शोभा पोखरेल २६ भदौ २०७७, शुक्रवार

 

सार संक्षेप
यस लेखले नेपालको विभिन्न धर्म संस्कृति तथा चाडपर्वहरूको बारेमा चिनारी दिनेछ जसले गर्दा विश्वकै राष्ट्रहरूमा नेपाल यस क्षेत्रमा एउटा धनाड्य देश भनी चिनिन पुगेको छ । विविध चाडपर्व, धर्म, संस्कृतिलाई यो एउटै राष्ट्रले सम्हालेर संगालेर राखेको देश शायद नेपाल मात्रै होला । भनिन्छ ‘विविधतामा एकता भएको यस राष्ट्र’ नेपालप्रति आकर्षित भएका धेरै राष्ट्रहरू विश्वमा छन् ।
महत्वपूर्ण शब्दावली ः विविधता, ऐक्यवद्धता, हाटमेला, श्रद्धा, जातजाति ।
विषयवस्तु
नेपालका चाडपर्व एवं धर्म संस्कृति भन्नासाथ यहाँ अटाएका थुप्रै चाडपर्वहरू आउँदछन् जस्तै दशैं, तिहार, ल्होसार, न्हूँद, नयाँ वर्ष, बुद्धजयन्ती, उधौली, उभौली, जुडशीतल, ईद, सिथि नख, गौरा पर्व, चासोक ताङनाम, सिरुवा पर्व, पाता मेला, पेन्दिया, गढीमार्यमेला, गुँला पर्व, तोरनल्ह रातो मच्छिन्द्रनाथ जात्रा, सेतो मच्छिन्द्रनाथको जात्रा, मकर सङ्क्रान्ति र कर्कट सङ्क्रान्ति, रामनवमी, श्रीकृष्णजन्मष्टमी, कुशे औंसी, नागपञ्चमी, फागुपूर्णिमा (होली, क्रिसमस, भ्यालेन्टाइनस डे, वैशाख १ गते (नयाँ वर्ष), जनवरी फष्ट (नयाँ वर्ष, गुरु पूर्णिमा, तीज आदि ।
माथि उल्लेख गरिएका सम्पूर्ण चाडपर्वहरू नेपालभित्रै मनाइने चाडपर्वहरू हुन् । नेपाल विविधतामा एकता भएको गजवको राष्ट्र हो । यस राष्ट्र भौतिक रूपमा सानो छ तर चाडपर्व धर्म संस्कृति संस्कार आदिले गर्दा यो विशाल छ । यसको छातीभित्र यी माथि उल्लेख गरिएका सबै खालका धर्म संस्कृति चाडपर्व अटाएका छन् । जसरी एउटी आमाको एउटा मात्र सन्तान होस् वा दर्जनौं सन्तान किन नहुन् आमाको लागि सबै सन्तान त्यत्तिकै प्यार र आत्मीय हुन्छन्, जुन सन्तान बिरामी प¥यो भने पनि आमा त्यत्तिकै दुःखी र चिन्तित हुन्छिन्, त्यसरी नै नेपाल आमाका पनि यी सबै चाडपर्व धर्म संस्कृति संस्कार आफ्नै सन्तानको रूपमा प्रिय छन् । यी सम्पूर्ण चाडपर्व आदिले नेपालको गरिमालाई बढाएको छ, बचाएको छ । संसारमा देख्न नपाइने अति रमाइला, अनौठो विशेषता बोकेको चाडपर्वहरू नेपालमा मात्र हेर्न पाइन्छन् रमाइलो अनुभव गर्न पाइन्छ । माथि उल्लेखित सम्पूर्ण चाडपर्वहरू नेपाल भित्र कै विभिन्न धर्मसित विभिन्न जातजाति सित सम्बन्धित चाडपर्वहरू हुन् । यहाँ सबै खालका धर्म संस्कृति मान्ने जनताले सबैका चाडपर्वलाई उत्तिकै रमाइलोका साथ मनाएको हेर्न पाइन्छन् । वास्तवमा नेपालको धर्मसंस्कृति परम्परा विश्वकै राष्ट्रहरूको तुलनामा अद्वितीय छन् (पोखरेल, २०७४ ः ५९) । अब क्रमशः चाडपर्वहरूबारे तथा यी चाडपर्व मनाउने जातजाति, धर्मबारे चर्चा परिचर्चा गरौं ।
दशै ः
नेपालका हिन्दू धर्माबलम्बीहरूको सबै भन्दा ठूलो चाड हो दशै । यो चाड असोज महिनामा पर्दछ ! असोज महिनाको शुक्ल प्रतिपदा देखि दशमी सम्म चल्ने भएको हुँदा यस चाडलाई दशैं भनेर हिन्दूहरूले अत्यन्त हर्षोल्लासका साथ मनाउने गर्दछन् । यस पर्व नेपालको राष्ट्रिय पर्व पनि हो । आफ्ना मान्यजनहरूबाट आशीर्वाद स्वरूप टीका र जमरा थाप्न सम्पूर्ण हिन्दूहरू मान्यजनको घर घर खुशी मनले पुग्दछन् । यस चाडलाई अति हर्षोल्लासका साथ हिन्दूहरूले मनाएको हेर्न पाइन्छ । घटस्थापनाको दिन विधिपूर्वक जमरा राख्ने र त्यही जमरालाई देवीलाई अर्पण गरेर दशमीको दिन मान्यजनहरूको हातबाट शिरमा लगाइन्छ । दही अक्षता रातो अबीर मिसाएको उज्यालो रातो ट ीका निधारमा आफ्ना मान्यजनहरूबाट लगाएर हिन्दूहरू अतिप्रफुल्लित हुँदै घर घर टीका थाप्न पुग्दछन् । यस चाडमा मीठा मीठा परिकार बनाइनुका साथै मासु खानेहरूले मासुका परिकार सगुनको रूपमा रक्सी पनि खान्छन् । कसै–कसैले