२५ साउन, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।
सीआईबीले भन्यो : सुनिल शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली
सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन चार्ली फोक्टर अन्तर्गत सुनिल शर्मा पक्राउ परेका हुन् । ‘पुरानो केसहरु हेरेर अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरता हो, सुनिल शर्माको हकमा अहिले पुष्टि भएपछि छानबिनको दायरामा ल्याएका हौं’ उनले भनिन् ।
सीआईबीले शर्मा पक्राउ परेकोबारे संघीय संसद सचिवालयलाई लेखेको पत्रमा उनको आईएस्सीको प्रमाणपत्रलाई राष्ट्रिय परीक्षा बोर्डले पुष्टि नभएको उल्लेख गरेको बताएको छ ।
सीआईबीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली हो । उनले भारतको कलेजबाट ल्याएको प्रमाणपत्र नक्कली भएको प्रहरीको दाबी छ । ‘सम्बन्धित कलेजमा सोध्दा हाम्रो रेकर्डमा छैन भन्ने जानकारी आएको छ’ सीआईबी स्रोतले भन्यो ।
सांसद् सुनिल शर्मासहित पक्राउ पर्नेको संख्या ५ पुग्यो
नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या ५ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा सांसद् सुनिल शर्मासहित पाँच जना पक्राउ परेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले बताइन् ।
पक्राउ पर्ने अन्यमा पिपरा–८, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पताल मा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह छन् । शाहलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो भने यादवलाई रौतहटबाट पक्राउ गरिएको हो ।
सीआईबीले नक्कली शैक्षिक प्रमाण पत्र भएका चिकित्सकहरुविरुद्ध बिहीबार दिउँसो उपत्यकासहित विभिन्न जिल्लामा एकसाथ अपरेशन चलाएको थियो । त्यहीक्रममा पाँच जना पक्राउ परेको एआईजी बज्राचार्यले बताइन् । पक्राउ परेकाहरुलाई ब्यूरोले लाजिम्पाटस्थित नयाँ कार्यालयमा राखेको छ ।
अपराह्न शर्मालाई गोल्फुटारस्थित घरबाट पक्राउ गरेको थियो । उनले आईएस्सीको शैक्षिक प्रमाण पत्र नक्कली लिएर थप अध्ययन गरेको सीआईबीले जनाएको छ ।
अनलाइनखबरबाट