डा. अच्युतशरण अर्याल २४ भदौ २०७७, बुधवार

 

पत्थरको कथा एकाङ्कीका रचनाकार विजय मल्ल (वि.सं. १९८२– २०५६) हुन् । मल्लले नाटक एकाङ्की, उपन्यास, कविता, कथा आदिको रचना गरेका छन् । दुई पसले शीर्षकको कथा लेखेर मल्लले विद्यालय तहदेखि नै साहित्यिकमा पाइला टेकेको हुन् । मल्लको पहिलो प्रकाशित रचना स्मृति (१९९७, शारदा) कविता हो । उनले लेखेको पहिलो एकाङ्की राधा मान्दिन (२००१) हो भने पहिलो लिखित नाटक बहुला काजीको सपना (२००४) र पहिला छापिएको नाट्यरचना कोही किन बरबाद होस् (२०१६) हुन् । विजय मल्लका कृतिहरूमध्ये नाटकहरूमा कोही किन बरबाद होस्
(२०१६), जिउँदो लास (२०१७), बहुला काजीको सपना (२०२८), भोलि के हुन्छ ? (२०२८), स्मृतिको पर्खालभित्र (२०४०), पहाड चिच्याइरहेछ (२०४०), मानिस र मुकुन्डो (२०४०), भूलैभूलको यथार्थ (२०४८) र माधुरी (२०४८) पूर्णाङ्की नाटक तथा पत्थरको कथा (२०२८), बहुला काजीको सपना (२०२८), भित्तेघडी (२०४०), दोभान (२०४८), सृष्टि रोकिँदैन (२०४८) एकाङ्की सङ्ग्रह रहेका छन् । सात एकाङ्की (२०३९) नामक एकाङ्की सङ्ग्रहको सम्पादन पनि उनले गरेका छन् । उनका उपन्यासहरू अनुराधा (२०१८), कुमारी शोभा (२०३८) र श्रीमती शारदा (२०५६) प्रकाशित छन् भने कथासङ्ग्रहमा एक बाटो अनेक मोड (२०१६) र परेवा र कैदी (२०३४) प्रकाशित भएका छन् । यस्तै उनको एउटा कविता सङ्ग्रह विजय मल्लका कविता (२०२६) र समालोचनात्मक कृति नाटक – एक चर्चा (२०३६) प्रकाशन भएका छन् । उनका तीनओटा एकाङ्की सङ्ग्रहहरू पत्थरको कथा, बहुला काजीको सपना र सृष्टि रोकिँदैन भित्र क्रमशः भोलि के हुन्छ ?, बहुला काजीको सपना, माधुरी नाटकहरू समावेश छन् ।

पत्थरको कथा (२०२८) विजय मल्लको असाध्यै चर्चा कमाएकोे एकाङ्की सङ्ग्रह हो । यो एकाङ्की परम्परागत शिल्प र शैली भन्दा फरक शिल्प र शैलीमा रचना गरिएको छ । पत्थरको कथा शीर्षक प्रतीकात्मक अर्थमा प्रयोग भएको छ । यसमा पत्थरको अर्थ ढुङ्गा वा शिला भन्ने होइन साथै यो ढुङ्गाको कथा पनि होइन । यसमा आफ्नो हकहितका लागि बोल्न नसक्ने असचेत शोषित समुदायलाई पत्थर शब्दले इङ्गित गरेको छ । यसमा पत्थरजस्तै रूपमा रहेका स्मृतिहीन, रूपहीन, स्पन्दनहीन शून्यतामा लीन (मल्ल, २०५६ ः ९) मनुष्यका आकार छन् । यो मृत रूपमा रहेका स्वर्ग वा यस्तै कुनै लोक जहाँ मरेपछि पुगिन्छ भन्ने विश्वास गरिन्छ त्यही लोकमा जम्मा भएका पत्थरजस्तै मुर्दा भैसकेका मानवको कथा हो । यसैगरी एकातिर आफ्नै पत्नीहरू र सन्तानहरूलाई मार्दा पनि पत्थरजस्तो कडा हृदय भएको सामन्तीको अत्याचारको कथा प्रस्तुत भएको छ भने अर्कातिर आपूmमाथि जतिसुकै अत्याचार भए पनि बोल्न वा प्रतिकार गर्न नसक्ने चेतनारहित मानिसहरूको कथा प्रस्तुत गरिएको छ ।
