नेपालको छिमेकी राष्ट्र भारत सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भएको संसारकै दोस्रो मुलुक बनेको छ । भारत सरकारले भूमिगत रेल सेवा सुरू गरेकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिललाई उछिन्दै भारत धेरै संक्रमित भएको दोस्रो देशमा भएको हो । अब भारतभन्दा अगाडि अमेरिकामात्र छ ।
नेपालको पछिल्लो रेकर्ड अनुसार कोरोना संक्रमित संख्या ४७२३६ पुगेको छ भने मृत्यु हुनेको संख्या ३०० नाघेको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार १६५५९ जना संक्रमित उपचारको क्रममा छन् ।
हालसम्म अमेरिकामा संक्रमितको संख्या ६२८२८२३ मृत्यु हुनेको संख्या १८८९७९ र निको हुनेको संख्या २३१५९९५ रहेको छ । यसै गरी दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ४२०४६१३ मृत्यु हुनेको संख्या ७१६४२ र निको हुनेको संख्या ३२५०४२९ छ भने आज मात्रै दोस्रो स्थानबाट तेस्रो स्थानमा पुगेको ब्राजिलमा संक्रमितको संख्या ४१३७५२१ मृत्यु हुनेको संख्या १२६६५० र निको हुनेको संख्या ३५२२१५५ रहेको छ ।
नरेन्द्र मोदी सरकारले निरन्तर ओह्रालो लागिरहेको अर्थतन्त्रलाई चलायमान बनाउन यसअघि लगाएका सबै प्रतिबन्ध खुलाउँदै गएकाले भारतमा कोरोनाको संक्रमण घट्ने कुनै संकेत देखिएको छैन । यसको मारमा भारतमा रोजगारीमा रहेका लाखौं नेपाली परेका छन् ।
संसारकै दोस्रो बढी जनसंख्या भएको भारतमा सोमबारमात्रै ९० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतमा अहिले संक्रमितको संख्या ४२ लाख नाघेको छ । जुन ब्राजिलभन्दा ६८ हजार बढी हो । यद्यपी ब्राजिलको नयाँ संक्रमितको संख्या केही घन्टापछि मात्र अपडेट हुनेछ ।
अहिलेकै दरमा संक्रमण बढ्दै जाने हो भने भारतले अर्को महिना अमेरिकालाई पनि उछिन्न सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् । अमेरिकामा अहिले ६४ लाख ६४ हजार बढी संक्रमित छन् । अमेरिकामा पछिल्लो समय संक्रमण केही घटेको छ । भारतमा भने अगस्ट महिनाभरि निरन्तर उकालो लागेको संक्रमणको ग्राफ अहिले पनि घटेको छैन ।
भारतमा सुरूमा नयाँदिल्ली र मुम्बईजस्ता ठूला सहरबाट संक्रमण फैलिन सुरू भएको थियो । अहिले भने कोरोनाको संक्रमण धेरैजसो ग्रामीण क्षेत्रमा पनि फैलिइसकेको छ । यसले के देखाउँछ भने तीनतिर भारतसँग खुल्ला सिमाना रहेको नेपालका लागि समेत यो खतराको सूचक हुन सक्छ । अधिकांश खाद्य पदार्थदेखि दैनिक उपभोगका हरेक सामग्रीको आयात भारतबाटै हुने र त्यहाँ संक्रमित व्यक्तिहरुको वपर्वाह आवतजावतले समस्या अझै जटिल नहोला भन्न सकिन्न ।
निषेधाज्ञा कडा पार्ने बैठकहरु भैरहँदा काठमाडौं प्रवेश गर्ने मुख्य पाँच नाकाबाट अनेक बहानामा सर्वसाधारण काठमाडौ प्रवेश गर्ने क्रम बढिरहेको छ । एम्बुलेन्सको दुरुपयोग, प्रेसपासको दुरुपयोग, सरकारी संयन्त्रका नाममा सरकारी सवारी साधनको दुरुपयोगको रोकथाम घटेको छैन बढेको छ । केही पैसा खर्च गरेपछि जसरी पनि काठमाडौं जान पाइन्छ भन्ने धारणा सबैमा छ भने देशको सिमाको के कुरा भो र ?

Top