बालसिर्जना संवाददाता २५ असार २०७७, बिहीवार

 

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् ।

प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटनास्थलबाट तीन जना घाइतेलाई उद्दार गरिएको छ ।

उनीहरुलाई हेलिकोप्टरमार्फत जिल्लातर्फ ल्याउने प्रयास भइरहेको लामाले बताए । घटनामा अझै १४ जना बेपत्ता छन् ।

बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

Top