पत्थरको कथा एकाङ्कीको कथावस्तुको स्रोत उत्पाद्य रहेको छ । यसमा समाज वा जनमानसमा प्रख्यात रहेको कथा नभएर लेखकको मस्तिष्कबाट निसृत काल्पनिक कथा प्रस्तुत भएको छ ।
एकाङ्कीको सुरुआत अनकन्टार एकलासे ठाउँ केही धमिला मूर्तिहरू मनुष्यका आकारको दृश्यसँगै कौतूहलपूर्ण रूपमा भएको छ । विस्तारै धमिला मूर्तिहरू एक आपसमा चलमलाउन र बोल्न समेत थाल्दछन् । मृत र मूच्र्छित रूपमा रहेका प्रस्तुत एकाङ्कीका सहभागीहरू एकआपसमा कुराकानीपश्चात् ब्युँझिएर प्राणीभैmँ पूर्व जीवनका समीक्षा गर्न थाल्दछन् । विज्ञानले समेत प्रमाणित गर्न नसकेको मृत्युपछिको अयथार्थ लोकमा घटित प्रस्तुत एकाङ्कीको कार्यकारण शृङ्खला कसिलो रूपमा अगाडि बढेको छ ।
अनकन्टार एकलासे ठाउँमा चलमलाएका मूर्तिहरूले आपूmलाई सम्झन थाल्दछन् । पहिलो व्यक्ति श्रीकान्त मास्टर, दोस्रो व्यक्ति शत्रुघ्न, तेस्रो व्यक्ति रघुवीरसिंह र नारी ज्वाला भएको सबैजनाले आआफ्नै सम्झनाबाट थाहा पाउँछन् । सबै जनाले आ–आफ्नो जानकारी पाउँछन् भने आपूmहरू सबैजना मत्र्यलोकमा रहेको र सबैलाई मार्ने व्यक्ति रघुवीर हो भन्ने कुरा उनीहरूलाई जानकारी हुन्छ । श्रीकान्तले हात्ती बाँधेको एउटा ठुलो घर सम्झेको बताउँछ भने ज्वालाले त्यस घरमा ठुला झ्याल र गुम्बजहरू रहेको र लहराले झाँगिएको सम्झेको बताउँछे । तेस्रो व्यक्तिले आपूmलाई रघुवरसिंह भनेर चिनाउँदा सबैजना तर्सन्छन् । श्रीकान्तले आजै आपूm बिउँझनुअघि त्यस घरमा केही ठुलो घटना घटेकोजस्तो सम्झेको जनाएको छ । अनि रघुवरसिंहले आपूmले सबैलाई मारेको घटना बताउन थाल्छ ।
रघुवीरसिंह आपूmले त्यस घरको नोकर शत्रुघ्नलाई मारेर फर्कंदा मालिकले आपूmलाई पनि गोली हानेर मारेको बताउँछ । ज्वालाले आपूmलाई पनि रघुवरसिंहले मुखमा रुमाल कोचेर बन्चरो प्रहार गरी मारेको र आफ्ना बच्चाहरूलाई समेत भेट्न नदिएको बताउँछे । रघुवरसिंहले विपिन बाबुसाहेबको आदेशअनुसार गाउँलेलाई शिक्षा दिएर चेतनशील बनाएको आरोपमा आपूmले श्रीकान्तलाई छुरीले रोपेर मारी जमिनमुनि गाडिदिएको बताउँछ । उसले अझ अरू पनि कुकृत्य गरेको उल्लेख गर्दै मालिकको कुरा नमानेबापत कैयौँ गाउँलेहरूको पनि हत्या गरेको भनी आपूmलाई अपराधी बताउँछ । उसले ज्वालालाई पनि मारेको स्वीकार गर्दै ज्वालाका छोराछोरी रवि र समालाई पनि आपैmले मारेको समेत कुरा गर्छ । यसै समयमा त्यहाँ एउटी स्वास्नीमानिसको पनि आगमन हुन्छ । त्यो स्वास्नीमानिस ज्वालापछि विपिनले पत्नी बनाएर ल्याएकी कृष्णा हुन्छे र उसलाई पनि विपिनले अर्की पत्नी ल्याउनका लागि ‘हात्तीले कुल्चाएर मार्छु’ भन्ने गरेको तर मोटर दुर्घटनामा पारेर मारेको जानकारी हुन्छ । कृष्णाले पनि आफ्नो छोरालाई समेत सर्पले टोकेर मरेको भन्ने बहानामा विपिनले मारिदिएको जनाउँछे । यस्तै कुराकानीकै क्रममा श्रीकान्त र रघुवीरसिंंहले मालिक विपिनबाबुको पनि आगमन त्यहीँ हुँदै छ भन्ने कुरा गर्छन् ।