खसी, मासु, अण्डा लाई हेला गरेर नाक खुम्च्याएको पनि देख्न पाइन्छ तर कसैले कसैको पनि संस्कारलाई हेला गर्नु उपहास गर्नु हुँदैन । नेपाल जाडो हिमाली मुलुक भएको हुँदा यस ठाउँमा बसोबास गर्नेहरूले त्यस्तै भोजन गर्दछन् जस्तो भोजन तथा पहिरनले उनीहरूलाई तातो न्यानो बनाउँदछ । दशैंमा ब्राह्मण क्षत्रीहरूले भगवतीलाई नैवेद्यको रूपमा नरिवल मिठाई फल फूल आदि चढाउँदछन् भने नेवार जातिले माछा मासु अण्डा, खसी, चढाएर पूजा गर्दछन् । यो आ–आफ्नो बाजे बराजुबाट चल्दै आएको संस्कार हो । त्यस्तै राई लिम्बु भोटेहरूले सेतो अक्षताको टीका लगाएको देखिन्छ । अतः कसैले कसैलाई हेला खिसी गर्नु उचित देखिदैन । देवीहरूको मन्दिरमा यस चाडमा निकै ठूलो घुँइचो लाग्दछ । दशैंमा दशमीको दिन पिङ् खेलने चलन पनि छ । असत्यमाथी सत्यको विजयको प्रतीक हो दशैं ।
तिहार
तिहार पनि हिन्दूहरूको अत्यन्त ठूलो चाडपर्व हो । कार्तिक शुक्ल त्रयोदशीदेखि जम्मा पाँच दिन सम्म मनाइने यो चाडको अन्तिम दिनमा भाइटीका मनाइन्छ । यो चाड कागतिहार, कुकुर तिहार, गाई पूजा, लक्ष्मीपूजा, गोरु पूजा गोबद्र्धन पूजा हुँदै अन्तिम अर्थात् पाँचौ दिनमा भाइटीका लगाइन्छ । हिन्दूधर्म एउटा यस्तो अपूर्व धर्म हो जसमा सबै प्राणीलाई मान्ने ईश्वरको रूप ठान्ने गरिन्छ । एउटा कमिलो देखि लिएर सबैभन्दा ठूलो प्राणी सम्ममा त्यही भगवान्को बास हुन्छ भन्ने विश्वास राख्ने हिन्दूधर्मावलम्बीहरूले तिहारमा कागलाई दुधभात दिएर सर्वप्रथम कागलाई खवाएर अर्थात् अर्पण गरेर मात्र आफू खान्छन् । काग पूजाको भोलिपल्ट कुकुरलाई पूजा गरेर मासु भात खान दिएर, तेल लगाई टीका माला लगाई पूजा गरेर मात्र आफू खान्छन् । कुकुरलाई पूजा गर्दा यमराजलाई सम्झना गरेर पूजा गर्दछन् ।
तेस्रो दिन बिहान गाईको पूजा गरेर त्यसैको बेलुका लक्ष्मीपूजा गरेर चारैतिर दिप बालेर घर बाटो झिलिमिली पारेर निकै हर्षोल्लास पूर्वक लक्ष्मीपूजा मनाइन्छ । धन प्रतिष्ठा मान की देवी लक्ष्मीको आराधना गरी रातभरी पूजाकोठा मा पनि दीप बालिन्छ । त्यसदिन सेलरोटी मिठाई आदि पकाएर षोडसोपचारले महालक्ष्मीको पूजा आजा गरिन्छ । चौथो दिन बिहान गोरु पूजा तथा गोबरको पहाड बनाएर गोबद्र्धन पूजा गरिन्छ भने नेवारी जातिले म्ह पूजा गर्छन् ।
पाँचौ दिन भाइटीका गरिन्छ । दाजुभाइलाई दिदी बहिनीको हातबाट निधारमा सप्तरङ्गी टीका, मखमली र दुवो लागइदिएर, मखमतीको माला दुवोका माला, गोदावरी फूलको माला लगाइदिएर सेलरोटी मिठाइ फलफूल मसला पान सुपारी आदिका साथै सक्नेले लुगा कपडा आदि दिएर खुशी पारेर दाजु भाईलाई पूजा गरिन्छ । कपालमा तेल लगाइदिन्छन्, दिदीबहिनीले दाजुभाइलाई । दाजुभाइले पनि आफ्ना दिदी बहिनीलाई प्रेमपूर्वक सप्तरङ्गी टीका आदि लगाइदिएर श्रद्धाले आफ्नो गक्षले भ्याएसम्म दक्षिणा दिन्छन्, ओखर कटुस एकले अर्कोलाई दिने चलन पनि छ । सेलरोटी र झिलीमिली बत्तीको चाड हो तिहार अर्थात्, दिपावली द्यौसिरे भैलो खेल्न घर घर जाने चलन छ ।
किन मनाईन्छ भाइटीका– भाइटीका मनाइनुको खास कारण नै दाजुभाईको दीर्घायु सुस्वास्थ्य एवं सम्वृद्धिको कामना गरी मनाइएको हो दाजु यमराज र बहिनी यमुनासित सम्बद्ध घटनामा आधारित छ यो तिहार पर्व ! दिदीबहिनीले मखमली फूल र दुवोको गुच्छा बनाई तेलमा डुबाई सो मखमलीले दाजुभाइलाई घेर्दछन् , यसको तात्पर्य के हो भने तेलेको दाग नसुकुन्जेल मखमली र दुवो नसुकुन्जेल दाजुभाईलाई कसैले नोक्सानी पु¥याउन सक्दैनन् भन्ने हो । अतः तिहारमा मखमली दुवोको ठूलो महत्व छ । दाजुभाईको चिरायुको कामना गरी दिदी बहिनीले सो फूल दूवो लगाइदिएका हुन् ।
