शरण कुमार अर्याल २७ चैत २०८०, मंगलवार

 

 

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले केहि दिन अगाडि संसदमा विद्यालय शिक्षाको सन्दर्भमा व्यक्त विचार “हाम्रा विद्यालयहरूमा केटाकेटीहरू पढ्न गइरहेको देशभरि देख्छौँ हामी, थुप्रै विद्यालयहरू खुलेका छन्, भवनहरू पनि बनेका छन् तर कक्षा १ मा १०० जना विद्यार्थीहरू भर्ना भएकोमा १०–१२ कक्षामा आइपुग्दा ३०–३५ मा सीमित भएका छन् । त्योभन्दा पनि अझ डरलाग्दो कुरा हाम्रा केटाकेटीहरू विद्यालयमा पढिरहेका त छन् तर सिकिरहेका छ्रैनन् । गणित सिकिरहेका छ्रैनन्, विज्ञान सिकिरहेका छैनन्, अङ्ग्रेजी त त्यो अझै कम सिकिरहेका छन् । विज्ञान, गणित र अङ्ग्रेजी आएन भने अहिले हामी सूचना प्रविधिको जुन कुरा गरिरहेका छौँ, नलेज इकोनमीको जुन कुरा गरिरहेका छौंँ, नेपालले अघिल्लो पटक हामीले हाम्रो जुन ट्रेन छुट्यो भनिरहेका छौँ, अर्को पटक पनि फेरि ट्रेन छुट्छ” ले गम्भीर बनायो । वास्तवमा बालबालिका विद्यालय गएर पनि किन सिकिरहेका छैनन् त ? यसमा दोष कसको हो ? विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी वा राज्य ? बालबालिका किन असफल हुन्छन् ? वा असफल ठानिएका छन् ? यही विषयमा केन्द्रित रहेर यो लेख अगाडि बढ्नेछ । यद्यपि सफलता र असफलताको परिभाषा व्यक्ति अनुसार फरक फरक हुन सक्दछ ।

नेपालको कानुन (बालबालिका सम्बन्धी ऐन २०७५) अनुसार, बालबालिका भन्नाले अठार वर्ष उमेर पुरा नगरेको व्यक्ति सम्झनु पर्दछ । यहि उमेर समूहका बालबालिकाहरू विद्यालय शिक्षाका विद्यार्थीहरू हुन । विद्यार्थीहरू विद्यालय गइरहेकै छन्, शिक्षकहरू पनि विद्यालयमा हाजिर लगाइरहनु भएकै छ, अभिभावकहरूले पनि आफ्नो आर्थिक स्थितिअनुसार आफ्ना सन्तानहरूमा आर्थिक लगानी गरिरहनु भएकै छ, राज्यले पनि प्रतिवर्ष शिक्षामा लगभग ११% लगानी गरेकै छ तर पनि बालबालिकाहरूले आफूले सोचेजस्तो, चाहेजस्तो अनि आफ्नो क्षमता अनुसारको सफलता प्राप्त गर्न किन सकिरहेका छ्र्रैनन ? अर्थात् बालबालिका किन असफल भैरहेका छन् वा ठानिएका छन् त ? भन्ने सन्दर्भमा केहि प्रमुख कारणहरूमा यो लेख सीमित छ ।