विपिन पनि त्यहाँ आउने भएपछि आपूmले बदला लिन पाउने भएकाले आफ्नो इच्छा पूरा हुने कुरा रघुवीरसिंहले गरेको छ भने ज्वालाले आपूm विपिनजस्तो निर्दयीको सामुन्ने पनि बस्न नसक्ने जनाउँछे । त्यतिखेरै प्रवेश गरेको विपिनलाई रघुवरले सबैसित चिनाउँछ । कृष्णाले विपिनसँग आक्रोशपूर्ण कुरा गर्छे । विपिनले रघुवरलाई आदेश दिँदा रघुवरले यहाँ कसैको आदेश नचल्ने भन्दै विपिन पनि मुर्दा भएको जनाउँछ । विपिनका अनुसार ऊ गल्तीले विष पिएर मरेको बुझिन्छ । रघुवरले धेरैलाई मार्न लगाएर अन्त्यमा आपूmलाई नै पनि मारेको भन्द्र विपिनसित बदला लिनका लागि विपिनलाई थुक्छ । यिनीहरू एकआपसमा लड्न र बदला लिन खोज्दा क्रमशः विपिन, ज्वाला, रघुवरसिंह, श्रीकान्त, कृष्णा स्मृतिहीन, संज्ञाहीन, अस्तित्वहीन शिलाखण्ड वा पत्थरमा परिणत हुन्छन् । एकाङ्कीको अन्त्य हुन्छ । मृत्युले ठुलो, सानो, धनी, गरिब कोही भन्दैन । यहाँको जमिनदार विपिनदेव झुक्किएर विषपान गरी मरेको छ । मार्ने र मारिने दुबै एकै ठाउँमा भेला हुँदा मान्छेका मनमा उत्पन्न हुने प्रतिक्रिया नै यस एकाङ्कीका मुख्य कार्यव्यापारका रूपमा आएका छन् । जति नै सम्पन्न भए पनि व्यक्तिले मृत्युलाई टार्न नसक्ने यथार्थलाई अत्याचारी विपिनदेवको मृत्युका माध्यबाट प्रस्तुत गरिएको छ ।
पत्थरको कथा एकाङ्कीमा स्वैरकाल्पनिक रूपमा सामाजिक र राजनैतिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ । यहाँ शोषक र शोषितको कथालाई श्रीकान्त, विपिनदेव, रघुवीरसिंह, शत्रुघ्न, ज्वालारानी, कृष्णारानी आदिको वैचारिक संवादबाट प्रस्तुत गरिएको छ । यो एकाङ्की २००७ सालको जनक्रान्तिपश्चात् नेपाली समाजले लिएको रूप र नेपाली जनातामा उब्जेको राजनैतिक असन्तोषको चित्रण हुन गएको छ । यसमा आउने पात्रका आत्मस्वीकृतिमूलक संवादबाट नै पात्रहरूको चिनारी गराइएको छ । यस एकाङ्कीमा उपस्थित प्रत्यक्ष पात्रहरू छ जना छन् । तीमध्ये प्रमुख पात्र श्रीकान्त र विपिनदेव हुन् । सहायक पात्र रघुवीरसिंह र गौणपात्र शत्रुघ्न, ज्वालारानी र कृष्णारानी रहेका छन् । यसैगरी अन्य सूच्य पात्रका रूपमा रवि, समा, कृष्णाको सानो छोरा, विपिनदेवकी अर्की पत्नी चञ्चला र गाउँलेहरू रहेका छन् ।