गीतामा भनिएको छ, ‘गाई हात्ती र चण्डाल, कुत्ता, सर्वज्ञ बाहनु ज्ञानीका दृष्टिमा एकै ठहर्छन् ब….अर्जुन ।’ कृष्णजीले गीतामा अर्जुनलाई भनेको बाक्य हो यो । अतः विभिन्न पशुपक्षी सबैमा उही एउटै ईश्वरको बास छ भनेर विभिन्न दिन विभिन्न प्राणीहरूको पूजा आजा सत्कार गरिएको हो । ती सबै प्राणीहरूको यस पृथ्वीमा उत्तिकै महत्व रहेको छ । अतः तिनको पूजा अर्चना गर्नु भनेको तिनको महत्वलाई स्मरण गर्नु गराउनु हो ।
तीज
हरितालिका अर्थात् तीज पनि नेपालमा मनाइने ठूलो चाड हो । यो चाड स्त्रीजातिसित सम्बन्धित छ । यो तीजको व्रत हिन्दु महिलाहरूले लिने गर्दछन् ।
गुरूपूर्णिमा
आचार्य देवो भवः गुरुलाई देवता मान्ने होऊ सनातन वैदिक धर्मावलम्बी हिन्दु मत्रका लागि अति महत्वपूर्ण मानिएको चाड गुरूपूर्णिमा व्यास पूर्णिमाको नामले पनि प्रसिद्ध छ । आषढ पूर्णिमाको पवित्र तिथिमा मनाइने गुरूपूर्णिमाको शुभ दिनमा प्रत्येक सनातन वैदिक धर्मावलम्बी हिन्दूले गुरुको पूजा गरी श्रद्धापूर्वक केही दक्षिणा वा भेटी अर्पण गर्दछन् । (सुवेदी, २०७१ ः १०६) यस चाडलाई खासगरी हिन्दू धर्ममा आस्था राख्नेहरूले निकै श्रद्धापूर्वक मनाउँदै आएका छन् । विद्यालय, महाविद्यालयहरूले पनि आफ्ना गुरुहरूको सम्मान गरी कार्यक्रम गर्दछन् । गुरु भनेको अन्धकार नाश गरेर उज्यालो देखाउने व्यक्ति हुन् । गुरुबाट नै ज्ञान प्राप्त हुन्छ । त्यसैले गुरूपूर्णिमा को दिन आफ्ना आफ्ना गुरुहरूलाई सम्मान गर्ने चलन चल्दै आइरहेको छ ।
ल्होसार
नेपाल हिमाल पहाड तराई विविध क्षेत्र भएको देश हो । यहाँको विभिन्न भेकमा बस्ने जातजातीले विभिन्न चाडपर्व मनाउँदछन् । नेपालको उ त्तर हिमाली भेकका शेर्पा, गुरुङ, थकाली, भोटे, मगर जातिहरू तिब्बती क्यालेण्डर अनुसार नव वर्षको आरम्भको अवसरमा माघ महिना तिर पर्ने ल्होसार पर्व विशेष हर्षोल्लासका साथ मनाउँदछन् । वर्षको गणना मुसा, गाई, बाघ, बिरालो, मेघ, नाग, घोडा, भेडा बाँदर, गुरुङ, कुकुर, बनेलको नाममा गरिन्छ तथा प्रत्येक बाह्र वर्षमा ? यो चक्र दोहोरिन्छ । विभिन्न प्रकारका ल्होसार मध्ये सोनाम, तमु र ग्याल्चो ल्होसारमा नेपालमा सार्वजनिक विदा दिने प्रचलन रहेको पाइन्छ । (अर्याल, पाण्डे र कार्की, २०७४ ः ६५) ।
न्हूद
न्हूद नेवारजातिहरूको नयाँ वर्ष हो । यो कार्तिक महिनामा म्ह पूजाको दिन मनाइन्छ । परम्परागत पहिरनमा सजिएर परम्परागत बाजागाजा सहित निस्किने ¥याली लाई भिन्तुना जुलुश भनिन्छ । यि अर्थात् शुभ तुना अर्थात् कामना भन्ने अर्थ लाग्दछ । भिन्तुना जुलुश नेवारी जातिको शुभकामना जुलुश पनि भनेको पाइन्छ ।
काठमाडौंमा वसन्तपुर कुमारी घर अगाडि नेवारी पोशाकमा सजिएका थुप्रै महिला तथा पुरुषहरू भेला हुन्छन् । यस भेला एउटा खुशीको भेला पनिहो । नेवारी जातिहरूले नेपाल सम्बतको सम्झनामा यो चाड मनाएका हुन् । नेवार समुदायले नेवारी पोशाक नेवारी बाजा गाजा नेवारी तौर तरिका लाई अपनाउनुका साथै नेवारी सम्बत अर्थात् नेपाल सम्वत्लाई मान्दै यो जुलुश प्रदर्शन गरेको हुन् ।
२० अक्टोबर ८७९ ई.बाट यो नेपाल सम्वत् शुरु भएको हो र यसका अगुवा व्यक्ति शंखधर शाख्वा हुन् । शंखधर शाख्वाले जनताको ऋण तिरोदिएको हुनाले उनको नामबाट नेपाल सम्वत् मनाउनु पर्ने माग नेवार समुदायको हो । यो सम्वत्लाई नेपालको सम्वत् मानिनुपर्छ भन्ने माग गर्दै भिन्तुना माथि नेवारहरूले जोडदिएका हुन् । नेपालका राजा महेन्द्रको एक भाषा एक भेष को नीतिलाई नेवार समुदायका व्यक्तिहरूले औंलो ठड्याउनु ठिकै हो । किनकी महेन्द्र राजाको पालिमा नेपालमा गणतन्त्र थिएन । यसपाली नेपाल सम्वत् ११३८ मनाइयो ।
बुद्ध जयन्ती
नेपाल बहुजातीय, बहुभाषिक, बहुसंख्यक, बहुसांस्कृतिक, बहुधर्मावलम्बी भएको राष्ट्र हो तापनि यस राष्ट्रका वासिन्दाले एकको धर्म संस्कृतिलाई अर्कोले पनि श्रद्धा र सम्मानका साथ हेरेको देखिन्छ ।
