लक्ष्मीप्रसाद देवकोटाको परिचय
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनले बी.ए., बी.एल, र अङ्ग्रेजीमा एम.ए.सम्मको अध्ययन गरेका थिए । उनी नेपाली भाषा प्रकाशिनी समितिमा जागिरे (२०००), त्रिचन्द्र कलेजमा प्राध्यापन (२००३), नेपाली साहित्य परिषद्का सभाप्ति (२००४), युगवाणीका सम्पादन (२००४), पद्मकन्या कलेजमा प्राध्यापन (२०११), कमर्स कलेजमा प्राध्यापन (२०१२), काव्य प्रतिष्ठानको संस्थापक अध्यक्ष (२०१२), इन्द्रेणी को सम्पादन (२०१२), शिक्षा र स्वायत्त शासन मन्त्री (२०१४), रोयल नेपाल एकेडेमीका सदस्य
(२०१४) जस्ता सेवा र पेसामा संलग्न भएका थिए । उनले महाकवि, हुलाक टिकट प्रकाशन (२०१२), त्रिभुवन पुरस्कार (२०२३) जस्ता सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । उनको मृत्यु वि.सं. २०१६ भदौ २९ गते आर्यघाट, काठमाडौंमा भएको थियो ।
लक्ष्मीप्रसाद देवकोटाका प्रकाशित कृतिहरूमा ‘पुतली’ (२००९), ‘भिखारी’ (२०१०), ‘सुनको बिहान’ (२०१०), ‘जन्मोत्सव र मुटुको थोपा’ (२०१५), ‘छहरा’ (२०१६), ‘चिल्ला पातहरू’ (२०२१), ‘मनोरञ्जन’ (२०२४), ‘भावना गाङ्गेय’ (२०२४), ‘गाइने गीत’ (२०२४), ‘आकाश बोल्छ’ (२०२५), ‘नवरस’
(२०२५), ‘छाँगासँग कुरा’ (२०२६), ‘लक्ष्मी कविता सङग्रह’ (२०३३), ‘लक्ष्मी गीति सङ्ग्रह’ (२०४०) आदि कवितासङ्ग्रह, ‘मुनामदन’ (१९९२), ‘राजकुमार प्रभाकर’ (१९९७),‘कुञ्जिनी’ (२००२),‘पहाडी पुकार’ (२००५), ‘बसन्ती’ (२००९), ‘रावण जटायु युद्ध’ (२०१५), ‘म्हेन्दु’ (२०१५), ‘मायाबिनी सर्सी’ (२०२४), ‘सीताहरण’ (२०२४), ‘दुश्यन्त शकुन्तला भेट’ (२०२५), ‘लुनी’ (२०२५), ‘कटक’ (२०२६), ‘मैना’ (२०२९) आदि खण्डकाव्य, ‘शाकुन्तल’ (२००२), ‘सुलोचना’ (२००३), ‘महाराण प्रताप’ (२०२४), ‘वनकुसुम’ (२०२५), ‘प्रमिथस’
(२०२८), ‘शाकुन्तल’ (अङ्ग्रेजी २०४८), ‘पृथ्वीराज चौहान’ (२०४९) जस्ता महाकाव्य, ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ (२००२), ‘दाडिमको रूखनेर’(२०३९) निबन्धसङ्ग्रह, ‘सावित्री सत्यवान्’ (१९९७), ‘कृषिवाला’ (गीतिनाटक २०२१) नाटक, ‘लक्ष्मी कथा सङ्ग्रह’ (२०३२), ‘चम्पा’ (२०२४) उपन्यास, ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ (१९९८), ‘म्याकवेथ’ (२०२६) अनूदित कृतिका साथै ‘स्रष्टा देवकोटा दृष्टा परिवेश’ (२०४१) समीक्षात्मक कृतहरू हुन् । नेपाली साहित्यमा उनको योगदान सङ्ख्यात्मक तथा गुणात्मक दुवै दृष्टिले उच्च रहेको छ ।
लक्ष्मीप्रसाद देवकोटाका कवितागत प्रवृत्ति
