बालसिर्जना संवाददाता ३ कात्तिक २०७६, आइतवार

 

बुटवलबाट भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको नमस्ते सुपा देउराली ट्राभल्स प्रालिको बस भारतको लखनऊमा दुर्घटना भएको छ ।

युपी १७ एटी ४७५५ नम्बरको भारतीय नम्बर प्लेटको बस बुटवलबाट शनिबार साँझ ५ बजे छुटेकोमा आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो ।

नमस्ते सुपा देउराली टुर एण्ड ट्राभल्स कम्पनी बुटवलका उपाध्यक्ष कृष्ण शर्माका अनुसार २ दर्जन यात्रु सामान्य घाइते भएका छन् । घाइतेको उपचार भारतकै अस्पतालमा गरिएको उपाध्यक्ष शर्माले बताए ।

गाडीभित्र नै टिकट काट्ने  गरिएको कारण बसमा के कति यात्रु थिए भन्ने विषयमा नमस्ते सुपा देउराली ट्राभल्सले एकिन नभएको जनाएको छ ।

बसमा नविन थापा, टेकबहादुर, अनिता थापा, मुमादेवी थापा, चरण विष्ट, सुनिता विष्टलगायत नाम गरेका यात्रु घाइते भएका छन् । घाइते हुनेमा ६ महिनाको बालकसमेत रहेको जनाइएको छ  । उनीहरु कसैको पनि नेपालको ठेगाना खुल्न सकेको छैन ।

बस सधै जसो बुटवलबाट छुट्ने गरेकोमा यो पटक भने  नेपाल भारत सीमा नाका बेलहियाबाट यात्रुहरु लिएर पुनः नेपालगञ्जको रुपडीया नाका  हुँदै भारत गएको थियो ।

Top