नेपाल बुद्ध जन्मेको राष्ट्र हो । बुद्धको जन्मभूमि, पूण्य भूमि, शान्ति भूमि, नेपालको नाम विश्वमा नै चर्चित छ । विश्वभरिकै बुद्ध धर्मावलम्बीले यस चाड बुद्धजयन्तीलाई बडो श्रद्धाका साथ मनाउँदछन् । इसापूर्व ५६३ वैशाख शुक्ल पूर्णिमाका दिन शाक्यमुनि बुद्धको जन्म नेपालको कपिलवस्तुमा भएको थियो । वैशाख शुक्ल पूर्णिमा कै दिन सिद्धार्थ गौतम जन्मे, सो ही दिन उनले महापरिनिर्वाण प्राप्त गरेको हुनाले सो दिनको विशेष महत्व छ । सिद्धार्थ गौतमले बुद्धत्व पपत गरेको हुनाले नै उनी ‘बुद्ध’ बनेर चर्चित भए प्रसिद्धि पाए । इसापूर्व ५६३ मा जन्मेका बुद्धले इसापूर्व ४५३ वैशाख पूर्णिमाकै दिन हापरिनिर्वाण अर्थात् समाधी लिए । यस दिन बौद्ध मठ, गुम्बा तथा विहारहरूमा विशेष भीड एवं चहलपहल, दीप प्रज्ज्वलन, पाठ आदि हुन्छ । यस दिन नेपालीहरूको लागि मात्र नभएर विश्वकै सम्पूर्ण बौद्ध र्धावलम्बीहरूले अत्यन्त श्रद्धा र विश्वासका साथ यो पर्व मनाउँदछन् ।
उधौली, उभौली
यो पर्व राई जातिहरूले मान्दछन् । यो पर्व एउटा उधौली हो भने अर्को उभौलीको रूपमा वर्षमा दुई पटक मनाएको पाइन्छ । यस पर्वमा कसैले चण्डीनाचका रूपमा, कसैले साकेला वा साकेवा का रूपमा कसैले वैशाख तथा वाडाङ्मेटको रूपमा मनाउने चलन रहेको छ । राई जातिहरूको पनि संस्कृतिमा केही फरक देखा परेकोले यो पर्व पनि फरक फरक समयमा र फरक फरक नामबाट मनाइएको हो ।उभौली पर्व वैशाख जेठ महिनातिर मनाईन्छ भने उधौली कार्तिक मंसीर महिनातिर मनाउने गरेको पाइन्छ । यस पर्वमा नाकछोङ् (पुजारी) ले चण्डीथान, मार्गाथान, माङ्खिम आदि स्थलमा मुन्धुम भनेर पूजा आजा आदि गर्दछन् । प्रत्यकको घरमा पितृहरूको पूजा अर्चना गर्ने, ढोलझ्याम्टा बनाएर नाचगान गर्नुका साथै मीठा स्वादिष्ट पकवान खाएर खुशीका साथ यो पर्व मनाइन्छ । नेपालमा यस पर्वमा पनि सार्वजनिक विदा दिइन्छ ।
जुडशीतल ः
नेपालका मैथिली जातिहरू वैशाख २ गते को दिनलाई जुडशीतल पर्वको रूपमा मनाउने गदृछन् सोही दिनबाट उनहीहरू नयाँवर्ष आरम्भ भएको मान्दछन् यस पर्वको अवसरमा मिथिलामा सामूहिक भोजन आदि कार्यक्रम गरिनुको साथै छरछिमेकमा अबिर, रङ्, हिलो छ्यापछ्याप गरी होलीको जस्तै उत्साहपूर्वक यस पर्व मनाउँदछन् । यस दिन मान्यजन अथवा अभिभावकहरू बिहान सबेरै उठेर नुहाइधुवाइ गरी नित्य कर्म आदि गरी लोहोटामा पवित्र शीतल जल लिएर दाहिने हातको अञ्जुलीमा भरी आशीर्वचनका साथ अभिशेष गर्छन् । यसरी शीतल शुद्ध जलद्वारा अभिशेष दिने प्रचलन भएको हुनाले पनि यस पर्वलाई जुडशीतल भनिएको हुन सक्छ ।
इद
नेपाल सरकारले इदको सारा नेपालीलाई सरकारी विदा दिने गरेको छ । नेपालका मुसलमानहरूले यो पर्व साह्रै उत्साहका साथै मनाउँदछन् । हिजरी संवत्को रमजान महिनाभरी नै ईद मनाउने गरिन्छ । यस धार्मिक अवसरमा समर्थ व्यक्तिहरूले आफ्नो कमाईको अढाई प्रतिशत गरीबगुरुवाहरूलाई दन दिई यिनीहरूको जीविकाका लागि केही सक्दो प्रबन्ध गरिदिने चलन छ । यस पर्वका बेला कुरान पाठ गर्ने, नमाज पढ्ने तथा पशुहरूको बलि दिने (कुर्वान) जस्ता कार्य गरिन्छन् । ईद बडो हर्षोल्लासका साथ मनाइएको देख्न पाइन्छ ।
सिथि नखः
यो चाड नेवार जातिहरूको मनाउने चाड हो । नेपाल बहुजातिय मुलुक भएको हुँदा यस राष्ट्रका नेवार जातिहरूले मनाउने एउटा महत्वपूर्ण पर्व सिथिनखा, पनि हो । जेष्ठ शुक्ल षण्डीका दिन मनाइने यस पर्वमा खासगरी कुमार कार्तिकेय को पूजा गर्ने तथा खटयात्रा गर्ने गरिन्छ । नेवार जातिहरूको देवाली पूजा पनि यसै दिन गर्ने चलन देखिन्छ । खासगरी खेतीकिसानी गर्नेहरूले यस चाडलाई विशेष भव्यताका साथ मनाउने गर्दछन् ।