लक्ष्मीप्रसाद देवकोटाले वि.सं. १९९१ मा ‘गोरखापत्र’ मा ‘पूर्णिमाको जलधि’ शीर्षकको कविता प्रकाशित गरी कविता यात्रा प्रारम्भ गरेका हुन् । उनी नेपाली साहित्यका बहुमुखी प्रतिभा भएका स्रष्टा हुन् । उनले कविता, निबन्ध, कथा, उपन्यास, नाटक, समालोचना जस्ता साहित्यका विविध विधामा कलम चलाएका छन् । हृदयका भावलाई बिना रोकटोक, बिना बन्धन स्वतः स्फूर्त र स्वच्छन्द रूपमा अभिव्यक्त गर्ने स्वच्छन्दतावादी कविता लेखन परम्परालाई आधुनिक नेपाली कवितामा भित्र्याउने देवकोटा स्वच्छन्दतावादी प्रगतिवादी कवि हुन् । उनी कृतिमताको विरोध गरी स्वच्छन्द अभिव्यक्तिमा जोड दिने कवि हुन् ।
कवि देवकोटा मनबाट जागृत भावावेगलाई शास्त्रीय नियमको बन्धन अनि परिष्कार र परिमार्जनको नाममा रोक्न चाहँदैनन् । उनी भावनामा हावाको वेगझैँ तीब्र गतिमा संसार विचरण गर्न चाहन्छन् । उनी भावमा प्रवाहित हुँदा भावलाई सीमित शब्दले थेग्न नसक्दा आफ्नोपनका नयाँ नयाँ शब्द निर्माण गर्दै अगाडि बढेको पाइन्छ । उनको भाषा कठिन शब्दावलीले भरिएको पनि हुँदैन भने बौद्धिकताले थिचिएको पनि हुँदैन तर भाषाको परिष्कार र परिमार्जनमा भने उनको त्यति चासो पुगेको देखिँदैन । उनले सहज र स्वाभाविक रूपमा आफ्ना भावनालाई कवितामार्फत् छताछुल्ल पोखेका छन् । उनका कवितामा बौद्धिकताभन्दा हार्दिकता सबल रूपमा देखा पर्दछ । देवकोटा प्रकृतिप्रेमी कवि हुन् । उनले कवितामा प्रकृतिको सुन्दर चित्रण गरेका छन् । उनले प्रकृतिलाई नै मानवीय ज्ञानको स्रोत, गुरु र पाठशाला मानेका छन् । उनले प्रकृतिलाई ज्ञानको पाठशाला हो भन्दै प्रकृतिबाट मानिसले अथाह ज्ञान आर्जन गरी मानवीय जीवन सुखी बनाउन सक्ने धारणा व्यक्त गरेका छन् । उनका कवितामा प्रकृतिको विविध रूपको चित्रण पाइन्छ । प्रकृतिको काखमा नै मानव जीवन सुखी हुन्छ भन्ने धारणा राख्ने कवि देवकोटाले आफ्ना कवितामा कृत्रिम सहरी सभ्यतालाई भन्दा सरल ग्रामीण सभ्यतालाई उच्च महŒव दिएका छन् । रुसोको प्रकृतितर्फ फर्क भन्ने विचारबाट प्रभावित देवकोटाले प्रकृतिबाट लिएको शिक्षाबाट मात्र मानव जीवन सार्थक हुने विचार कवितामा व्यक्त गरेका छन् । उनले कवितामा प्रकृतिलाई मानवीकरण गरेर मानव र प्रकृति बिचमा घनिष्ट सम्बन्ध देखाएका छन् ।
समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण, दमन, विकृति, विसङ्गति र गरिबीप्रति कवि देवकोटाले व्यङ्ग्य र विद्रोहका स्वर उरालेका छन् । उनका कवितामा यस्ता विसङ्गत कुराहरूको अन्त्य भई समाज प्रगतिको बाटोतर्फ अग्रसर हुनु पर्छ भन्ने सन्देश व्यक्त भएको पाइन्छ । समानता, स्वतन्त्रता, भ्रातृत्व, मानवतावाद, विश्वबन्धुत्व जस्ता कुराहरूलाई उनले कविताको विषयवस्तु बनाएका छन् । उनले कवितामा प्रकृति, ईश्वर र मानव बिच त्रिकोणात्मक सम्बन्ध देखाई जीवनोपयोगी सन्देश दिएका छन् । दीन दुःखी र असहायप्रति उनले कविताका माध्यमबाट सहानुभूति व्यक्त गरेका छन् । उनीहरूका पीडा र व्यथालाई चित्रण गरी यस्ता असमानताको अन्त्य हुनु पर्ने विचार कवितामा व्यक्त गरेका छन् ।