श्रीकान्त पत्थरको कथा एकाङ्कीको नायक हो । ऊ चेतनशील व्यक्ति हो । ऊ समाजबाट अन्याय, अत्याचार निर्मूल पार्नुपर्छ भन्छ । बुद्धिजीवी वर्गको प्रतिनिधि पात्र ऊ शोषक र शोषित, नैतिकता र अनैतिकता, आदि छुट्याउने प्रतिभाशाली व्यक्ति भएकाले विपिनदेवको शत्रु बनेको छ । सिद्धान्त र उपदेश दिन जाने पनि ऊ अत्याचारको विरुद्ध केही गर्न सक्दैन, बरु अत्याचार सहनुहुन्न भन्ने ज्ञान अरूलाई दिँदा आपैm अत्याचारको सिकार बन्छ । उसले मृतकलोकमा समेत अत्याचारीप्रति प्रतिशोध राखेको छैन तर उसले प्रतिशोध लिनुको अर्थ नहुने बुझेर पनि निष्क्रिय रहेको हो भन्ने बुझिन्छ । प्रतिशोध मृत्युपछि पत्थर बन्न पुगेको उसको व्यक्तित्व समझदार र व्यावहारिकतापूर्ण रहको छ । उसले विपिन देवको मृत्युलाई ‘कोही गल्तीले मर्दछन्, कसैलाई मार्न लगाइन्छ’ भन्छ । श्रीकान्त स्वाभिमानी, चेतनशील, व्यावहारिक र प्रभावशाली भएर पनि निष्क्रिय व्यक्तिको रूपमा एकाङ्कीमा आएको छ ।
विपिनदेव एकाङ्कीको प्रतिनायक हो । ऊ सामन्तवर्गको प्रतिनिधि
हो । अन्यायी, अत्याचारी, यौनपिपासु र हत्यारा ऊ समाजमा हैकम जमाउने कार्यमा सशक्त रहेको छ । नयाँनयाँ पत्नी ल्याउन र कामवासनामा लिप्त हुन आफ्ना पत्नी, छोराछोरी र गाउँलेलाई समेत उसले मार्न लगाएको छ । ऊ विषम र रुग्ण समाजलाई प्रतिनिधित्व गर्ने जमिनदार हो जो आपूmले अरूलाई मार्न राखेको विष औषधी भन्ने भ्रममा पिउँछ र मृतक पुग्ने ठाउँमा पुग्छ तर आपूmलाई बाँचेको नै सम्झन्छ अमानवीय व्यवहार, अन्यायको पराकाष्ठा मच्चाउने ऊ झुक्किएर विषपान गरी मर्छ र जीवित अवस्थामा मात्र नभएर मत्र्यलोकमा समेत हैकम जमाउन चाहन्छ । त्रासपूर्ण व्यक्तित्व विपिनदेव यस एकाङ्कीको असत् चरित्रको पात्र हो ।
एकाङ्कीको सहायक पात्र रघुवरसिंहले एकाङ्कीको प्रारम्भमा विपिनदेवलाई सहयोग गरेको छ । उसले सामन्तको सेवक, अनुचर, चाकडीबाज तथा स्वार्थी वर्गको प्रतिनिधित्व गरेको छ । उसले विपिनदेवले भनेबमोजिम श्रीकान्त, शत्रुघ्न, ज्वालालगायत कैयौँ गाउँलेको हत्या गरेको
छ । विपिनको सहयोगी, अमानवीय व्यवहारको ताण्डव मच्चाउने ऊ पनि विपिनदेवको षड्यन्त्रमा परी मृत्यु भोग्छ । मृत्युपश्चात् ऊ एक इमानदार, सच्चा नागरिक र राम्रो व्यक्ति बन्न पुग्छ । जीवित छउन्जेल मालिकको चाकडी गरेको अथवा डरका कारणले उसकै इसारामा चलेको रघुवरसिंहले अन्त्यमा आफ्नै मालिक विपिनदेवलाई थुकेर अन्याय र अत्याचारको बदला लिने प्रयास गरेको छ । ऊ मञ्चीय र बद्ध पात्र हो ।
शत्रुघ्न, ज्वाला र कृष्णा यस एकाङ्कीका गौण पात्र हुन् । ज्वालाको नोकरको रूपमा रहेको शत्रुघ्नले निम्न आर्थिक वर्गको प्रतिनिधित्व गरेको
