बालसिर्जना संवाददाता १४ असोज २०७७, बुधवार

 

१३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे २ करोड डोज खोप नेपाल आउने खबरले मंगलबार एकाएक बजार तात्यो । यस्तो खबर आउनुको कारण हो, रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले गरेको घोषणा ।

आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’

‘स्पुतनिक–भी’ नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो । यो भ्याक्सिन आरडीआईएफको सहयोगमा सञ्चालित गामालेया नेशनल रिसर्च सेन्टरले उत्पादन गर्दैछ ।

बजार हल्ला चलेजस्तै स्पुतनिक–भी नेपाल आउने भएको हो त ?

यो प्रश्नमा जानुपूर्व स्पुतनिक–भीबारे चर्चा गरौं ।

दोस्रो चरणको परीक्षण पुरा हुनासाथ गत साउन अन्तिम साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध रुसले पहिलो भ्याक्सिन बनाएको घोषणा गरेका थिए । त्यसयता ‘स्पुतनिक–भी’ चर्चामा छ । तर यसले अझै परीक्षणको सबै चरण पुरा गरिसकेको छैन ।

‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी अक्टोबर–नोभेम्बरमा पूरा हुने अपेक्षा गरिएको छ । यो परीक्षणबाट ‘स्पुतनिक–भी’ कोरोना भाइरसविरुद्ध प्रभावकारी भएको प्रमाणित भएका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उत्पादनका लागि स्वीकृति दिनेछ ।

उत्पादन भएपछि नेपालमा ल्याउन र प्रयोग गर्न पनि नेपाल सरकारको अनुमति लिनुपर्छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार कुनै पनि औषधि वा खोप ल्याउन आयातकर्ताले विभागमा निवेदन दिनुपर्छ ।

नेपालमा प्रयोग गर्न स्वीकृति दिएको औषधि वा भ्याक्सिन छ भने मात्रै विभागले सम्पूर्ण कागजी प्रकिया सुरु गरेर ल्याउन अनुमति दिन्छ ।

औषधि व्यवस्था विभागका प्रवक्ता केसी भन्छन्, ‘कुनै कम्पनीले भ्याक्सिन ल्याउँछु भन्दैमा ल्याउन पाइहाल्छ भन्ने छैन । त्यसको लामो प्रकिया पूरा गर्नुपर्ने हुन्छ र स्पुतनिक–भीका लागि त हामी कहाँ कुनै पनि प्रक्रिया नै सुरु भएको छैन ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले पनि स्पुतनिक–भी भ्याक्सिनबारे आफूहरूसँग अहिलेसम्म कुनै छलफल नभएको बताए ।

त्यसो भए के हो त यो सम्झौता ?

कोरोना भाइरसविरुद्ध १४० वटा खोप परीक्षणको चरणमा छन् । त्यसमध्ये ९ वटा खोप अन्तिम चरणको परीक्षणमा छन् ।

करोडौं डलर खर्च गरेका चीन, बेलायत, रुसी कम्पनीहरूबीच खोप निर्माण नहुँदै बजार ओगट्ने प्रतिस्पर्धा पनि चलिरहेको छ । सुरुमा नेपालका लागि रुसी राजदूतले राजनीतिक भेटवार्ताहरूमा नेपालले चाहे ‘स्पुतनिक–भी’ दिने बताए, ट्रायल गर्न लबिङ गरे ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरूले विश्व स्वास्थ्य संगठन लगायतले प्रश्न उठाएको भन्दै ‘स्पुतनिक–भी’ ट्रायल र प्रयोगको विपक्षमा उभिएपछि यो अगाडि बढेन ।

अहिले ट्रिनिटी फर्मास्युटिकल्स नामक एउटा निजी कम्पनीसँग सम्झौता भएको हो ।

कोरोनाको भ्याक्सिन निर्माण प्रक्रियालाई नजिकबाट नियालिरहेका एक चिकित्सकका अनुसार गामालेयासँग करोडौंको संख्यामा खोप उत्पादन गर्ने क्षमता छैन । उसले खोप उत्पादनका लागि भारतीय कम्पनीसँग सम्झौता गर्न वार्ता गरिरहेको छ । तर भोलि उत्पादन गरिने खोपले बजार पाउने सम्भावना नदेखेसम्म कुनै पनि कम्पनी करोडौं खर्च गर्न तयार हुँदैन ।

त्यही भएर आरडीआईएफले विभिन्न देशको सरकार र निजी कम्पनीसँग सम्झौता गर्ने र खोपको बजार छ भनेर देखाउन खोजेको हुनसक्ने उनले बताए ।

ट्रिनिटी फर्मास्युटिकल्ससँग सम्झौता भएको घोषणा गर्दा पनि उसले एसिया, मध्यपूर्व, दक्षिण अमेरिका र युरोपका ५० भन्दा बढी देशले ‘स्पुतनिक–भी’ खोपका लागि आवेदन दिएको दाबी गरेको छ । उसको दाबी छ, ‘मेक्सिकोसँग ३.२ करोड, ब्राजिलसँग ५ करोड, भारतसँग एक करोड र उज्बेकिस्तानसँग ३.५ करोड डोज भ्याक्सिनका लागि सम्झौता भइसकेको छ ।’

ट्रिनिटीले चाहिँ किन सम्झौता गर्‍यो त ? यो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तत्कालीन एमाले निकट स्वास्थ्य सामाग्री आपूर्तिकर्ता विशाल पण्डित संलग्न कम्पनी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी र नेतृत्वसँग राम्रो हिमचिम भएका उनलाई कोरोनाविरुद्ध खोप बन्दा पनि सबै नागरिकलाई सरकारले निःशुल्क उपलब्ध गराउँदैन भन्ने राम्रोसँग थाहा छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार अहिलेसम्म सरकारको मुड कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’मार्फत नेपालले प्राप्त गर्ने खोपबाहेक अरु आफैंले ल्याउने छैन । कोभ्याक्समार्फत नेपालले पाउने अधिकतम खोप भनेको कुल जनसंख्याको २० प्रतिशत हो । त्यो पनि पहिलो चरणमा ३ प्रतिशत र दोस्रो चरणमा १७ प्रतिशत आउनेछ ।

यस्तो बेला किनेर खोप लगाउनेहरू धेरै हुनेछन् । अहिले सम्झौता गरेपछि भोलि डब्लुएचओले अनुमति दिनासाथ खोप ल्याउन सकियो भने गजबको ब्यापार हुने भयो । बंगलादेश लगायतका कम्पनीले पनि यस्तै गरेका छन् ।

ट्रिनिटीले रुसी खोप नै रोज्नुको कारण चाहिँ अरु कम्पनीले यसरी सम्झौता गर्दा एड्भान्समा रकम मागेका छन् । थुप्रै देशका कम्पनीले बुझाएका छन् । तर ट्रिनिटीले रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डलाई रकम नलिएको स्रोतको दाबी छ । कम्पनीका निर्देशक मध्येका एक श्रीधर खनालले पनि आफूहरूले खोपका लागि आवेदन मात्र दिएको बताएका छन् ।

आरडीआईएफको वक्तव्यमा पनि ट्रिनिटीका निर्देशक किशोर अधिकारीले भनेका छन्, हामी ‘स्पुतनिक–भी’को अन्तिम चरणको परीक्षणको प्रतीक्षामा छौं । जति छिटो सरकारले यो भ्याक्सिनलाई अनुमति दिन्छ, हामी बजारमा उपलब्ध गराउँछौं ।’

Top