२२ श्रावण, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले वरिष्ठ इन्जिनियर कवि राजदास श्रेष्ठद्वारा लिखित ‘गुम्सिएका कुरा’ कवितासङ्ग्रहको विमोचन गर्नुभएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्य बालसिर्जना मासिकका प्रधान सम्पादक दीनदयाल रेग्मीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सत्यमोहन जोशीको निवासमा रहेको लोकसाहित्य भवनको सभाकक्षमा आयोजन गरिएको थियो । वरिष्ठ साहित्यकार, संस्कृतिविद सत्यमोहन जोशीले हरेक व्यक्तिभित्र काव्य चेतना रहेको हुन्छ र त्यसलाई प्रकटीकरण गर्ने व्यक्ति कवि हो भन्नुभयो । संयुक्त राष्ट्रसंघको वरिष्ठ इन्जिनियर भएर विश्वका धेरै मुलुकमा काम गरेको अनुभव र राष्ट्रियताले परिपूर्ण भावलाई कवितामार्फत राजदास श्रेष्ठले अभिव्यक्त गरेको बताउनु भयो । कार्यक्रमका सभापति दीनदयाल रेमीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सान्निध्य पाउनु सबैका लागि अहोभाग्य हो, उहाँले देखाएको मार्गमा हिँड्नका लागि हामीले कुनै कसर बाँकी राख्नु हुँदैन भन्दै सत्यमोहन जोशी यो युगका महान तपस्वी एवं सिद्ध ऋषि भएको बताउनु भयो । कार्यक्रममा वरिष्ठ वास्तु एवं ज्योतिषविद् डा. उत्तम उपाध्याय न्यौपाने, पाटन संयुक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति नेउपाने, साहित्यकार मथुरा श्रेष्ठ, रामेश्वर श्रेष्ठलगायतले कवितासङ्ग्रह, कवि राजदास श्रेष्ठका बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो । वरिष्ठ लेखक, सांस्कृतिक अभियन्ता एवं समाजसेवी नेमसिंह नकर्मीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेवाः प्रेस्टिजका कार्यकारी सम्पादक नरेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।