भाषालाई भाव अनुकूल नचाउँदै स्वतः स्फूर्त रूपमा शब्द छनोट गर्ने कवि देवकोटाले मात्रिक, वर्णमात्रिक, लोक लयका साथै गद्य लयको प्रयोग गरी कविता रचना गरेका छन् । उनले प्रकृति, समाज, पुराण, इतिहास, राजनीति आदि विविध क्षेत्रबाट बिम्ब र प्रतीक टिपी कवितामा सहज रूपमा प्रयोग गरेका छन् । उनका कवितामा विभिन्न किसिमका अलङ्कारको सहज र स्वाभाविक प्रयोग पाइन्छ ।
‘उद्बोधन’ कविताको विश्लेषण
परिचय
‘उद्बोधन’ स्वच्छन्दतावादी प्रगतिवादी कवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको कविता हो । यो कविता २०१३ सालमा पहिलो पटक ‘इन्द्रेणी’ पत्रिकामा प्रकाशित भएको हो । यो कविता ‘लक्ष्मी कविता सङ्ग्रह’ (२०३३ं) मा सङ्कलित रहेको छ । यस कवितामा देवकोटाले अस्तित्वहीन बन्दै गएको मानव समाजलाई अकर्मण्यता र दास मनोवृत्ति त्यागी ज्ञानको उदयका साथ कर्तव्यप्रति सचेत रहन आग्रह गरेका छन् ।
मूल भाव
‘उद्बोधन’ कवितामा नेपाली जनताको बिग्रँदो अवस्था र बढ्दो दास मनोवृत्तिलाई मुख्य विषयवस्तु बनाइएको छ । नेपाली जनताको अकर्मण्यता, दासी मनोवृत्ति र हराउँदै गएको स्वाभिमानीपनको चित्रण यसमा छ ः
हामी खिचडीनिम्ति बिकेका
हामी आजका नेपाली,
सामन्तका सब ढुकुटी ढुकेका
नूर झुकेका
साहित्य–कलाका कोर्काली

टेबिल ताक्छौं जिभ्रो चाटी, युग ढाँटी,
पापीहरूसँग नीति सिकेका, परिपाटी
चाकरीबिनु जीवन जिए झैं
हुन्न नि साथी !
हुन्न नि साथी !
कसै पछाडि नाच्न नजाने के जाति !
आफ्ना पुर्खाले रचना गरेका इतिहासलाई भुलेर वर्तमानमा केवल पेट पाल्नका लागि विदेशीको ढोकामा पाले बसेको, चाकरीमा भुलेको कुरालाई यसमा कविले देखाउन खोजेका छन् । हामी नेपालीहरू कमजोर र निरर्थक हुँदै गएका छौँ । हामी अनैतिक चरित्र बोकेका अगुवाको चाकरीमा लिप्त भएका छौँ । जसले गर्दा हाम्रो आत्माभिमान र निजत्व गुम्दै गएको छ । त्यसैले हामी नेपालीको जुनी मुर्दा सरह भएको छ ।
दर्शन हाम्रो पुच्छरमा छ घुम्रेको,
व्यक्तित्व हाम्रो पोशाकमा छ उम्रेको ।

कौडी हामी पूजा गर्छौं कडोरकडा
हाम्रा देउता बुर्जाबाला ठूला–बडा !

शास फेरी हामी जिउँछौं, हल्ली चामर,
धूप चढाउँछौं छाती ठोकी खोक्रा पामर !

काँचका आँखा, कुक्कुर–कान !
फ्याउरो–जिभ्रो, अजगर–प्रान !
सुँघ्छौं मालिक, महली हावा
गन्छौं आफू मूर्दा, जावा !