छ । उसको संवाद पनि नगण्य रूपमा रहेको छ । ऊ निर्दोष व्यक्ति हो । उसले अरूलाई पीडा दिने, बढी कुरा गर्नेजस्ता कार्य गर्दैन, अरूले अह्राएको काममात्र गर्ने ऊ सरल, सज्जन स्वभावको पात्र हो । ज्वाला विपिनदेवकी पहिली पत्नी होे । दुई सन्तानकी आमा उसलाई विपिनदेवले अर्की श्रीमती ल्याउनका लागि मारेको हो । उसले परम्परागत समाजका नारीको प्रतिनिधित्व गरेकी छ । मृतकलोकमा पनि विपिनदेवसँग सोभैm बाझ्न सकेकी छैन । आपूmलाई र आफ्ना दुई सन्तानको हत्या गर्ने व्यक्ति आफ्नै लोग्ने हो भन्ने थाहा पाएर पनि उसले कुनै प्रतिकार गर्न सकेकी छैन । ऊ बदला लिन पनि निष्क्रिय रहेकी छ । कृष्णा विपिनदेवकी दोस्री पत्नी हो । विपिनले भोगका लागि मात्र कृष्णालाई बिहे गरेको र अर्की पत्नी ल्याउनका लागि उसलाई पनि मारेको छ । कृष्णा नेपाली समाजको समसामयिक पुस्ताको प्रतिनिधित्व गर्ने नारी पात्र हो । उसले विपिनदेवसँग निडर भएर कुरा पनि गर्छे । ऊ मत्र्यलोकमा आउँदा सम्पन्न परिवारकी महिलाजस्तो व्यवहारमा प्रस्तुत भएकी छ भने आपूm पनि मारिएको थाहा पाउँदा ज्यादै दुखित बनेकी छ । सूच्य पात्रहरूमा ज्वालाका छोराछोरी रवि र समा, विपिनकी अर्की पत्नी चञ्चला तथा गाउँलेहरू आएका छन् । सबैमाथि रघुवीरलाई लगाएर विपिनदेवले अन्याय र अत्याचार गरेको छ । यी सबै पीडित पात्र हुन् ।
पत्थरको कथा एकाङ्कीमा सरल संवाद रहेको छ । यस एकाङ्कीमा बोलिचालीकै जस्तो सरल भाषामा संवाद भएकोले सामान्य पाठकले पनि सहज किसिमले बुझ्न सक्ने खालको छ । एकाङ्कीको शुरु हुन्छ तर पात्रहरू आफैंले आफैंलाई चिन्न सक्दैनन् । आफू कहाँ छु थाहा पाउन सक्दैनन् । केही समयपछि उनीहरू एकले अर्कोलार्य चिन्न थाल्छन् । सबै जना एउटै व्यक्तिको कारणबाट मृत्युको मुखमा पुगेको कुरा थाहा हुन्छ ।
श्रीकान्त बौद्धिक वर्गको व्यक्ति भएकाले उसको संवाद अलि बौद्धिक छ । उसका संवादमा केही प्रतीकात्मकता पाउन सकिन्छ । बुढो हात्ती तत्कालीन नेपाली समाजमा रहेको सामन्त प्रथाको प्रतीक हो । एकाङ्कीको संवादयोजना स्वाभाविक रूपमा कौतूहल जगाउँदै अगाडि बढेको छ । सुरुमा नै अनकन्टार एकलासे ठाउँमा केही धमिला मूर्तिहरूजस्ता मनुष्यका आकारका व्यक्तिहरू देखिन्छन् । त्यहाँ भएको पहिलो व्यक्तिको संवादबाटै कौतूहल उब्जन्छ भने अन्तिममा कृष्णाको ‘अब म पनि पत्थर हुन्छु सबै पत्थर भइसके’ भन्ने संवादपछि ऊ पत्थर भएबाट कौतूहल पनि शमन भएको छ । यसरी मृतकलोकमा मृतकहरूलाई भेला गराएर जीवित अवस्थामा पनि चेतना कम भएका जस्ता पात्रलाई बढी चेतनशील तुल्याई संवाद गराएर फेरि जडमा परिवर्तन गराइएकाले यस एकाङ्कीको संवाद प्रयोगमूलक देखिन्छ ।
