स्याङजाको वालिङमा स्थापित भेषजराज साहित्य प्रतिष्ठानले साहित्यकार मित्रलाल पंज्ञानी र चिन्तु गिरीलाई पुरस्कार तथा सम्मान अर्पण गरेको छ । यही २०७६ कार्तिक १६ गते शनिबार वालिङ नगरपालिकाको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय प्रेक्षितले भेषजराज शर्माले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गर्दै बल्लभमणि दाहाल, चूडामणि बन्धु, तारानाथ शर्मा, बालकृष्ण पोखरेल जस्ता उहाँका समकक्षीहरु राष्ट्रिय स्तरमा चिनिदा उहाँ पछाडि पर्नु विडम्बना रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. हेमनाथ पौडेलले नेपाली कविताको विकासक्रमको चर्चा गर्दै भेषजराज शर्माले नेपाली प्रगतिवादी साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्नुभयो । वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले भेषजराज अर्याल एक कुशल साहित्यकार भएकाले उहाँका सिर्जनाको संरक्षण गर्नु हाम्रो दायित्व भएको कुरा व्यक्त गर्दै यस कार्यका लागि नगरपालिकाले प्रतिष्ठानसँग आगामी दिनमा पनि सहकार्य गर्दै जाने कुरा बताउनु भयो । पूर्वमन्त्री एवम् साहित्यकार त्रिलोचन ढकालले प्रतिष्ठानले पुरस्कृत र सम्मानित गरेका दुवै स्रष्टा योग्य रहेको चर्चा गर्दै प्रतिष्ठानका गतिविधिहरूको निरन्तरताको कामना गर्नुभयो । अतिथि प्रा.डा. जगदीशचन्द्र भण्डारीले पुरस्कृत र सम्मानित दुवै व्यक्तित्वले नेपाली साहित्यमा छन्दोबद्ध शैलीमा प्रगतिशील र प्रगतिवादीधारा समातेर विशिष्ट योगदान दिएको बताउनु भयो । पुरस्कृत व्यक्ति मित्रलाल पंज्ञानी र सम्मानित व्यक्ति चिन्तु गिरी, इलाका प्रशासन वालिङका प्रमुख दामोदर शर्मा, साहित्यकार देवीप्रसाद वनवासी, साहित्यकार देवेन्द्र लम्साल, सूर्यप्रसाद डुम्रे, पत्रकारहरू तोलाकान्त बगाले, राधाकृष्ण डुम्रे, जोगराज पाठक लगायतले रचनासहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले संचालन गर्नुभएको सो कार्यक्रममा २२ जनाभन्दा बढी साहित्यकारहरूले आफ्ना रचना वाचन गरेका थिए ।






