विकाशोन्मुख देशमा पद्धतिमा भन्दा नाता र चाकडीमा विश्वास गर्ने समुदायको संख्या बढी छ । यसैले भनसुनका आधारमा मात्र काम हुने अवस्था यी देशहरुमा रहन्छ । नियम र पद्धतिका कारण सम्पन्न हुन नसक्ने काम पनि चाकडीका कारण हुन सक्ने भएकाले मानिसहरु अनेक किसिमका नाता र सम्बन्धहरु जोडेर आफ्ना काम फत्ते गर्न लागेका हुन्छन् । नियमले काम नहुने अवस्थामा र एकले अर्कोलाई उछिन्ने होडमा भ्रष्टाचारले फैलिने मौका पाउँछ। यसैले भ्रष्टाचारको मूल जडका रूपमा चाकडी मनोवृत्तिलाई लिने गरिन्छ । केही मानिसले विभिन्न अवस्थामा शक्तिमा रहेका व्यक्तिको अनावश्यकरूपमा प्रशंसा गर्ने र सहयोगका नाममा आफूलाई दासको श्रेणीमा राखेर व्यवहार गर्ने गरेका हुन्छन् ।आर्थिक अभावका कारणले वा अन्य समस्याका कारणले सबै व्यक्तिले यसरी आफ्नो स्वाभिमान गुमाउँदैनन् तर एकथरी मानिसहरु सबै सुविधा हुँदाहुँदै पनि केही व्यक्तिको चाकडी गर्न नपाउँदा र रमाउनै सक्दैनन् । यसैले चाकडी व्यवहार र अन्य समस्याको उपज र व्यक्तिको विवशता नभएर एक मानसिक रोग हो ।
दास मनोवृति भएका व्यक्तिले आफूलाई कहिल्यै पनि पूर्ण मान्न सक्दैन । उसमा सधैं हीनताबोध रहेको हुन्छ । यही हीनताबोधका कारण आफ्नो विषय वा क्षेत्रमा कमजोर हुने भएकाले आफ्नो कमजोरी लुकाउनका लागि उ चाकडीवाज बन्दछ । कार्यक्षेत्रसँग सम्बन्धित कमजोरीबाट हुने क्षतिबाट आफूलाई जोगाउनका यस्ता व्यक्तिले शक्तिशाली व्यक्तिको चाकडी गर्न शुरु गर्दछ । आत्म स्वाभिमान निकै कमजोर भए पनि चाकडीवाजहरु चलाख भने हुन्छन् । उनीहरु छेपारोले रङ फेरे झैं समय र परिस्थितिअनुसार अनेक मालिकहरूका पाउ मल्न पछि पर्दैनन् । जहिले पनि शक्ति र शासन सत्ताको वरिपरि रम्ने यस्ता व्यक्तिहरु उच्चपदस्थ अथवा मालिकको नजिकमा रहँदा मात्र आफ्नो अस्तित्व रहेको ठान्दछन् अन्यथा उनीहरु आफूलाई निक्कै निर्बल र निरीह मान्दछन् । आफ्नो क्षेत्रमा अयोग्य र अदक्ष चाकडीवाजहरू इर्ष्यालु र हीनताग्रन्थीले ग्रस्त हुन्छन् । जसका कारण उनीहरु सानो समूहमा ठूलो फूर्ति गरे पनि समुदायका अगाडि शिर ठाडो पारेर आफ्नो विचार प्रस्तुत गर्न सक्दैनन् । उनीहरुमा डिप्रेसन र हीनताभाव रहिरहेको हुन्छ ।