नेपालका प्राकृतिक अमृतधारा जस्तै अनवरत रूपमा बगिरहेका मनोरम नदीहरूमध्ये एक अनुपम त्रिशुली नदीको काखमा अवस्थित धादिङ जिल्ला राजधानी काठमाडौँमा जोडिएको छ । पृथ्वीराजमार्गबाट पनि परिचित धादिङ जिल्लालाई गङ्गा जमुना झरना र अर्को सुन्दर नदी नेत्रावती अर्थात् आँखु लगायतका नदी, खोला, ताल तलैया, झरना, हिमाल, टार, बेसी, फाकट, पहाड, भिर पाखाले विविधतामय बनाएको छ । काठमाडौँको विकास र शिक्षाको तुलनाका दृष्टिले कमजोर भएकाले यस जिल्लालाई बत्तीमुनिको अँध्यारो पनि भन्ने गरिएको छ । तर तरकारी उत्पादनदेखि पर्यटन व्यवसायी लगायत वैदेशिक रोजगारी र जीवनका विविधतामा छरिएका धादिङका परिश्रमी असल मानिसहरूले ज्वालाको देवीको अर्थमा नामकरण भएको धादिङ जिल्लालाई विकासको ज्वालाको रूपमा पनि रूपान्तरण गर्ने कोसिस गरिरहेका छन् ।
हो, नेपालमा हाल नयाँ प्रशासनिक संघीय संरचनाअन्तर्गत पर्ने सात ओटा प्रदेशहरूमध्ये प्रदेश नं. ३ अर्थात् बागमती प्रदेशभित्र पर्ने धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं. १ (साविक ः नलाङ गा.वि.स. वडा नं. ६) पिपल नलाङको फड्के टोलमा आमा भगवती सिलवाल र बुबा आत्माराम सिलवालको पाँचौँ सन्तानको रूपमा वि.सं २०३० सालमा जन्मनु भएका श्री हरिप्रसाद सिलवाललाई आज हामी एक प्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित गराउने उद्देश्यका साथ यहाँ प्रस्तुत गर्दैछौँ ।
हरिप्रसाद सिलवालले आफू जन्मेको गाउँमा अवस्थित श्री नलाङ निमावि नलाङ चरिमारेटारमा भर्ना भई कक्षा एकमै सर्वप्रथम हुन सफल भएर हुने बिरुवाको चिल्लो पात भनेझैँ सात कक्षासम्मको अध्ययन सम्पन्न गर्नुभएको थियो । साना कक्षामा अध्ययन गर्दा नै हाजिरी जवाफ, वादविवाद, निबन्ध लेखन जस्ता प्रतियोगिताहरूमा पनि उत्साहका साथ सहभागी भई पुरस्कृत समेत हुनु भएको थियो । त्यसपछि तत्कालीन अवस्थामा माध्यमिक विद्यालयको घरपायक अनुकूलता नभएकाले पैदल यात्रामा करिब ५÷७ घण्टा लाग्ने दूरीमा अवस्थित सालवास मावि चैनपुरमा डेरा गरी हप्तामा एक दिन खर्चपानी लिन घरमा आउने गर्दै कक्षा १० सम्मको अध्ययन पूरा गर्नुभएको थियो । कक्षा नौमा अध्ययन गर्ने क्रममा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय स्तरको निबन्ध प्रतियोगितामा भाग लिई हुलाकमार्फत सो निबन्ध काठमाडौँ पठाइएको र त्यसमा चौथो अर्थात् प्रोत्साहन पुरस्कार पनि हुलाकबाट नै प्राप्त गरेको क्षणलाई उहाँले अति नै प्रेरणादायी घटना मान्नुहुन्छ ।