पत्थरको कथा एकाङ्कीमा राणाकालीन समयमा सामन्त वर्गले गरिब वर्गमाथि गर्ने व्यवहार प्रस्तुत गरिएको छ । स्थानका रूपमा मानव कल्पित मृतकलोक (स्वर्ग, गोलोक, वैकुण्ठ वा यस्तै अन्य) रहेको छ । विपिनको घर र त्यहाँ वरपरको स्थान आएको छ । एकाङ्कीको समय भने पात्रले केही बेर वार्तालाप गरुन्जेलको समय भएकाले एकाध घण्टा मात्रै छ । पात्रको स्मृति वा वण्र्य रूपमा आएको समय भने लामो छ । शोषकको चपेटामा परेका शोषित वर्ग निरपराध मृत्युवरण गर्न पुगेको देखाउँदै मत्र्यलोक वा यथार्थभन्दा परको अयथार्थ वातावरणलाई एकाङ्कीमा लिइएको छ । एकै समय र एकै स्थानमा घटेका घटनाहरूलाई श्रीकान्त, रघुवीर, ज्लाला, कृष्णा, शत्रुघ्न, विपिनदेवका माध्यमबाट देखाइएकाले कार्यकारण शृङ्खला सशक्त देखिन्छ । मृत्युपछिको जीवनमा मृत्युअघिका घटनाक्रमलाई पूर्वस्मृति शैलीमा सम्झँदा सामन्त वर्गको समाजको चर्चा यहाँ पाइन्छ । जीवनको यथार्थ र मृत्युवरणको यथार्थ व्यक्त गर्दै प्रस्तुत एकाङ्की अतियथार्थवादी प्रवृत्तिलाई अँगाल्न पुगेको छ । प्रस्तुत एकाङ्कीलाई स्थानगत आधारमा हेर्दा प्रयोगशील परिवेशको प्रयोग भएको देखिन्छ ।
यो एकाङ्कीमा सरल भाषाशैलीको प्रयोग भएको छ । गद्यात्मक रूपमा बोलीचालीकै जस्तो भाषाको प्रयोग गरिएको छ । गद्य, सरल र मितव्ययी भाषाको प्रयोग गरिएको एकाङ्कीमा विभिन्न स्रोतका शब्दको प्रयोग भएको छ ।
प्रस्तुत एकाङ्की पूर्वस्मृति तथा स्वैरकल्पनात्मक शैलीमा आएको छ । यहाँ मृतकलोकको स्वैरकल्पनाको रङ्गमञ्चीय वातावरणभित्र जीवन वा पूर्वस्मृतिको कथा उतारिएको छ । अनकन्टार एकलासे ठाउँमा पात्रहरू चलमलाउन थाल्नु, आआफ्नो पीडाव्यथालाई भन्न थाल्नु र सामन्ती विपिनदेवसँग बदला नलिँदै सबै पत्थर हुनुजस्ता स्वैरकल्पनाका कुरालाई कार्यकारण शृङ्खलामा प्रस्तुत गरिएको छ ।
स्वैरकल्पना भनेको यथार्थ र अयथार्थको मिश्रित रूप हो । विजय मल्लले पत्थरको कथा एकाङ्कीमा पनि यही मान्यता प्रस्तुत गरेका छन् । स्वैरकल्पना भनेको मृतकले जीवित भएर क्रिया गर्नु हो । यस एकाङ्कीका सबै पात्र र जीवन भोगाइका यावत् क्रियाकलाप सत्य र यथार्थ भएर पनि अनौठो रङ्गमञ्चीय शिल्पमा आबद्ध छ । एकाङ्कीको सुरुमा सम्पूर्ण पात्र जड वा पत्थरसमान छन् भने ती क्रमशः सजीव र सक्रिय बन्दै अन्त्यमा पुन निर्जीव वा पत्थर बन्न पुग्छन् । आरम्भमै अनकन्टारको एकलासे ठाउँ केही धमिला मूर्तिहरूजस्ता मनुष्यका आकारका व्यक्तिहरू देखिन्छन् । यी पत्थरका मूर्तिहरू मानिस बन्नु र अन्त्यमा पुनः पत्थर बन्नुमा नै स्वैरकल्पनाको प्रयोग छ । यसरी काल्पनिक स्थलमा काल्पनिक दृश्य प्रस्तुत गरिएको यस एकाङ्कीका घटना र पात्र सबै स्वैरकाल्पनिक रहेका छन् ।
प्रतीकात्मकता विजय मल्लको नाट्य विशेषता हो । पत्थरको कथा सामाजिक न्याय र मानवतालाई अगाडि बढाउने प्रतीकात्मक एकाङ्की हो । यसमा केवल पत्थर वा ढुङ्गाको वर्णन गरिएको छैन । मानवलाई पत्थरसमान बनाएर व्याख्या गरिएको छ । पत्थर भनेको चेतनाविहीन अवस्था हो भने जीवनको विपरीत पर्याय पनि हो । जब मानिस आफ्नो चेतना शक्तिलाई उपयोग गरेर जिउनुको वास्तविकतालाई सार्थक तुल्याउन सक्दैन त्यस अवस्थामा उसको जीवन जड वा पत्थरसमान हुन्छ । अर्को अर्थमा शोषित वा पीडित जीवन पनि पत्थरसमान हुन्छ, निष्क्रिय हुन्छ । यस्तै कठोर मन भएको व्यक्तिलाई पनि पत्थरको हृदय भएको भनेर बुझिन्छ । यहाँको शासक विपिनदेव पत्थरको हृदय भएको कठोर अत्याचारी रहेको