हामी विशिष्ट दर्शन जन्माउन सक्ने क्षमता भएका मान्छे तर

हामी खोक्रा टीनका मान्छे,
हाम्रो मकैको लुते जूँघा ।
कर्कलाका दुइटा हात,
बोल्छौं ‘मालिक’ , जस्तो शुधा ।

गोरा खाँद्थे, भोट खाँद्थे पुरुखा हाम्रा
आकांक्षा सब सिन्की खाँद्छौं,
खाल्डा हाली, हामी झुम्रा ।
हामी खोक्रा टिनझैँ रित्ता, कर्कलाका डाँठझैँ लुला र कमजोर अनि सुगाझैँ मालिकको इसारामा बोल्ने भएर कमारा सरह बाँचेका छौँ । कसैको सामु ज्यानको प्रवाह नगरी सम्पत्तिको लोभमा नपरी अङ्ग्रेजहरूसँग वीरताका साथ लडेर विश्वमा नै वीरताको पहिचान दिएका हाम्रा पुर्खाका सन्तति हामी नेपाली आज दासत्वलाई स्वीकार्दै पशुवत् जीवन जिउन विवश बनेका छौँ । हामीले युगको पीडालाई बुझ्नु पर्छ ।
बिगतको इतिहासलाई सम्झनु पर्छ र नेपाली हुनुको गर्व गरेर कठिन चुनौतिहरूलाई पनि पार गर्दै विश्वसामु अगाडि बढ्नु पर्छ । यस युगको नेतृत्व गर्नु पर्छ भन्ने कुरा कवि लक्ष्मीप्रसाद देवकोटाले व्यक्त गरेका छन् ।

हामी पिउरी, हामी धूपौरा, हामी छाउरा,
हात दोटा नित जोडेका,
हामी खडे छौं, कुक्कुर बबुरा,
पिकिङ् बनाउने, सिक्किम उडाउने,
काङ्डा लडाईं, हर्क बढाईं,
ठूलो ढोका कुर्नु दिनभर थरथर, थरथर,
केवल मलाई दाल, भात दौरा !
अज्ञानता हाम्रो गरिबीको कारण हो । शोषण, असमानता, विकृति, विसङ्गति, अन्याय र अत्याचारको जालो च्यातेर आफ्नो मस्तिष्कलाई सक्रिय बनाई मङ्गल ग्रहमा खेती गर्न हामी अग्रसर हुनु पर्छ । दृढ अठोटका साथ सम्पूर्ण बाधा अड्चनलाई तोड्दै देशलाई माथि उठाउन सक्नु पर्छ । दरिलो आँट, स्वाभिमान र समर्पणका साथ जागृत बनी सबैमा जागरणको उद्धोष गराउन सकेमा नै मानव जीवन सार्थक बन्दछ । सकारात्मक उद्देश्य लिएर सचेतता र सक्रियताका साथ अगाडि बढेमा नै स्वतन्त्र र संमृद्ध जीवन बिताउन सकिन्छ भन्ने कुरा कवि देवकोटाले यस कविताका माध्यमबाट व्यक्त गरेका छन् ।
चन्द्रमामा पुग्नु छ तिम्रो
तिम्रो मङ्गल खेती–
अरनिको ए भाग्यो, भाग्यो !
भेट्टाऊ कराई ‘‘ज्योति, ज्योति !’’
बलभद्र भो किन जलुको आज ?
बाघका जूँघा तानी सोध ।
पृथ्वीनारायण किन टोह्लाए ?
राष्ट्रका दुश्मन गोदन गोद !
भानु कहाँ छन् ? बादल पछाडि ?
फारन फार !
रुद्र कहाँ छन् ! आँखापछाडि !
फर्की उफार, फर्की उफार !
चेतनाको दीप बालेर अज्ञानता र असक्षमतालाई हटाई स्वाभिमानी र कर्मठ बन्न कवि देवकोटाले आह्वान गरेका छन् । यस कविताका माध्यमबाट उनले नेपालीमा सुषुप्त अवस्थामा रहेको चेतनाको उजागर गर्ने काम गरेका छन् । यसरी ‘उद्बोधन’ कवितामा कवि देवकोटाले नेपालीहरूलाई आफ्नो ऐतिहासिक पहिचानलाई सम्झेर कर्तव्य पथमा लाग्नु पर्छ भन्ने कुरा आह्वान गरेका छन् ।
मगज भनेको त्यो हो बाकस जसमा चमत्कार
हृदय भनेको त्यस्तो कान हो
सुन्दछ जसले युगचीत्कार !
