१७ कात्तिक, काठमाडौं । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला काठमाडौंको लाजिम्पाटस्थित रुखमा ठोक्किएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् ।

हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार उनले टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए । उनको टाउको लाजिम्पाटस्थित सडक किनारमा रहेको रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिकै हिजो साँझ मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन् ।

बागमती प्रदेश–०२–०१६ प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुरको गाईघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र २ वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो । घाइतेहरूको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Top