छ । यही अवस्था एकाङ्कीमा देखिन्छ । एक जना जमिनदारको घनघोर अमानवीय अत्याचारको चित्रण, उसको दुर्घटित मृत्यु र उसमाथिको विरोधको कथा प्रस्तुतिका माध्यमबाट तत्कालीन नेपालको सामाजिक राजनैतिक स्थितिको यथार्थ प्रतीकात्मक रूपमा प्रस्तुत भएको छ । यस एकाङ्कीका पात्रहरू सबै विनाप्रतिरोध मारिएका छन् । यहाँ प्रयोग भएका शब्द ‘पत्थर’ जड वा चेतनहीनताको प्रतीक हो भने ‘बुढो हात्ती’ सामन्तवादको प्रतीक हो । पात्रमध्ये विपिन शोषकको प्रतीक; परिवारका व्यक्ति, गाउँले, मास्टर शोषित वर्गका प्रतीक हुन् । यस एकाङ्कीको शीर्षक, पात्र र परिवेशको प्रयोग प्रतीकात्मक रहेको देखिन्छ ।
पत्थरको कथा एकाङ्कीको मूल कथानक वैज्ञानिक छैन तर परम्परागत नेपाली समाजको धार्मिक आस्थासँग जोडिएको छ । यहाँ गरेका राम्रा कर्मको फल परलोकमा प्राप्त भएको छैन । निर्दोष मारिएका छन् र दोषीलाई संयोगले सजायको भागिदार बनाएको छ । मरेपछि निर्दोष र दोषी दुवै एकै स्थानमा भेट भएका छन् । भेट भएपछि पीडकसित पीडितले बदला लिन खोजेका छन् तर असफल भएका छन् । मरेपछि मानिसमा कुनै अस्तित्व रहँदैन, ऊ केवल स्मृतिहीन, रूपहीन र स्पन्दनहीन बन्दछ भन्ने सन्देश पत्थरको कथाबाट पाइन्छ । त्यसैले अत्याचारीले मृत्युपछि सजायँ भोग्छ भनेर अत्याचारलाई चुपचाप सहनु, उनीहरूप्रति प्रतिशोधको भाव नहुनु राम्रो त्यसैले मृत्युपछि सबै शून्यमा बिलीन हुने हुँदा बदला जीवनकालमा नै लिनुपर्छ भन्ने सन्देश एकाङ्कीले सम्प्रेषित गरेको छ । कालले सबैलाई बराबर देख्छ, कसैलाई भेदभाव गर्दैन भन्ने एकाङ्कीको सन्देश रहेको छ ।
यस एकाङ्कीले यथार्थ र अयथार्थको धरातलमा अनेकौँ रूप र विविध प्रकारले जीवन विसङ्गति, निस्सारता र निरर्थकताको बोध, मृत्यु गराइएका मानिसहरूको जमातको विचित्रता आदिको अभिव्यक्ति दिएको छ । यसमा समाजमा घटेका घटनाक्रमलाई यथार्थभन्दा भिन्न किसिमले अतियथार्थवादी प्रवृत्तिबाट प्रस्तुत गरिएको छ । मानवीय मूल्य र जीवनको उच्चता प्रतिपादन गर्दै त्यसप्रतिको आस्था र श्रद्धा व्यक्त गर्नु प्रस्तुत एकाङ्कीको उद्देश्य रहेको छ । अमानवीय क्रियाकलाप, शोषक, सामन्त र उच्च वर्गद्वारा शासित दुर्बल वर्गमाथि गर्ने व्यवहारको विश्लेषण गर्दै परिवार र समाजमा अपराध गर्ने व्यक्तिको अत्याचारको प्रतीकात्मक रूपमा विरोध गर्नु यस एकाङ्कीको मूल उद्देश्य रहेको छ ।

Top