शरीर भनेको त्यस्तो साधन,
खिइँदै जसले लक्ष्यको सत्कार !
नेपाली भनेको त्यो हो जसले–
हाँसी हाँसी उत्री उठ्दछ खतरापार,
जसले उठाउँछ विश्व जगाई
आजको युगको विश्वको भार !
युगको क्रन्दन, चित्कार र पीडालाई सुन्न सक्ने महामानव बन्नका लागि कविको आग्रह छ । मानवीय अस्तित्वलाई मुख्य लक्ष्य बनाएर रचना गरिएको यो कवितामा देवकोटाको कवित्व शक्ति र उनको भाव सञ्चेतनाको विशिष्ट र उच्च शिल्प प्रवाहित भएको छ ।
भाषाशैली
‘उद्बोधन’ कविता सोह्र अनुच्छेदमा संरचित रहेको छ । यस कवितामा गद्य लयको प्रयोग गरिएको छ । गद्य लयमा संरचित भएर पनि अनुप्रासको उचित संयोजनले गर्दा कविता सरस बनेको छ । कवितामा सरल र सहज भाषाशैलीको प्रयोग गरिएको छ । कवितामा उपमा, उत्प्रेक्षा, रूपक जस्ता अलङ्कारका साथै विभिन्न किसिमका बिम्ब र प्रतीकको पनि प्रयोग भएको पाइन्छ ।
नेपालीहरूलाई आफ्नो ऐतिहासिक महत्त्वको स्मरण गरी कर्तव्य पथमा लाग्न अनुरोध गरिएको छ उद्बोधन कवितामा । केही गर्नु वा मर्नृुको अवधारणालाई मुख्य लक्ष्य बनाएर भविष्यप्रति सचेत बन्न आग्रह पनि गरिएको छ । हामी आफ्नै अन्धताले थिचिएका छौं, गरीबिले थिचिएका छौं, चेतनाको अभावले पिल्सििएका छौं । यी अभाव र पीडाबाट ग्रसित नेपालीको अवस्था देखेर कवि हृदय करुणाले पग्लेको छ । सधैं उच्च शिखरतिरको यात्रामा लागिरहनु पर्छ, जसरी अरनिको, बलभद्र आदि महान् व्यक्तिहरू लागेका थिए भन्ने सन्देश दिन खोजेका छन् कविले । महापुरुषहरू उपमा दिँदै चेतनाको ज्योति फैलाई विश्वको चेतनशील मानव बनेर उभिन आग्रह गरेका छन् । युगको क्रन्दन, चित्कार र पीडालाई सुन्न सक्ने महामानव बन्नका लागि कविको आग्रह छ । मानवीय अस्तित्वलाई मुख्य लक्ष्य बनाएर रचना गरिएको यो कवितामा देवकोटाको कवित्व शक्ति र उनको भाव सञ्चेतनाको विशिष्ट र उच्च शिल्प प्रवाहित भएको छ । व्यङ्ग्यधर्मी, स्वच्छन्दतावादी, मानवतावादी र कवित्वको उच्च शिल्पले सिँगारिएको उद्बोधन कवितामा नेपालीहरूले आफ्ना पुर्खाले रचना गरेका इतिहासलाई भुलेर वर्तमानमा केवल पेट पाल्नका लागि विदेशीको ढोकामा पाले बसेको देखेर चिन्ता प्रकट गरिएको छ ।
संरचना
‘उद्बोधन’ कविता संरचनात्मक रूपबाट ‘क’ देखि ‘त’ सम्मका १६ वटा लामा–छोटो अनुच्छेद ७३ हरफहरूमा केन्द्रित मात्रिक छन्दको कविता
