काठमाडौँ — नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा प्राध्यापनरत एक शिक्षक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा सोमबार बिहानैदेखि विद्यार्थीहरूले कलेजमा प्रदर्शन गरेपछि प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेको हो ।
विद्यार्थीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि प्रहरीले घटनाबारे बुझ्नका लागि आरोपित शिक्षक र आन्दोलनरत विद्यार्थीहरूलाई कार्यालयमा बोलाएर सोधपुछ गरिरहेको नयाँ बानेश्वर प्रहरी बृत्तका डीएसपी निशान्त श्रीवास्तवले इकान्तिपुरलाई जानकारी दिए। डीएसपी श्रीवास्तवका अनुसार अंग्रेजी विषय पढाउने आरोपित शिक्षक अहिले प्रहरी नियन्णमा छन् ।
यद्यपि पीडितहरूले जाहेरी दिने तयारी गरिरहेको उनले बताए । आरोपित शिक्षकले छात्राहरूलाई अश्लील म्यासेज र तस्बिर पठाउने गरेको आन्दोलित विद्यार्थीहरूले आरोप लगाउँदै आएका छन् । प्रहरी कार्यालयमा अहिले पीडित छात्राहरू समेत पुगेका छन् । डीएसपी श्रीवास्तवका अनुसार अहिले पीडित छात्राहरूले आफ्ना अभिभावकलाई बोलाएका छन् ।
‘जाहेरी दिनका लागि उक्त कलेजका छात्राहरू प्रहरी कार्यालयमा आउनुभएको छ । उहाँका अरु साथीमाथि पनि दुर्व्यवहार भएको भन्नुभएको छ । आरोपितले दुर्व्यवहारको रुपमा के कस्ता गतिविधि गरेको भन्ने विषयमा बुझिरहेका छौं । हामी मुद्दाको प्रारम्भिक चरणमै छौं,’ डीएसपी श्रीवास्तवले इकान्तिपुरसित भने ।
पीडित छात्राहरू अहिले सामूहिक रुपमा शिक्षकविरुद्ध उजुरी दिन प्रहरी कार्यालयमा पुगेका छन् । विद्यार्थीहरूले सोमबार बिहानैदेखि आरोपित शिक्षकलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए । कलेज प्रशासनले दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई निलम्बन गरी छानबिनका लागि प्रहरीलाई सघाउने जनाएको छ ।





