दीनदयाल रेग्मी, सम्पादक १९ भदौ २०७७, शुक्रवार

 

भाइबहिनीहरू ! भदौ १६ देखि विद्यालय खुल्ने, रोकिएका परीक्षाहरू सञ्चालन हुने चर्चाले सबैलाई खुशी तुल्याएको थियो । अब अन्तराष्ट्रिय हवाई सेवा पनि खुल्ने, आन्तरिक हवाई सेवा पनि खुल्ने, लामोदुरीका सवारी साधन पनि खुल्ने भए भनेर सर्वसाधारणमा अर्कै उत्साह थपिएको थियो । जसरी पनि उद्योग व्यवसाय खुल्ने छन् भनेर व्यवसायी पनि खुशी थिए । आफन्त भेट्न पाइने भयो भनेर सबै जना प्रफुल्ल थिए तर भदौ ३ गते सरकारले गरेको निर्णयले यी सबै कुरा कल्पनामा मात्र सीमित भए किन कि एक हप्ताका लागि निषेधाज्ञा शुरु भएको छ ।
भाइबहिनीहरू ! कतिपय विद्यालयले अनलाईन माध्यमबाट कक्षा सञ्चालन गरेका भए पनि त्यो त्यति प्रभावकारी भएको छैन । सबैको पहुँचमा प्रविधि पुगेको छैन । विद्यार्थीलाई समय व्यतित गर्न सजिलो होस् भनेर मात्र यसो गरिएको हो कि भन्ने जस्तो मात्र देखिएको छ । तर सरकारले अनलाइन कक्षालाई महत्त्व दिएको छैन भने परीक्षाको त कुरै भएन । विद्यालयले आन्तरिक मूल्याङ्कन गरिरहेका समाचारहरू आए पनि त्यसले उपयुक्त परिणाम दिन सक्नेमा पनि शङ्का छ । अझै ध्यान दिनु पर्ने कुरा के छ भने अनलाइन कक्षाका नाममा धेरै विद्यार्थीहरूले इन्टरनेटको दुरुपयोग गरिरहेका छन् यसतर्फ पनि सचेत हुन जरुरी छ ।
भाइबहिनीहरू ! प्रविधिको विकासलाई अनुसरण नगरी सुखै छैन । तर हामी सबै नेपालीहरूको पहुँचमा प्रविधि पुग्न सकेको छैन । कतिपय ठाउँमा विद्युत सेवा पुगेको छैन । इमेल इन्टरनेटको पहुँच त थोरै नेपालीको पहुँचमा मात्रै छ । राजधानी र केही ठूला शहरमा बसेर प्रविधिको व्याख्या गरिरहँदा दुर्गममा रहेको ठूलो संख्या ओझेलमा रहेको कुरालाई पनि ध्यान दिन जरुरी छ । प्रविधि पुगेका ठाउँमा अनलाईन कक्षाबाट जसो तसो पढाइ भइरहे पनि परीक्षाले त सबैलाई समेट्नु पर्छ त्यसैले कक्षा कोठामा गरिने पढाइ र परीक्षा अझै अन्योलमा परेको छ ।
सम्पादकीय, २०७७ भदा

Top