अमेरिकी शिक्षा शास्त्री तथा लेखक जोन हल्टले बालबालिकाको चौतर्फी विकास, सृजनात्मक क्षमता, अन्तर निहीत प्रतिभाको प्रस्फूटनमा विद्यालय प्रणाली नै बाधक रहेको तर्क अघि सार्दै १९५० को दशकमा होमस्कुलिङ्गको धारणा अगाडि बढाएका थिए । उनले सन् १९६९ मा द अण्डरएचिभिङ्ग स्कुल (नेपालीमा अनुवाद – असफल स्कुल) नामक पुस्तक प्रकाशित गर्दै विद्यालय किन असफल भैरहेका छन्, शिक्षालय किन बालबालिकाका लागि सिकाइ केन्द्रभन्दा बढ्ता जेल जस्ता बनेका छन् भन्ने बारेमा आफ्ना धारणा व्यक्त गरेको पाइन्छ । उनका सबै विचार र धारणाप्रति सहमत हनु नसिकएला तर नेपालको विद्यमान विद्यालय शिक्षा प्रणालीका बारेमा गम्भीर समीक्षा गर्न ढिला गर्नु भनेको सांसद गगन थापाले भनेजस्तै पुनः ट्रेन छुट्न दिनु हो । वास्तवमा जबसम्म विद्यालयहरू विद्यार्थीहरूको सृजनशिलता, प्रतिभा, क्षमता र रुचिलाई प्रोत्साहन गर्ने सिकाइ केन्द्रभन्दा बढी हाजिरी, अनुशासन, पोशाक, परीक्षा, अङ्क, दण्ड र सजायमा विश्वास गर्ने बाल सुधार केन्द्र वा सुधारगृह जस्ता बन्दछन् विद्यालय मात्र होइन बालबालिका पनि सफल हुन सक्दैनन् । विद्यालय यसतर्फ गम्भीर हुनै पर्दछ । भारतमा बालबालिकाका गान्धी भनेर चिनिने भारतीय शिक्षाशास्त्री तथा लेखक गिजुभाई बधेका पुरा नाम गिरिजा शंकर भगवान जी बधेकाले पनि आजभन्दा लगभग सय वर्ष अगावै धेरै पुस्तक लेखेर बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको, शिक्षण विधि र तरिका सही हुन नसकेको र शिक्षकले चाहेमा र जानेमा अरु पक्षलाई छाडेर कक्षा कोठालाई बसौँ बसौँ, सिकौँ सिकौँ लाग्न सक्ने बनाउने धारणा अगाडि सारेका छन् । सन् १९३९ मा प्रकाशित दिवाप्सप्न (नेपालीमा पनि अनुवादित छ) पुस्तकमार्फत् शिक्षण सिकाइ प्रक्रियामा प्रयोगात्मक विधि, खेल अभ्यास, कथावाचन फिल्डभिजिट जस्ता विद्यार्थी केन्द्रित शिक्षण विधिबाट पुस्तक, पाठ्यक्रममा भएका विषयवस्तुहरू कसरी सरल ढङ्गबाट बुझाउन सकिन्छ भन्ने प्रमाणित गरेका छन् । वास्तवमा एउटा शिक्षकको दृढ इच्छाशक्ति, समर्पणभाव, धैर्यता, क्रियाशिलता र क्षमताले विद्यार्थीहरूलाई असफल बन्नबाट रोक्न सक्छ । यद्यपि शिक्षकलाई विद्यालय प्रशासन, सरोकारवाला निकाय र अभिभावकको सहयोग विना सम्भव छैन । अझ नेपालमा त शिक्षकलाई समाज र राज्यले हेर्ने दृष्टिकोण नै बदल्नुपर्ने हुन्छ ।

एकातिर विद्यालयको वातावरण र उत्कृष्ट शिक्षकको अभावमा बालबालिका असफल हुने सम्भावना प्रवल रहन्छ भने अर्कोतर्फ अभिभावक र घरको वातावरणले पनि बालबालिका सफल बन्न नसक्ने हुन सक्दछ । धेरै शिक्षाशास्त्री तथा बाल मनोविज्ञहरूका अनुसार आमरूपमा बालबालिकामा असफलताको भय, डर र त्रास हुन्छ । उनीहरूमा सबैभन्दा ठूलो डर अभिभावक, परिवार र नजिकको प्रौढ वा वयस्कहरूलाई निराश बनाइरहेको त छैन भन्ने हुन्छ । यिनै प्रौढ वा वयस्कहरूका असीमित अपेक्षाहरू कालो बादल जस्तै गरेर बालबालिकाको मनमस्तिष्क माथि घुमिरहेका हुन्छन् । जसले गर्दा बालबालिकाहरू आफ्नो रुचि, इच्छा, क्षमता अनुसारको विषय रोज्न र आफ्नो भावी योजना बनाउन असमर्थ हुन्छन् । १६–१७ वर्ष विद्यालय शिक्षामा संलग्नता भएका नाताले मसँग यस्ता तिता अनुभव यथेष्ठ छन् । जब विद्यार्थी कक्षा ९ मा पुग्दछन् उनीहरूले अनिवार्य विषय बाहेक दुईवटा विषय रोज्न पाउँछन् तर त्यसबेला विद्यार्थीले आफ्नो रुचि, इच्छा, क्षमता अनुसारको विषय होइन कि अभिभावकले रोजेको विषय पढ्न बाध्य हुन्छन् । जब बालबालिकाले आफ्नो रुचिअनुसारको विषय रोज्न पाउदैनन् उनीहरूमा बुवाआमाप्रति नकारात्मक धारणा र सिकाइप्रति नैराश्यता उत्पन्न हुन्छ । सिकाइ प्रक्रिया खुशी होइन बोझ बन्दछ अनि सिकाइ प्रक्रियालाई बोझ मानेर अगाडि बढेको विद्यार्थी असफल हुने प्रचुर सम्भावना रहन्छ । वास्तवमा अभिभावकीय गुण, उद्देश्य र कर्मले पनि बालबालिका सफल र असफल हुने गर्दछन् । भनिन्छ अभिभावकीय कर्म चार प्रकारको हुन्छ र प्राधिकृत अभिभावकका सन्तान सफल हुने सम्भावना अधिक रहन्छ र अन्य प्रकारका अभिभावकका सन्तान असफल हुने डर हुन्छ । यहाँनेर म महात्मा गान्धीको “एउटा असल संस्कार भएको घरभन्दा ठूलो विद्यालय हुनै सक्दैन, एउटा सदाचारी आमाबुबा भन्दा ठूलो प्रशिक्षक हुनै सक्दैन” भन्ने भनाईलाई उदृत गर्न चाहान्छु ।