अब्राहम मस्लोको सन्तुष्टि सोपानअनुसार आधारभूत आवश्यकता पूर्ति भएपछि व्यक्तिले सुरक्षा र सामाजिक सम्बन्धन खोज्दै अन्तिममा अत्मअसन्तुष्टि खोज्दछ तर दास मनोवृत्तिभएका व्यक्तिको सोपान उच्च हुन सक्दैन । उनीहरुको आधारभूत आवश्यकता पूर्ति भैसकेपछि आफ्नो मालिक वा आफूले नायक ठानेका व्यक्तिको आशीर्वाद प्राप्त हुनासाथ सन्तुष्टिको उच्च तहमा पुग्दछन्। यसैले चाकडीवाज कुनै पनि समस्या समाधान गर्नका लागि चुनौती लिन तयार हुँदैनन् बरु परिस्थिति परिवर्तन हुनासाथ आफूलाई अनुकूल गर्नका लागि विगतमा मालिक मानेको व्यक्तिको आलोचना गरी नयाँ मालिकका पाउ मल्न तयार हुन्छन् । चाकडीवाजको महत्वपूर्ण विशेषता भनेकै अगाडि मिठो बोलेर मालिकलाई खुसी गराउनु हुन्छ । यसैले उनीहरु मालिकका अगाडि आफूलाई पूर्णरूपमा अर्पण गर्न तयार हुन्छन् ।जसले गर्दा उसप्रति मालिकको विश्वासको भावना बढ्दछ ।
चाकडीवाजको उद्देश्य पूर्ति हुनका लागि मालिक पनि चाकरीप्रेमी हुनु आवश्यक हुन्छ । शक्ति र सत्तामा स्वाभिमानी र मानवीय भावनाले सम्पन्न विवेकी व्यक्ति भएमा चाकडीवाजले आफूलाई फैलाउने अवसर पाउँदैनन्।जुन व्यक्ति आफूमा असक्षमता हुँदाहुँदै पनि योग्य स्थानमा पुगेको छ र हीनताबोधका कारणले प्रतिरक्षा मात्र गर्न खोज्दछ उसलाई चाकडीवाजहरु आश्रयस्थल बनाउन सक्दछन् । चाकडीवाजको परिबन्धमा परेपछि व्यक्ति गलत सूचनाको शिकार हुने सम्भावना बढ्दछ । जसका कारण योग्य व्यक्तिहरूले अवसर नपाउने र उनीहरु अन्यायमा पर्ने सम्भावना बढ्दछ ।
मानिस स्वभावैले प्रशंसाप्रिय हुन्छ । आफूले गरेका खराब काम पनि अरुले प्रशंसा गर्दा खुशी हुन्छ । चाकडीवाजको महत्वपूर्ण विशेषता आफ्नो मालिकको स्तुतिगान गर्नु हो । यसैले चाकडीवाजहरुलाई भजनमण्डली पनि भन्ने गरेको पाइन्छ । अयोग्य र खराब व्यक्तिलाई विश्वास गर्न थालेपछि व्यक्ति चाकडीवाजकै चक्रव्यूहमा पर्दछ जसबाट बाहिर अाउन उसलाई निकै कठिन हुन्छ । लामो समयसम्म भजनमण्डलीका गुमराहटमा परेपछि व्यक्तिमा प्रशंसा सुन्ने नशा लाग्दछ । जसले उसको र सम्बन्धित संस्थाको समेत प्रगतिमा मन्दविषको काम गर्दछ । अर्को किसिमले भन्ने हो भने चाकडीमा रमाउन थाल्नु भनेको त्यो व्यक्ति क्यान्सरबाट संक्रमित हुनु जस्तै हो ।
नेपाली समाजमा टुप्पाबाट पलाएका व्यक्ति भनेर परिश्रमबिनै अकस्मात् विपन्नताबाट सम्पन्न अवस्थामा पुगेका व्यक्तिलाई भन्ने गरिन्छ । चाकडीका सन्दर्भमा यस्तै व्यक्तिहरु चाकडी गर्नका लागि तत्पर रहेका देखिन्छन् भने चाकरी खोज्ने सन्दर्भमा पनि अकस्मात् सम्पन्न बनेका वा आफ्नो अयोग्यता लुकाएर योग्य ठहरिएका मानिसहरु अग्रपंतिमा देखिन्छन् । धेरैजसो चाकडीवाजहरु बाल्यकालमा बुलिङ वा सामाजिक बहिष्करणको शिकार भएका हुन्छन् ।