गौरापर्व ः
नेपालको मध्यपश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा मनाइने यस पर्व मा खासगरी त्यस क्षेत्रका महिला समुदायले सामूहिक रूपम ागणेश, शिवपार्वतीको पूजा आजा गर्दछन् । यस पर्वमा अथवा चाडलाई गौरापर्व भनिन्छ । मासको पिठोको मूर्ति बनाई पूज गर्नुका साथै फूल चन्दन अक्षता धूप दिप, गहुँ, जौ मास, केराउ आदि मिसेको पञ्च विरुडी चढाएर पूजा गरिन्छ । भाद्र कृष्णअष्टमी देखि तीन दिन सम्म मनाइने यस पर्वमा महिलाहरू अष्टमीका दिन उपवास बसी घाँसद्वारा निर्मित शिव पार्वती एवं गणेशाको मूर्ति (ासउ) को पूजा आजा भजन कीर्तन आदि गर्दछन् । यसप्रकारले गर्ने कर्मलाई अठवाली कर्म भनिन्छ । अतः गौरापर्व पनि नेपालको एउटा ठूलो चाड हो ।
चासोक ताङ्नाम ः
नेपालका जातिहरूमध्ये एउटा जाति लिम्बुहरूले चासोक ताङ्नाम लिम्बू जातिको महान चाड हो । यो पर्व कार्तिक महिनामा पर्दछ । यस पर्वलाई न्वागीपूजा पनि भनिन्छ । यस पर्वमा पाकेका फलफूल अन्न आदि देवी देवताहरूलाई चढाएर मात्र आफूले खाईवरी राती यालङमा च्याव्रुङ्नाच नाचेर हाक्पारे गीत गाएर लिम्बुजाति रमाईलो गर्दछन् । सम्पूर्ण लिम्बूजातिद्वारा मनाइने चासोक ताङ्नाम वास्तवमा उनीहरूको जातजातीबीचको ऐक्यबद्धता, सम्वृद्धि, एवं साझा संस्कृतिको प्रतीकको रूपमा रहेको चाड मानिन्छ । यस चाडले लिम्बू जातिको धर्म संस्कृतिलाई जोड्नु का साथै एउटा साझा सन्देश दिन खोजेको देखिन्छ ।
सिरुवा पर्व ः
सिरुवा पर्व राजवंशी जातिले मनाएने पर्व हो । महाभारतकालमा परशुरामले क्षेत्रीय जाति विहिन पृथ्वी बनाउन लाग्दा राजवंशी जातिलाई पनि मार्न आँट्दा लसुन प्याज ढोकामा झुण्याउने गरेको हुँदा र यसबाट उनीहरू मारिइनबाट बचेको हुँदा सो बेला देखि यी जातिले लसुन ढोकामा झुण्डयाएर राख्न थालेको हो भन्ने चलेको पाइन्छ । नव वर्षको उपलक्ष्यमा झापा, मोरङ् र सुनसरी जिल्लाहरूमा बसोबास गर्ने राजवंशी जातिहरूले आफ्ना कूलदेवताको पूजाआजा गरी रङ्ग तथा हिलो छ्यापछ्याप्ती गरी, लसुन प्याज ढोकामा झुण्ड्याई यो पर्व रमाइलो गरेर मनाउँछन् । यस दिन सात प्रकारको तरकारी मिसाएर पकाएर खाने चलन छ । यस दिन राजवंशी समूदायका कुलदेवता (ठाकुर विसरी) को पूजा गर्नुको साथै टिष्टाबुढीको नामबाट टिष्टानदीको पनि पूजा गर्ने चलन चल्दै आएको छ । राजवंशी जाति लगायत थारु, ताजपुरिया, कहार, गनगाई जातिद्वारा पनि यो सिरुवा पर्व मनाइन्छ । हाटमेला जानुको साथै विभिन्न नाचगान रमाइलो गरी यो पर्व मनाइन्छ ।
पातामेला
हिन्दु धर्मावलम्बीको चाड हो यो । पोता मेला नेपालका सतार जातिद्वारा मनाइने पर्व हो । नेपालका आदिवासी सतार जातिद्वारा मनाइने यस पर्वमा झापा जिल्लाको ज्यामिर तथा भारतका सन्थालहरू हजारौंको संख्यामा सहभागी भई हर्षोल्लासका साथ पातामेला मनाउँछन् । उनीहरूले शिवपार्वतीको पूजा अर्चना गरी नाचगान गर्दै रमाइलो तरिकाले सांस्कृतिक कार्यक्रम समेत गर्दछन् । यो पर्व पनि नेपालको एउटा मुख्य पर्व हो । यसरी पातामेला अथवा पाता चाडले पनि शिवपार्वतीकै महिमा गाएको पाइन्छ ।
पेन्दिया
नेपालको मध्य तथा सुदूरपश्चिममा थारु जातिले आफ्नो खेतीपाती सकेर खलियानबाट सबै आज भित्र्याएको दिनलाई निकै खुशी र उमङ्गका साथ यो पेन्दिया पर्व मनाउँछन् । यसै दिन खलियान (धान झार्न बनाइएको समथल स्थल) मा थारु समुदायका गुरूपुरोहित द्वारा विशेष प्रकारको पूजाआजा समेत हुन्छ । अतः पेन्दिया चाड कृषिसित सम्बन्धित थारुहरूको चाड हो ।
गढीमाईमेला ः
