३ असार, काठमाडौं । विद्युत् नियमन आयोगले घरधनीहरूलाई भाडामा बस्नेसँग खपतका आधारमा तय भएको बिलको अधिकतम दरभन्दा बढी महसुल नउठाउने व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । नयाँ महसुल जारी गर्दै आयोगले भाडामा बस्नेसँग मनलाग्दी तबरले बिजुलीको शुल्क नअसुल्ने गरी निर्देशन दिन भनेको छ।
‘घरबाहलमा बस्नेलाई मिटरको खपतको आधारमा बिल हुँदा तय भएको अधिकतम दरभन्दा बढी महसुल उठाउन नपाउने व्यवस्था गर्न निर्देशन गरिन्छ,’ आयोगले आफ्नो निर्देशनमा भनेको छ ।
साथै, अयोगले प्राधिकरणलाई बहालवालाले नै आफ्नो मिटर र सबमिटर लिन सक्ने व्यवस्था गर्ने सम्बन्धमा एक अध्ययन गरी अर्को महसुल निर्धारण गर्नुअगाडि नै पेश गर्न भनेको छ । अर्कोपटक घरबहालामा बस्नेसँग असुल हुने महसुलको सम्बन्धमा आयोगले छुट्टै व्यवस्था गर्ने संकेत गरेको छ ।
अहिले अधिकांश घरबेटीहरूले विद्युत् महसुल १५ रुपैयाँ प्रतियुनिटसम्म लिने गरेका छन् । जबकि प्राधिकरणको नयाँ महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ । यसरी घरबेटीले महिनैपिच्छे बढी पैसा असुलिरहँदा पनि बहालवालले कुनै आपत्ति जनाउन सक्दैनन् ।
सामान्यतया घरबेटीले प्रत्येक फ्ल्याटमा सबमिटर राखेर त्यसमा उठेको अंकका आधारमा भाडावालसँग महसुल लिन्छन् । तर त्यसो गर्दा अधिकांशले १५ रुपैयाँ प्रतियुनिटका दरले हिसाब गर्ने गरेका छन् ।
यही प्रवृत्तिलाई लिएर विद्युत् प्राधिकरणले घरबेटीहरूलाई डेरावालासँग बिजुलीको व्यापार नगर्न चेतावनी दिएको थियो ।
घरबेटीहरूले डेरावालसँग चर्को विद्युत् महसुल उठाउने प्रवृत्ति काठमाडौंमा मात्र नभएर देशभर नै रहेको प्राधिकरणको भनाइ छ । कतिपय घरेबटीले त उठेको युनिट र महसुलको हिसाब नै डेरावाललाई देखाउँदैनन् । त्यसैले घरबेटीले जति माग्यो उति दिनुपर्ने बाध्यतामा धेरै डेरावालहरू छन् ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणलाई तिर्नेभन्दा बढी महसुल घरबेटीले उठाउनु गैरकानुनी हो ।
कतिपय घरबेटीले पसललाई दिने बिजुलीमा प्रतियुनिट ४० रुपैयाँसम्म असुलेको भेटिएको उनले जानकारी दिए । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने भन्छन्, ‘कानुनी हिसाबले यो एक किसिमको ठगी नै हो, मानवीय हिसाबले पनि आफूले तिरेकोभन्दा बढी महसुल डेरामा बस्नेसँग उठाउनु हुँदैन ।’
अनलाइनखबरबाट