पद्धति र मूल्यलाई सधै खण्डित गराउने काम चाकडीवाज वा भ्रष्ट व्यक्तिबाट हुने भएकाले यस्ता व्यक्तिहरू समाज विकास र सामाजिक सदाचारका विरोधी हुन्छन् । समाजलाई अघि बढ्न नदिने भएकाले यस्ता व्यक्तिलाई समाजका एँेजेरुका रुपमा समेत लिने गरिन्छ । स्वाभिमानी र योग्य व्यक्ति जन्मजात रुपमा चाकडीवाजको शत्रु हुने भएकाले समाजबाट सिर्जनशीलता मानवीय मूल्य र पद्धति समाप्त गर्ने दिशामा चाकडीवाजहरु सक्रिय रहेका हुन्छन् । आफूले गरेका कामको वस्तुगत आलोचना सहन गर्न नसक्ने भएकाले समाजमा उनीहरु असहिष्णु अशिष्ट र असामाजिक प्राणीका रूपमा रहेका हुन्छन् । हरेक काममा विधि र नियमलाई भन्जन गर्दै अघि बढ्ने भएकाले यिनीहरु बाहिरी रुपमा बलवान् जस्ता देखिए पनि मानसिक रुपमा निकै कमजोर हुन्छन् । वास्तविकता बाहिरिने हो कि भन्ने त्रासमा रहिरहेका यस्ता व्यक्तिहरु कुनै पनि समय गम्भीर किसिमको उदासीनता र आत्महत्याको शिकार हुन सक्दछन् ।
दासमनोविज्ञान बाल्यकालबाटै सुरु हुने भएकाले बालबालिकालाई अरुलाई सेवा र सहयोग गर्नु र चाकरी गर्नु फरक कुरा हुन् भन्ने बुझाउनु पर्दछ । अरुले भनेका कुरा जे जस्ता भए पनि मान्नै पर्ने र तथाकथित आज्ञाकारिताका नाममा अन्यायलाई सहन सिकाउने अभिभावकले नजानिदो रुपमा आफ्नो बच्चालाई दास बन्न प्रेरित गरिरहेका हुन्छन् । यसैले बालबालिकालाई कुनै पनि विषयमा तर्क गर्न र उनीहरूको विचार अभिव्यक्त गर्न प्रेरित गर्नुपर्दछ । कुनै पनि कामका कार्य कारण सम्बन्ध बुझ्न सहयोग गर्ने र विधि र पद्धतिलाई सम्मान गर्ने संस्कारको विकास गर्न सकेमा बालबालिका स्वाभिमानी बन्ने मात्र होइन चाकडी वा दासमनोवृत्तिबाट समेत मुक्त हुन सक्दछन् । बालबालिकालाई यस किसिमको शिक्षा दिन सकेमा उनीहरुमा आत्मानुशासनको विकास हुन्छ र सहयोगी तथा सहिष्णु भावनाका कारण मानसिक रुपमा समेत स्वस्थ रहन सक्दछन् ।
चाकडी मनोवृत्ति समाज विकासको बाधक तत्व हो । यसले समाजमा अस्थिरता र अराजकता सिर्जना गर्ने मात्र होइन समाजका योग्य र दक्ष व्यक्तिलाई समाजबाटै पलायन गराउने समेत भएकाले चाकडी आफैंमा सामाजिक अपराध हो । योग्य व्यक्तिलाई हतोत्साही हुनबाट जोगाउन र समाज विकासका लागि पनि दास मनोवृत्तिबाट सबै जना मुक्त हुनुपर्दछ । भ्रष्टाचारको जड र समाजको रोग चाकडी प्रवृत्ति भएकाले हरेक सचेत व्यक्ति आगामी पुस्तालाई स्वाभिमानी बनाउन तथा वर्तमान समयमा देखापरेका चाकडीवाज रुपी भाइसरहरुलाई निरुत्साहित गर्ने दिशामा सक्रिय हुनुपर्दछ ।
-प्रेमनारायण भुसाल
(लेखक मनोपरामर्शविद् हुनुहुन्छ)