वि.सं २०४८ सालदेखि नै निबन्ध, दैनिकी, गीत, बालनाटक, बालकविता, बाल निबन्ध, कविता, नाटक जस्ता साहित्य रचनामा लाग्नुभएका हरिप्रसाद सिलवालको पहिलो प्रकाशित रचना ‘माटोलाई ढोग्छु’ कविता (२०५२) हो । यसअघि नै अप्रकाशित रूपमा भरियाको गीत जस्ता जनवादी गीत र तिजेली गीत तथा नाटकहरू रचना गरी त्यसलाई समाजको अन्धविश्वास विरुद्ध प्रसार गर्ने, गाउने, मञ्चन गर्ने, विद्यार्थी हकहित र अधिकार निम्ति सङ्गठित भई अरुलाई पनि जागरुक गराई नेतृत्वसमेत गर्नेलगायत सामाजिक कार्यमा पनि उहाँको रुचि र सहभागिता सक्रियतापूर्वक रहेको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सरस्वती बहुमुखी क्याम्पसमा मानविकी सङ्कायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गनुभयो । त्यसपछि त्रिविकै रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातकदेखि अध्ययन सुरु गरी नेपाली विषयमा स्नातकोत्तर तहमा सर्वप्रथम भई स्वर्णपदक पनि हासिल गर्नुभयो । विभिन्न पुरस्कार, सम्मान प्राप्त गर्नुभएका सिलवालले वि.सं. २०७४ सालमा त्रिभुवन विश्वविद्यालयबाट मदनमणि दीक्षितका उपन्यासको समाजशास्त्र विषयमा विद्यावारिधि अध्ययन पूरा गरी नेपाल विद्याभूषण ‘क’ श्रेणीबाट सम्मानित हुनुभएको छ । हाल उहाँ रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापनरत रहनुका साथै सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पनि कुशलतासाथ निर्वाह गरिरहनु भएको छ ।
अध्ययनमा असाध्यै रुचि राख्ने र भाषा, कला, साहित्य, परामर्श, सम्पादन, अनुसन्धानमा क्रियाशील हरिप्रसाद सिलवालले वक्तृत्वकला प्रशिक्षण, कार्यक्रम सञ्चालन कला क्षेत्रमा पनि अनुभव हासिल गर्नुभएको छ । उहाँले बालमनोपरामर्श गर्न त्रिविकै सिपीएसएससी कलेजबाट परामर्श मनोविज्ञानमा उच्चस्नातक तहको अध्ययन गर्नुभयो । त्यसैगरी कानुन सङ्काय र शिक्षाशास्त्रमा पनि स्नातक तहको अध्ययन गरी पढाइमैत्री जीवनलाई सक्रिय पार्नु भएको छ । उहाँले हालसम्म विभिन्न पत्रिका तथा पुस्तकहरूमा आफ्ना रचना, लेख, अनुसन्धान, सिर्जनाहरू प्रकाशित गर्नुभएको छ । हरिप्रसाद सिलवालको पहिलो प्रकाशित साहित्यिक कृति नव आकाश निबन्ध सङ्ग्रह (२०५५) रहेको छ भने उहाँका उन्नति प्रकाशनबाट अनिवार्य नेपाली २०६४, स्वदेश प्रकाशन प्रा.लि.बाट सङ्कलित समालोचना सङ्ग्रह (२०७०) र रमेश विकलको कथाकारिता (२०७०), नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली प्रगतिवादी कविताको इतिहास (२०७४), …बाट दिल पौडेलका साहित्यिक कृतिहरूको विश्लेषण (२०७६) जस्ता पुस्तकहरू प्रकाशित भएका छन् । उहाँको लेखन यात्रा निरन्तर अघि बढिरहेको छ । धादिङको माटोमा जन्मेर नेपाली माटोमा उदीयमान भएका मिलनसार, अध्ययनप्रेमी प्रतिभाशाली व्यक्ति श्री हरिप्रसाद सिलवाललाई यस पत्रिकाको तर्फबाट अझै प्रगतिमा लम्कन र सुन्दर काम गरेर प्रेरणाको स्रोत बन्न हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।