बालसिर्जना संवाददाता १८ भदौ २०७७, बिहीवार

 

१८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाबारे प्रधानमन्त्री ओलीले केही नभनेको उनले बताए ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा  सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो ।

सचिवालयको बिहीबारको बैठकमा नेकपाको विवाद समाधानका लागि बनेको कार्यदलकाे प्रतिवेदनमाथि पनि छलफल भएको थियो । ठाेस कार्ययाेजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएकाे नेताहरुले बताएाक छन् ।

अब के हुन्छ ?

अर्थमन्त्री डा. खतिवडालाई छाडेर वामदेव गौतमलाई रोज्नु प्रधानमन्त्री केपी शर्मा ओलीका लागि बाध्यात्मक कदम हो । अहिले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको सिटमा वामदेवलाई मनोनयन गर्ने हो भने अबको दुई दिनपछि अर्थमन्त्री डा. युवराज खतिवडा स्वतः पदमुक्त हुनेछन् । खतिवडाको बहिगर्मनसँगै अर्थमन्त्रालय र सञ्चार मन्त्रालय खाली हुनेछ ।

प्रधानमन्त्री ओलीले अन्य केही मन्त्रालयहरु फुटाएर नयाँ पदहरु सिर्जना गर्ने र मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिरहेका छन् ।

नेकपा उपाध्यक्ष वामदेवले राष्ट्रियसभाको सदस्य बनेपछि उपप्रधानमन्त्री र अर्थमन्त्री दाबी गर्ने संकेत यसअघि नै प्रधानमन्त्री ओलीलाई दिइसकेका छन् । तर, प्रधानमन्त्री ओली गौतमलाई अर्थ मन्त्रालयको साँचो जिम्मा लगाउने पक्षमा नरहेको नेकपा नेताहरु बताउँछन् ।

प्रधानमन्त्रीले भरोसायोग्य सारथी ठानेका अर्थमन्त्री खतिवडाको बहिर्गमनसँगै अब ओली सरकारको भावी अर्थमन्त्री को बन्ला भन्ने जोडघटाऊ नेकपाभित्र हुन थाल्ने छ । अहिलेसम्म अर्थमन्त्रीको दाबेदारमा वामदेव गौतम, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको चर्चा छ ।

Top