हो । यो कविता ३३० शब्दमा संरचित एउटा काव्यिक संकथन हो । यसमा २ देखि १२ पङ्क्तिहरूको विन्यास रहेको छ । जम्मा ७३ पङ्क्तिहरूमध्ये दुई पङ्क्तिका छ, तीन पङ्क्तिका एक, चार पङक्तिका दुई, पाँच पङ्क्तिका दुई, छ पङ्क्तिका दुई, आठ पङ्क्तिका एक, नौ पङ्क्तिका एक र बाह्र पङ्क्तिका एक गरी कविताको बाह्य संरचना निर्माण भएको छ । यसमा एक, सात, दश, एघार पङ्क्ति भएका संरचना छैनन् । यो कविताको दोस्रो अनुच्छेदमा ‘हुन्न नि साथी ! हुन्न नि साथी ! भन्ने हरफ पुनरावृत्ति’ गरिएको छ भने शब्दगत रूपले हेर्दा थर–थर, जाला–जाला, भाग्यो–भाग्यो, ज्योति–ज्योति जस्ता शब्द एउटै हरफमा दोहोरिएका छन् । यस तथ्यका आधारमा शब्दगत र पङ्क्तिगत वितरण असमान, अनियमित विविधतापूर्ण रहेकोले मुक्तलय ढाँचामा आधारित एउटा गद्य कविता हो ।
यस कविताको पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ अनुच्छेदमा आएको क्रमशः बिकेका–ढुकेका–झुकेका, कडा–बडा, घुम्रेको–उम्रेको, छाउरा–बबुरा, चामर–तामर, कान–प्रात, हावा–जावा आदिले अन्तर पङ्क्तिगत अन्त्यानुप्रास सृजना गरेको छ भने हाम्रो–पुच्छरमा, हाम्रो–पोशाकमा, हामी–छाती, चाहिँ–ढाँटी, झुण्डन–मुण्डन, बनाउने–लडाउने आदि मध्यानुप्रास रहेको देखिन्छ । आद्यनुप्रासमा हात–मात, आकाङ्क्षा–खाल्टा आदि शब्दले ध्वनिको पुनरावृत्ति गरेर लय सृजना गर्न भूमिका खेलेको देखिन्छ ।
‘उद्बोधन’ कवितामा नेपाली समाजको दीन, हीन, मलीन, अवस्थाको विशेष चित्र उपस्थित गराइएको छ । यसमा कवि देवकोटाको प्रगतिवादी चेतनाले शीर्षक र विषयवस्तु बीच सन्तुलन ल्याउने कार्य गरेको छ । हामी कुन हदसम्म कमजोरीले ग्रस्त छौं भन्ने भावनाको जीवन्त र ज्वलन्त चित्रण छ । साहित्य, सभ्यता र कलालाई उपेक्षा गर्ने नवसामन्तका अगाडि निर्लज्ज याचना गर्ने प्रकृतिजन्य नेपालीहरूको विशेषता माथि तीक्ष्ण व्यङ्ग्य गरिएको छ । हामी नेपाली चाकडी वृत्तिमा रमाउने र ठूलाबडा भनाउँदालाई देवता नै ठान्न पुग्ने शक्तिहीन र मुर्दास्वरूप छौं भन्ने यथार्थजन्य अभिव्यक्तिबाट यस कविताको उठान भएको छ । हामी नेपाली पद, मान, प्रतिष्ठाको लागि ढाँटेर भए पनि पापीहरूले बनाइदिएको नीति, नियम सिकिरहेको व्यङ्ग्य गर्दछन् ः
चाकरीविनु जीवन जिए झैँ
हुन्न नि साथी !
हुन्न नि साथी !