गढीमाई मेला प्रत्येक पाँच पाँच वर्षमा लाग्ने गर्दछ । नेपाल तथा भारतका लाखौं लाख मानिसहरू यस मेला भर्न प्रत्येक पाँच वर्षमा बारा जिल्लाको बरियारपुरमा भेला हुन्छन् । यस भेलामा गढीमाईलाई भनेर लाखौं लाख राँगा बोका पंक्षीहरूको भोग चढाइन्छ । गढीमाई मेलामा भोग दिनुपर्छ र प्राणीको भोग दिनु हुँदैन भने पत्र पत्रिकामा अनेकन लेखहरू पनि निस्केका थिए ।
गुँला पर्व
यो पर्व पनि नेवार समुदायको बौद्ध धर्मावलम्बीहरूले मान्ने चाड हो । श्रावण शुक्ल प्रतिपदादेखि एक महिना सम्म गुँला पर्व मनाइने गरिन्छ । बुद्धधर्मावलम्बीहरूद्वारा पञ्चदान, विभिन्न देवीदेवताहरूको सार्वजनिक प्रदर्शन र मतया गति तीन चरणमा यस उत्सव सम्पन्न गरिन्छ । उनीहरूका आफन्त मृतकहरूको सम्झनामा तीर्थस्थलहरूमा बत्ती बालेर दर्शनको लागि जाने आत्याजात्रा भाद्रकृष्ण द्वितीयाको दिन पर्दछ सोही दिन बुद्धले मार विजय गरेको मानिन्छ । यस दिन बौद्ध मठ विहारहरूमा खचारखच भीड हुन्छ बत्ति बाल्ने श्रद्धालुजनको अपार भीड हुन्छ ।
तारनल्ह ः
यो चाड थकाली समुदायले मान्ने चाड हो यसलाई पितृपूजा पनि भनिन्छ । अतः पितृपूजाको रूपमा प्रचलित यो पर्व फागुपूर्णिमाको एकदिन अघि मात्र शुरु हुन्छ र फागु पूर्णिमाको भोलिपल्ट सम्म गरेर जम्मा तीन दिन सम्म मनाइन्छ । तोरनल्हमा पितृहरूलाई खिमि (पिक) दान गर्ने चलन छ । यस पर्वमा महिला को ठूलो भूमिका रहेको पाइन्छ । यो पर्वमा मध्यरात पछि र विहान कुखुरा बास्नु भन्दा अगाडि नै घरको प्रमुख महिलाले स्नानगरी वरी शुद्ध भएर पितृहरूको सम्झनामा पिण्डलाई सालको पातमा राखेर दान गर्छन् । पिण्डदान कार्यमा पुरुषहरूको सहभागिता हुँदैन । यस पर्वमा नयाँ कपडा लगाउने, मिठा मिठा खाना पकवान खाने, आफन्तहरूसित भेटघाट गर्ने कार्यका साथै पुरुषहरू बीचमा धनुवाण (तारो) हान्ने र महिलाहरूमा गट्टा खेल्ने प्रचलन पनि भएको पाइन्छ ।
रातो मच्छेन्द्रनाथ मेला ः
रातो मच्छिन्द्रनाथको जात्राको प्रचलन कसरी शुरुवात भयो भन्ने बारेमा विभिन्न कहावतहरू पाइन्छन् । लगभग १४०० वर्ष पहिलो विक्रमको सातौं शताब्दीतिर यहाँका मल्लराजा नरेन्द्रदेवको पालामा लामो समयसम्म अनिकाल पर्ने गएको थियो । यसको मुख्य कारण आफूले भीक्षा माग्न जाँदा भिक्षा नपाएको कारण श्री गोरखनाथ रिसाई यहाँको वर्षा र पानीका कारण तत्व बनेको नाग र सर्पहरूलाई मन्त्र शक्तिद्वारा एकै ठाउँमा राखी आफ्नो सिरानी र विच्छ्यौना बनाई मृगस्थलीमा सुत्नु भएकोले पानी पर्न नसकेको कुरा तान्त्रिकहरूद्वारा पत्ता लगाई यसको उपायमा श्री गोरखनाथका गुरु श्री मत्स्येन्द्रनारायणलाई ल्याई श्री गोरखनाथलाई जागा गराउने उद्देश्यलिई राजा नरेन्द्रदेवले (कान्तिपुर) तान्त्रिक श्री बन्धुदत्त आचार्य (भक्तपुर) र ललित ज्यापू (ललितपुर), यसमा अझ टौदहको समेत सहयोग लिई मन्त्र र यन्त्रको मुख्य शक्तिपीठ श्रीयन्त्रको प्रादुर्भाव भएको …………
सेतो मच्छिन्द्रनाथ जात्रा
सेतो मच्छिन्द्रनाथको जात्रा काठमाडौं लाग्छ । आर्यावलोकितेश्वर अर्थात् श्वेत मच्छिन्द्रनाथको मूर्ति र मन्दिर काठमाडौंको केलटोलको मच्छिन्द्रवहाल अर्थात् कनक चैत्य विहारको मध्यमा अवस्थित छ । प्राणी मात्रको भलाईको कामना गर्दै दूध दही आदिले स्थान गराई सभक्तिपूर्वक पूजाआजा गर्दछन् । चैत वैशाख महिनातिर शुभ साईत जुराई सेतो मच्छिन्द्रनाथको रथयात्रा गराइन्छ ।
मकरसंक्रान्ति र कर्कट संक्रान्ति
सूर्य राशिचक्रमा दशौं स्थानमा मकर राशिमा प्रवेश गर्दा मकर संक्रान्ति हुन ज ान्छ । उत्तरायणको शुरुआत हुने र माघ महिनाको पहिलो दिन पर्ने हुँदा यसलाई माघेसंक्रान्ति पनि भनिन्छ । यस दिन मकर स्नान गरी पूजाआजा गरी देवीदेवताको दर्शन गर्ने गरिन्छ । सूर्य राशिचक्रको चौथो ककर्टट राशिमा प्रवेश गर्दा कर्कट संक्रान्ति हुन्छ । उक्त दिन नुवाकोटको तारुकामा गोरु जुधाउने पर्व मनाइन्छ । दक्षिणायनको शुरुआत हुने र साउनको पहिलो दिन पर्ने हुँदा कर्कट संक्रान्तिलाई साउने संक्रान्ति पनि भनिन्छ । यो दिन पनि विहान स्थान पूजा आदि गरी देवीदेवताहरूको दर्शन गरिन्छ भने साझमा काण्डरक राक्षसको पूजा गर्ने दुःख कष्ट अशुभ संकेत का रूपमा लुतो फाल्ने गरिन्छ । (अर्याल र अन्य, २०७४ ः ६९–७०) ।