विद्यार्थी स्वयम्को बानीव्यहोरा, आचरण, लगनशिलता, निष्ठा, समर्पणभाव, इच्छाशक्ति, लक्ष्य वा सपना आदिले पनि स्वयम्को सपना पुरा हुने वा नहुने गर्दछ नै बालबालिकाहरूले विभिन्न परीक्षाहरू, प्रतियोगिताहरूमा सफलता प्राप्त गर्न नसक्नुमा लक्ष्य वा सपनाको अभाव वा अविश्वसनीय लक्ष्य, उत्प्रेरणाको कमी, हिनताबोध, कमजोर समय व्यवस्थापन, स्वास्थ्य अवस्था, पारिवारिक आर्थिक अवस्था, सिकाइ प्रति अप्ठ्यारा, व्यक्तिगत समस्या, अरुसँग तुलना, सामाजिक वातावरण, साथी संगत, अत्यधिक सामाजिक संजाल, इन्टरनेट वा प्रविधिको प्रयोग र असफल हुने डर आदि हुन् । यदि बालबालिकाले सफलताको प्रथम तथा अन्तिम प्रमुख कारण आफू स्वयम् र अन्य सहायक हुन भन्ने बुझेका दिन बालबालिका स्वयम् आफ्नो कारणले असफल हुनु पर्दैन । यसका लागि म सक्छु भन्ने मूल मन्त्र बनाउनु पर्दछ ।

तिनै तहका सरकार तथा अन्य सरोकार निकायहरूका क्रियाकलाप तथा गतिविधिले पनि बालबालिका सफल वा असफल के हुने भन्ने हुन सक्दछ । जस्तो कि शिक्षा नीति, पाठ्यक्रम तर्जुमा, शिक्षा ऐन, नियमावली, शिक्षामा लगानी तथा विद्यालय अनुगमन, सुपरीवेक्षण मूल्याङ्कन जस्ता कुराले पनि विद्यार्थीको सिकाइमा प्रभाव पार्दछ नै । यसै गरेर शिक्षाप्रतिको आममानिसको दृष्टिकोण र बुझाइले पनि कुनै एक विद्यार्थी कसैको नजरमा सफल तर कसैको नजरमा असफल हुन सक्छ । आमरूपमा हामीले शिक्षालाई संकुचित अर्थमा मात्र हेरेका हुन्छौँ, हाम्रो विचारमा शिक्षा भनेको किताबी ज्ञानमा जोड दिँदै परीक्षा लिने, उत्तीर्ण अनुत्तीर्ण घोषणा गर्ने प्रमाणपत्रमुखी ज्ञान र जागिरे शिक्षालाई मात्र बुझाउँछ । यदि कुनै बालबालिकाले कुनै परीक्षामा राम्रो अङ्क प्राप्त गर्न सकेन भने उसलाई असफल करार गर्दछाँै । जसले राम्रो अङ्क प्राप्त गर्दछ उसलाई अब्बल विद्यार्थी घोषणा गरिदिन्छौँ । तर शिक्षा त्यतिमा मात्र सीमित छैन र हुनुहँुदैन । शिक्षालाई विस्तृत रूपमा बुझ्नुपर्दछ र व्यापक अर्थमा लिनुपर्दछ । यदि हामीले शिक्षालाई जीवन जस्तै निरन्तर चलिरहने प्रक्रियाका रूपमा लिन सक्यौँ र अमेरिकी दार्शनिक जोन डिवीले भने जस्तो “शिक्षा जीवनको लागि होइन शिक्षा स्वयम् नै जीवन हो” भन्ने शिक्षाको आधुनिक चिन्तन अनुसार मनन गर्न थाल्यौं भने असफल करार भएका बालबालिका पनि सफल भएको अनुभव गर्न सक्दछौँ । यसका लागि सूक्ष्म चिन्तन भने जरुरत छ ।

अन्तमा नेपालको जनसाङ्ख्यिक अवस्था हेर्दा ४०% जनसंंख्या १८ वर्ष मुनिका बालबालिका छन् । जनसंख्याको ठूलो हिस्सा ओगटेका बालबालिका असफल हुनु भनेको यो उमेर समूह मात्र असफल हुनु होइन राष्ट्र नै असफलताको मार्गतर्फ लम्कनु पनि हो । उनीहरूको असफलताको वा सफलताको प्रमुख जिम्मेवार स्वयम् बालबालिका, विद्यालय, शिक्षक, अभिभावक, मातापिता, परिवार, समाज, सरोकारवाला निकाय र सरकार सबै भएकोले हामी सबै सचेत र जिम्मेवार हुनु नितान्त आवश्यक छ । आ–आफ्नो दायित्व, भूमिका र जिम्मवारी के हो ? मनन गर्दै सो पूर्ण इमान्दारिताका साथ निर्वाह गरेमा बालबालिका असफल हुनुपर्ने छैन भने राष्ट्र पनि असफल बन्नबाट जोगिन्छ ।

Top