कसै पछाडि नाच्न नजाने के जाति ! (उद्बोधन, पृ. ७६) ।
कवि देवकोटा भावनात्मक प्रवाह स्वभाव र संस्कारबाट प्रस्फुटन भएको पाइन्छ । देवकोटाको हृदय अन्तरचेतनाबाट स्फुरण भएकोमर्मस्पर्शी पोखाई काव्य संसारमा बाँचेको हुन्छ । बोक्रे स्वभाव तथा आचरणमा बाँचेका हामी नेपाली यथार्थमा धेरै पछाडि छौं । अघि बढ्न नसक्नु वा नजान्नुमा हाम्रो नियति बन्न पुगेको छ । “बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखे पनि सोझो हुन्न” भन्ने नेपाली भनाइलाई यस कविताले चरितार्थ गर्न खोजेको
छ । जस्तै ः
दर्शन हाम्रो पुच्छरमा घुम्रेको ।
व्यक्तित्व हाम्रो पोशाकमा छ उमे्रको ।
कौडी हामी पूजा गर्छौं कडोर कडा ।
हाम्रा देउता बुर्जावाला (उद्बोधन, पृ. ः ७६) ।
नेपाली मानव जातिका इन्द्रियहरू पनि उद्देश्य विहीन छन् । फ्याउरो झैँ फत्फताए पनि यथार्थमा मूर्दासरिको अस्तित्वमा बाँच्नु पर्ने अवस्था छ । पूर्वजहरूका कीर्ति र पुरुषार्थलाई बिर्सेर आज कसैको खुसियालीका लागि हामी धुपौरेका रूपमा उपस्थित छौं । शक्तिशाली अङ्ग्रेज साम्राज्यका अगाडि नझुक्ने वीर जातिको गरिमामय परम्परालाई बिर्सेर कसैको दास बन्न विवश छौं । नदी जस्तै तरल र गतिशील बन्नु पर्ने हाम्रो जीवनपद्धति कातर र डरपोक बन्न पुगेको छ । यस्तो जीवनको भोगाइ यथार्थमा अस्तित्व विहीनताको द्योतक हो । प्रतिबद्धता र उत्साहको अभावमा फगत अर्काको प्रहार भोगेका छौं भन्ने भावनाको व्यङ्ग्यात्मक अभिव्यक्ति छ ।
भविष्यका प्रति सोच्न नसक्नु, गरिबी र कुसंस्कारले ग्रस्त हुनु, अतिमानवीय तŒवमा विश्वास गर्नु, शक्ति÷सामथ्र्य भईकन पनि दिनानुदिन आर्थिक रूपबाट ह्रासोन्मुख हुनु, उद्देश्यको महानतम् उचाइमा पुग्न लालायित मानव समाजका उदीयमान व्यक्तित्वहरूका अगाडि निरन्तर रूपमा पछाडि धकेलिँदै जानु, बलभद्र र पृथ्वीनारायण जस्ता ऐतिहासिक वीर योद्धाका योगदानलाई बिर्सनु तथा नेपाली भाषा र साहित्यको एकीकरणका सूत्रधार मानिने भानुभक्तलाई स्मरण गर्ने आग्रह गर्नु जस्ता भावात्मक प्रवाहको उल्लेख छ । मगजलाई चेतनाको भण्डार तथा हृदयलाई अविस्मरणीय कानको रूपमा प्रस्तुत गर्नु कविताको महानता रहेको छ ।
कविताको उपसंहार विन्दुमा नेपाली जाति यस्तो हुनुपर्दछ भन्ने आदर्शवादी भावनाको अभिव्यक्ति भएको छ । युगीन पीडा सुन्न कानको आवश्यकता रहनु, लक्ष्य प्राप्तिमा शरीर नै समाप्त गर्नु परे पनि पछि नहट्नु, भय र त्रासलाई सहज र सरल रूपले अवलम्बन गर्नुपर्ने उत्तरदायित्व आएको युगीन अभिव्यक्ति यस कवितामा हुन पुगेको देखिन्छ ।
बिम्ब–प्रतीक÷अलङ्कार विधान
अङ्ग्रेजी ‘सिम्बोल’ को नेपाली प्रतिरूप बिम्ब शब्द ‘बी’ धातुमा ‘वन’ प्रत्यय लागेर बनेको हो । बिम्बलाई प्रतिमा, प्रतिबिम्ब वा प्रतीक पनि भन्ने गरिन्छ । सामान्यतः कुनै वस्तु भाव, विचार, देश, जाति, संस्कृति, व्यक्ति र उसको प्रवृत्तिलाई कतिपय विशेषमा बिम्ब र प्रतीकको सहारा लिई प्रयोग गरिन्छ ।
२००७ सालपछि नेपाली समाजमा खुला राजनैतिक परिवेश प्राप्त भए पनि हाम्रा विवशता बाध्यता र कमजोरीको रेखाङ्कन गर्नका लागि कवि देवकोटाले नेपाली समाजका अनेकौं वस्तु र पदार्थलाई बिम्ब र प्रतीकका रूपमा प्रस्तुत गरेका छन् ।यसमा खिचडी, ढुकुटी, कुकुर, फ्याउरो, टीन, मान्छे, सिन्की, झुम्रा, दौरा, बोक्सी, जूँघा, कान, शरीर, माकुरो, गङ्गा आदि उपकरणहरू बिम्ब–प्रतीकका प्रमुख सामग्री मानिएका छन् । जाति र स्थान विशेषका बिम्बहरूमा गोरा (अङ्ग्रेजी), सिक्कीम, पिकिङ इत्यादि बिम्बले नेपालीहरूको गौरवशाली कीर्तिहरूको अवमूल्यन हुन गएको छ भन्ने कुरामा पनि देवकोटाको कवित्वचेतना प्रखर रूपमा अभिव्यक्त भएको छ । इतिहासका पानाहरूमा नेपाली जातिका मान्छेहरू बहादुर कहलाए पनि वर्तमान अवस्थामा कायरपन र कमजोरीको विकारले ग्रस्त हुन पुगेको देखिन्छन् । कविले वीर पुरुषहरूको संस्मरण गराउने र भविष्यका प्रति सचेतगराउने प्रयत्न समेत निम्न पङ्क्तिबाट प्रमाणित हुन्छ ः
बलभद्र भो किन जलुको आज ?