रामनवमी
आदर्शपुरुष श्रीरामको जन्मदिनलाई रामनवमी भनिन्छ । त्रेतायुगमा चैत्रशुक्ल नवमीका दिन श्रीरामको जन्म भएको हो । रामनवमी हिन्दुहरूकोपवित्र चाड हो । नेपालको जनकपुर अर्थात् मिथिला नगरीमा यो चाड अति उल्लासको साथ मनाइन्छ । रामनवमीका दिन रामायण पाठ गरी व्रत बस्ने चलन पनि छ । मर्यादापुरुष भगवान् श्रीरामको स्मरण मात्रले पनियो रोग, कष्ठ, पा, नाश हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।
श्रीकृष्णजन्माष्टमी
भगवान्ले अवतार लिई श्रीकृष्णको जन्म भएको र गीता जस्तो विश्व प्रसिद्ध पवित्र, ग्रन्थ आज हाम्रो समक्ष प्रत्यक्ष पाउनु आदि महत्व सम्झी जन्माष्टमी व्रत लिई कृष्ण मन्दिरमा पूजा अर्चना गर्न ठूलो भीड लाग्छ । (सुवेदी, २०७१ ः १२२) । श्रीकृष्ण जन्माष्टमीको दिन नेपाल सरकारले सार्वजनिक विदा दिने गरेको छ । यस दिन कृष्ण मन्दिरहरूमा श्रद्धालु भक्तजनको ठूलो घुँइचो लाग्दछ ।
ट्रहोटे पर्व ः
यो पर्व खासगरी गुरुङ् जातिले मनाउने पर्व हो । नेपाल गाउँ नै गाउँले भरिएको देश हो नेपालका धेरै संख्या गाउँघरमा बस्दछन् अतः गाउँ वस्तीलाई विभिन्न विकृतिहरूबाट बचाउनको लागि तथा वन्यजन्तु बालिनाली आदिको रक्षार्थ यो पर्व मनाउने परम्परा चलिआएको । (गुरुङ (तमु) राजा मसरो र उनको योद्धाहरूको लोककथा र गाथाहरू सम्झदै भकिम्लोबाट निर्मित हातहतियार बोकी चर्को स्वरमा कराउँदै ढोल ढ्याङ्ग्रो याम्रो बजाउँदै शत्रुहरूलाई गाउँवस्तीको सीमापार कटाई पठाउने परम्परा भएको यस चाडलाई ट्रहोटे पर्व भनिन्छ । भूत जस्तो देखि नै कपडा लगाई, अनुहारमा कालो पोतेर टाउकामा चराचुरुङ्गीको प्वाँख सिउरेर बाजा गाजा बजाई नाच्दै मनाइने यो एउटा अनौठो पर्व हो । गुरुङ् जातिले यस पर्वलाई भव्यताका साथ मनाउँदछन् । यो पर्व मनाउनाले गाउँघरमा शान्ति मिल्दछ भन्ने दृढ विश्वास तमु जातिमा रही आएको छ ।
मातातीर्थ औंसी
यो मातातीर्थ औंसी वैशाख कृष्ण औंसीको दिन मनाइन्छ । संसारमा आमा भन्दा ठूलो कोही हुँदैन र आमाको न्यानो मायाभन्दा प्यारो कसैको माया हुँदैन । आमालाई जीवित देवीको रूपमा मानिन्छ । आमाको सम्झनामा र श्रद्धाले यो चाड मनाइन्छ । जीवित आमालाई आफूले सक्दो तरिकाले यस दिन सम्मान गरिन्छ भने मृत आमालाई दर्शन गर्न पाइन्छ भनेर मातातीर्थमा जाने चलन छ ।
कुशे औंशी
संसारमा जन्मदिने बाबु सबैभन्दा उच्च हुन्छन् । उनले भरण पालन पोषण गरी सन्तानको रक्षा गर्दछन् । अतः बाबुको सम्मानको निमित्त यो दिन प्रचलनमा आएको हो । प्रत्येक भाद्रकृष्ण औंसीको दिन कुशे औंसीपर्दछ । ब्राह्मणहरूले मन्त्रजपगरी कुशको मुद्दा ल्याएर घर घरमा दिन्छन् जनु राख्नाले घर परिवारको सर्वकल्याण हुन्छ भन्ने अवधारणा रही आएको छ । अतः यो हिन्दूहरूको महत्वपूर्ण चाड हो ।
नागपञ्चमी ः
श्रावण शुक्ल पञ्चमीकादिन मनाइने यो चाड नेपालको एउटा विशेष महत्व बोकेको चाड हो । घरका ढोकाहरूमा नागका पटहरू ल्याएर विधिपूर्वक पूजा अर्चना गरी टाँसिन्छ । नागलाई दूध चढाइन्छ र स्वागत गरिन्छ ।
फागुपूर्णिमा
फागुपूर्णिमा हिन्दूहरूको ठूलो चाड हो यसलाई रङ्गहरूको चाड पनि भनिन्छ । यो चाड फागुन महिनामा पर्ने हुनाले यसलाई फागु पूर्णिमा पनि भनिएको हो । फागुन शुक्ल अष्टमीको दिन काठमाडौं वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाइएको लिङ्गो) गाडेपछि होली शुरु भएको मानिन्छ । भने चीर लाई दाह गरेपछि होली समाप्त भएको मानिन्छ । यो हिन्दूहरूको प्राचीन एवं महत्वपूर्ण पर्व हो ।
