रिलिजअघि ‘हाइप’ बटुलेको फिल्म पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेकाे स्वीकार गर्नु पर्छ । तर गम्भीर फिल्मप्रति दर्शकको आकर्षण नहुनु भनेकाे गम्भीर विषय हाे ।

‘पानीफोटो’अघि रिलिज भएका उस्तै जनराका दुई फिल्म चिसो मान्छे र दोखले पनि आफूलाई सफल तुल्याउन सकेनन् । ‘पानीफोटो’को अंकगणितीय असफलताले प्रदर्शनको तयारीमा रहेका ‘प्रकाश’ र ‘राधा’तिर पनि प्रश्न सोझिएको छ ।

‘चिसो मान्छे’, ‘पानीफोटो’ र ‘दोख’को असफलताको अर्थ के हो ? यसले राधा र प्रकाशलाई कस्तो सन्देश दिन्छ ? समीक्षक तथा निर्देशक मनोज पण्डित भन्छन्, ‘अब गम्भीर होइन, विशेष फिल्मको जरुरी छ । दर्शकले विशेष फिल्म हेर्न चाहेका छन् । अब यस्तोखाले क्राफ्ट बनाउनुको विकल्प छैन ।’

विशेष भन्नुको अर्थ न्यारेटिभ र यसको प्राविधिक पक्षमा कुनै विशेष हुनुपर्यो । ‘जस्तै कबड्डी चल्नु पछाडि पात्र र संवाद विशेष थिए । काजीको बिहे कहिले हुन्छ भन्ने सरल प्रश्नले मान्छेलाई जोडेको थियो । तर गम्भीर भनिएका फिल्ममा कुनै विशेष चीज थिएन,’ उनी भन्छन् । उनले भनेकाे सबै कुरा हुनुपर्छ भन्ने हाेइन ।

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ आफ्नो फिल्म हिट हुनु पछाडि पात्र र संवाद नै मुख्य पक्ष रहेको बताउँछन् । ‘पात्र, संवाद र स्थानीयताले दर्शकलाई तानेको हुनुपर्छ । दर्शक इन्टरटेन हुन चाहन्छन्,’ गुरुङको विश्लेषण छ । इन्टरटेनका लागि मात्रै फिल्म बनाउने हाे र ?

‘हामीले यस्तो कथा नभने हाम्रो कथा कसले आएर भन्ने त ?’ पानीफोटो निर्देशक खगेन्द्र लामिछानेको प्रश्न छ, ‘हाम्रो कथा हामीले नै भन्नुपर्छ । हाम्रो कथा कोही आएर भनिंदैन,’ बक्स अफिस नतिजा मात्र सबथोक भएर कलात्मक पक्ष पनि महत्वपूर्ण हुने खगेन्द्र बताउँछन् ।

के दर्शकले गम्भीर नभएर विशेष फिल्म नै चाहेका हुन् त ? हाेइन । गम्भीर विषयमा बनेका फिल्मलाइ प्राेत्साहन गर्न जरुरी छ ।

 

Top