‍एजेन्सी ३२ जेठ २०७७, आइतवार

 

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ । अफ्रिदीले शनिबार आफू संक्रमित भएको पुष्टि गरेका हुन् ।

‘म गत बिहीबारदेखि राम्रो महसुस गरिरहेको थिइनँ । मेरो शरीरले खराब प्रतिक्रिया देखाएको थियो र मैले परीक्षण गरेँ । दुर्भाग्य ममा कोरोना पोजेटिभ देखियो,’ उनले ट्वीटरमा लेखेका छन् ।

अफ्रिदी कोभिड–१९ बाट संक्रमित हुने क्रिकेट क्षेत्रकै पहिलो चर्चित सेलिब्रेटी हुन् । १९९६ देखि २०१८ सम्म उनले पाकिस्तानी क्रिकेट टोलीका लागि खेलेका थिए । आक्रामक ब्याट्सम्यान अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एकदिवसीय र ९९ वटा टी–२०  अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

त्यसमध्ये उनले टेस्टमा १७ सय १६ रनसहित ४८ विकेट, एकदिवसीयमा ८ हजार ०६४ रनसहित ३ सय ९५ विकेट र टी–२० मा १४ सय १६ अन्तर्राष्ट्रिय रनसहित ९८ विकेट लिएका छन् । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२ हजार नाघिसकेको छ र २५ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

एजेन्सि

Top