क्रिसमस डे ः
विश्वभरी कै इशाईहरूले मनाउँदै आएको क्रिसमसडे २५ डिसेम्बरको दिन मनाइने चलन छ जुन चाड हिजो आज नेपालीहरूहरूले पनि मनाउन थालेका छन् । मानिसबाट भएको पापको प्रायश्चितका लागि यसु ख्रीष्टको क्रसमा झुण्डिएर भएको बलिदानको स्मरणस्वरूप यो चाड मनाइने गरिन्छ । इसाई धर्मावलम्बीहरू चर्चमा गएर प्रार्थना गर्दछन् र आनन्द मनाउँछन् ।
वैशाख १ गते
नेपालका हिन्दूहरूका साथै अन्य जात जातिले पनि वैशाख १ गतेलाई नयाँ वर्षको रूपमा बडो उल्लासपूर्ण वातावरणमा मनाउँदछन् । वि.सं. २०७४ वैशाख १ गते पनि नयाँ वर्षको शुभारम्भको रूपमा धूमधामका साथ मनाइयो ।
जनवरी फष्ट
नेपालमा पनि यस चाड लाई मनाउँदै आइएको छ । जनवरी फष्ट अर्थात् जनवरी महिनाको एक तारिखलाई पश्चिमाहरूले नयाँ वर्षको आरम्भको दिन मान्दछन् । जनवरी फष्टको दिन आजकाल काठमाडौंका सम्पूर्ण होटेल रेष्टुरेन्टहरू खचाखच हुन थालेका छन् । नयाँ वर्षको उपहार भनेर यस दिन उपहारहरू पनि आदाप्रदान हुन्छन् ।
निचोड ः
माथिका सम्पूर्ण चाडपर्वहरू नेपालमा मनाइने चाडपर्वहरू हुन् सबै जातजातिको चाडपर्वमा सबै जातजातिले रमाएर भाग लिइरहेका हुन्छन्, यस देशमा । यस राष्ट्रको एउटा राम्रो अति सुन्दर पक्ष के हो भने जुन सुकै जातजाति, धर्म, भाषा भाषी किन नहोस्, यहाँ उकले अर्कोलाई श्रद्धापूर्वक हेरेका हुन्छन् , भने एकले अर्कोलाई हरेक क्षण सघाइरहेका हुन्छन् । सौह्राद्रपूर्ण वातावरण मा बाँचेका नेपालीहरूको यो उच्चकोटीको व्यवहार, आपसी मेल, मायाँ ममतालाई कसैले पनि छुरी प्हार गर्न सक्दैनन् ।
नेपालीहरू साँच्चिैन धार्मिक, संस्कृति सहिष्णुता भएका जातिहरू हुन् । नेपालीमा कठोरता भन्दा कबढी कोमलता छ, आपसी मेल छ । सद्भाव छ, न्यानोपन छ, आफ्नोपन छ । अतः के भन्न करै लाग्छ भने नेपालका हिन्दु, बौद्ध, मुश्लिम, इसाई, राई, लिम्बु जो सुकै हुन् । एक आपसमा उनीहरूबीच न्यानो मायाँ छ , आत्मीयता छ बसुधैव कुटुम्बकम् को भावना छ ।
निचोडमा के भन्न उपयुक्त ठान्छु भने नेपालः चाडपर्व, एवं धर्म, संस्कृतिको नमुना राष्ट्र वास्तवमा हो रहेछ । यस कुरोलाई म सहस्र स्वीकार गर्दछु ।
नेपालका सम्पूर्ण जनतालाई यहाँका चाडपर्व, धर्म, संस्कृति, परम्परा भाषा भाषीले झन् बढी घनिष्ट रूपमा जोड्ने प्रयास गरेको छ । आत्मीयता बढाइदिएको छ ।
साँच्ची नै नेपाल विविधतामा एकता भएको संस्कृतिले धनी देश रहेछ । यो सबैले स्वीकारेकै कुरो हो ।
सन्दर्भ सामग्री सूची ः
१. अर्याल, विष्णुप्रसाद र अन्य (२०७४), त्रि.वि. सेवा मार्गदर्शन, काठमाडौं ः ए टु जेड, पब्लिकेशन प्रा.लि ।
२. दाहाल, पेशल र खतिवडा, सोमप्रसाद, (२०५७), नेपाली समाज र संस्कृति, काठमाडौं ः एम.के पब्लिशर्स एण्ड डिष्ट्रीव्यूटर्स ।
३. हलवाई,नारायण गोविन्द (२०७४),ललितपुरको कीर्तिपताका हिजो र आज, काठमाडौं ः मुनु राजकर्णिकार ।
४. सुवेदी, मधुसुदन (२०७१), सनातन वैदिक पूजाविधि तथा वार्षिकी पर्व निर्देशिका, ललितपुर सानेपा ः श्रीमती सानुमैयाँ, वैकुण्ठ तथा दामोदर सुवेदी ।
५. पोखरेल, शोभा, (२०७२), रातो मच्छिन्द्रनाथको रथजात्रा र भोटोजात्रा, हिष्टोरिकल जर्नल, ललितपुर ः डिपार्टमेन्ट अफ हिष्ट्री एण्ड बुद्धिष्ट स्टडिज, पाटन मल्टिपल क्याम्पस पाटनढोका ।
६. पोखरेल, शोभा (२०७४), सांस्कृतिक दृष्टिले नेपालको जलसम्पदा, हिष्टोरिकल जर्नल, ललितपुर ः डिपार्टमेन्ट अफ हिष्ट्री एण्ड बुद्धिष्ट स्टडिज, पाटन मल्टिपल क्याम्पस पाटनढोका ।
धधध।लभउब िmयगलतबष्ल लभधक।अयm।

Top