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम भन्छन्- ‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन्।’

अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ। सय वर्षपूर्व अमेरिकामा शिक्षक सङ्घ र समुदायले शिक्षकहरूले पालन गर्नुपर्ने आचारसंहिता पारित गरेका थिए। जसको उद्देश्य शिक्षकहरूमा व्यक्तिगत, सामाजिक र पेसागत गुण तपसील बमोजिम हुनुपर्ने भनी उल्लेख गरिएको थियो। व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि। सामाजिक गुण पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव- क्रियाशील, विनोदपि्रय, नेतत्त्व गर्ने क्षमता र समुदायको ज्ञान आदि। सबभन्दा प्रमुख पेसागत गुण हो। विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि। सारांशमा हाम्रा स्थापित मूल्य मान्यता र आदर्शलाई शतप्रतिशत रूपमा पश्चिमा राष्टले स्वीकार गरिसकेका हुन्। आजभोलि अध्यापन गर्ने गुरूलाई शिक्षक, टिचर, लेक्चर, प्रोफेसरको रूपमा सम्बोधन गरिन्छ।

दीनदयाल रेग्मी

balsirjana.com

 

 

Top