बाघका जूँघा तानी शोध ।
पृथ्वीनारायण किन टोल्हाए ?
राष्ट्रका दुश्मन गोदन गोद ।
भानु कहाँ छन् ? बादल पछाडि
फारन फार !
रुद्र कहाँ छन् ! आँखापछाडि !
फर्की उफार, फर्की उफार !
नेपाली समाजका विद्यमान युगजनीन पीडा, व्यथा र कथालाई मनन गर्दै विश्व मानवतावादी बन्ने कुराको आग्रहीकरण पनि यस कवितामा छ । मान्छेका अस्तित्व र कर्तव्यलाई मुखरित गर्दै स्वच्छन्दतावादी, प्रगतिवादी भावनालाई मानवीय पीडाका रूपमा व्यङ्ग्यात्मकता प्रदान गर्नु कविताको मुख्य मर्म हो । अनुप्रासिक अन्तरलयको सिर्जना, स्वर, व्यञ्जनयुक्त शब्दको पुनरावृत्ति, भावअनुरूपको बिम्ब÷प्रतीक, तृतीय पुरुषको शैली, प्रगतिवादी, मानवातावादी धारणाआदि समेत अभिव्यक्त भएको छ । भावनाको खुलस्तताले केही आगन्तुक शब्द जस्तै ः टेबिल र अप्रचलित शब्द जस्तै ः जलुको प्रयोगले पनि कवितालाई व्यापकता तुल्याएको छ ।
शीर्षक सार्थकता
नेपाली जनताहरूले अस्तित्वहीन जीवन बिताएका छन् । चेतनाको कमीले गर्दा जनता अन्याय, अत्याचार र शोषणका विरुद्ध जागरुक भएर उठ्न सकेका छैनन् । जनतामा ज्ञानको उदय नहुँदासम्म उनीहरूले स्वतन्त्र जीवन जिउने स्थितिको सिर्जना हुँदैन । जनता जागृत नभएसम्म समतामूलक समाजको निर्माण हुन पनि सक्दैन । त्यसैले जनतामा ज्ञानको उदय हुनु आवश्यक छ भन्ने विचार व्यक्त भएको यस कविताको शीर्षक सार्थक र औचित्यपूर्ण रहेको देखिन्छ ।
सन्दर्भ सामग्रीसूची
जोशी, कुमारबहादुर (२०४७), देवकोटाका कविता–यात्राको विश्लेषण र मूल्याङ्कन, ललितपुर ः साझा प्रकाशन ।
…………………….. (२०४८), देवकोटाका प्रमुख कविताकृतिको कालक्रमिक विवेचना, काठमाडौँ ः सिद्धार्थ वनस्थली प्राज्ञिक परिषद् ।
दीक्षित, कमल (२०६०), भिखारी कवितासङ्ग्रह (अठारौँ संस्क.), ललितपुर ः साझा प्रकाशन ।
नेपाली वृहत् शब्दकोश (२०४०), काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
निरौला, फणीन्द्र र लेखप्रसाद निरौला (२०६५), नेपाली कविता, नाटक र साहित्यको इतिहास, काठमाडौँ ः प्रधान बुक हाउस ।
लक्ष्मी कवितासङ्ग्रह (चौथो संस्क) (२०५६), काठमाडौँ ः साझा प्रकाशन ।
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०५६), नेपाली कविता, नाटक र इतिहास, काठमाडौँ ः नवीन प्रकाशन ।

Top