बालसिर्जना संवाददाता ५ भदौ २०७९, आइतवार

 

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो ।

भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो ।

शनिबार साँझ ९ः३० बजे निधन भएको कांग्रेस संसदीय दलले वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

उनको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

क्यान्सर बिरामी गिरिमा निमोनिया देखिएपछि स्वास्थ्य अवस्था शुक्रबार नै जटिल बनिसकेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल नै पुगेर गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् भने शुभेच्छुकहरुले स्वास्थ्य लाभको कामना गरिरहेका थिए । शनिबार उनको परिवारले निमोनियाका कारण धेरै अंगहरु फेल भइरहेको जानकारी दिंदै शुभेच्छुकहरुलाई धन्यवाद दियो ।

राति अबेर गिरि आवद्ध दल नेपाली कांग्रेसले निधन भएको पुष्टि सहित अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम सार्वजनिक गरेको छ । ‘हामीले एक व्यक्ति होइन, सिंगो विश्वविद्यालय गुमायौंं’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, ‘चिन्तनको धरोहर गुमायौं ।’

गिरि नेपाली कांग्रेसका नेता एवम् सांसद भन्दा बढी आमस्वीकार्य चिन्तकका रुपमा स्थापित थिए । त्यसैले उनको निधनअघि नै अनेक क्षेत्रका दिग्गज व्यक्तिहरुले स्वास्थ्य लाभसहित उनको योगदान सम्झन थालेका थिए । धेरैले सामाजिक सञ्जाल र कतिपयले आमसञ्चार माध्यममार्फत् स्वास्थ्य लाभको कामनामा लेख नै प्रकाशित गरे ।

तर ७५ वर्षे गिरिले मृत्युलाई जित्न सकेनन् । ‘कर्मले, लेखनले, विचारले, चिन्तनले, समयले र परिश्रमले अहिलेको समाजवादी आन्दोलनका सम्भवतः सबैभन्दा अग्लो व्यक्ति हुन्, प्रदीप गिरि’, मार्क्सवादी अध्येता एवम् एमाले नेता घनश्याम भूसाल भन्छन् । बौद्धिकता, राजनीतिक सक्रियता र प्रतिबद्धतालाई एकैठाउँमा राखेर हेर्दा प्रदीप गिरि जत्तिको कोही मान्छे अब बाँकी नरहेको उनी बताउँछन् । ‘प्रदीप गिरिको मृत्यु समाजवादी आन्दोलनका निम्ति ठूलो क्षति हो’ भूसाल भन्छन् ।

उनीप्रति देखिएको असाधारण प्रेममा गिरिको व्यक्तित्व झल्किएको कांग्रेस महामन्त्री शर्मा बताउँछन् । ‘सत्ताप्रति कहिल्यै मोह नराख्ने, मनमौजी र समाजवादी आन्दोलनप्रति प्रतिबद्ध व्यक्तित्व स्थापित गर्नुभयो’ शर्मा भन्छन्, ‘कसैले सानिध्य धेरै र कसैले थोरै पायौं होला । तर हरेकले अथक योद्धा र महान् गुरु गुमायौं ।’

गिरिलाई अनेक तप्काबाट उच्च श्रद्धाका साथ सम्झनुमा उनले बाँचेको जिन्दगी र बाँडेको चेतना नै हो । सिराहाको एउटा सम्पन्न परिवारमा २००४ मा जन्मिएका गिरि आजीवन समाजवादी निष्ठामा अडिग रहे । सम्पत्ति, शक्तिको प्रलोभन र भयबाट टाढा रहेर बोले, लेखे र चिन्तन गरे ।

कांग्रेसमा सक्रियता र सहभागिता भए पनि कम्युनिष्टहरुमा पनि उत्तिकै उनी सुनिने व्यक्ति रहे ।

यदि शक्तिको आशक्ति हुँदो त, वैभवको जीन्दगी जिउने अवसर अनेकपटक गिरिको जिन्दगीमा आयो । उनका दुई काका प्रधानमन्त्री र गृहमन्त्री जस्तो शक्तिशाली व्यक्ति बने । पञ्चायतमा तुलसी गिरी प्रधानमन्त्री र रुद्र गिरी गृहमन्त्री भए । २०१५ सालमै तुलसी र रुद्र सांसद थिए ।

तर काकाहरू हिंडेको बाटो उनले हिंडेनन् । पिता मित्रलालले रोजेको राजनीति, कांग्रेस र समाजवादको मार्गमा आजीवन रहे । राजनीतिक परिवारमा हुर्किएकाले गिरि त्यही क्षेत्रमा रहिरहे ।

रहरले नभएर घटनाक्रमले राजनीतिमा होमिन पुगेको प्रष्टोक्ति बाँचुञ्जेल दिएका गिरि एसएलसीपछि काठमाडौं आए पनि उच्च शिक्षा भारतबाट लिएका थिए । भारतमै समाजवादी नेताहरुलाई अध्ययन गरे, संगत गरे । २०२४ सालमै छात्र संघका उपाध्यक्ष निर्वाचित गिरिले जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरे ।

नेपाल फर्किएपछि २०२५ र २०४२ सालमा गरी चार वर्ष जेल जीवन बिताए । त्यसैबेला दरबारले राजकीय अवसरको प्रस्ताव गरे । तर गिरिलाई आफू हिंडेको आन्दोलन प्रिय थियो, सामाजिक जागरण प्यारो लाग्यो । प्रतिबन्धित पत्रिका तरुण र प्रवाह मार्फत् कांग्रेसप्रति आकर्षण बढाए । तर कांग्रेसको कार्यकारी भूमिका उनको रुचिमा थिएन । जसरी अध्ययनको सीमाक्षेत्र निर्धारण गरेका थिएनन्, उसैगरी निश्चित भूमिकामा सीमित हुने जाँगर थिएन ।

बहुदल आएपछि गिरि पटक–पटक सांसद भए, कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भए । २०५१ मा सिराहा–५ बाट निर्वाचित र २०५६ मा पराजित भए । २०६३ सालको पुनर्स्थापित संसदमा मनोनीत भए भने २०६४ र ०७० मा समानुपातिक सांसद भए । २०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धन तोडेर सिराहा–१ बाट सांसद निर्वाचित भए । तर न कहिल्यै मन्त्री बने, न त्यसप्रति कुनै रुचि राखे ।

पार्टी संस्थापकहरुसँगको सम्बन्ध/संगत, चेतनाको उच्चता र अविचलित राजनीतिक सक्रियताका कारण पर्याप्त योग्यता भएर पनि कांग्रेसको ठूलो भूमिकामा उनी रहेनन् । २०५६ को पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गिरि गएको मंसिरमा सम्पन्न १४औं महाधिवेशनसम्म उक्त भूमिकामा रहे । क्यान्सरको उपचारार्थ अस्पतालमा रहेकाले १४औं महाधिवेशनमा भने सहभागी भएनन् ।

कांग्रेसमा सक्रियता र सहभागिता भए पनि कम्युनिष्टहरुमा पनि उत्तिकै उनी सुनिने व्यक्ति रहे । ‘समाजवादी चिन्तनमा पनि प्रदीप गिरि मार्क्सवादी धाराका हुन् । उनले जुन कुरा धेरैपटक कबुल गरेका छन्’ घनश्याम भूसाल भन्छन्, ‘प्रदीप गिरिको मृत्यु त्यसकारण हाम्रो खेमाका लागि उत्तिकै ठूलो क्षति हो ।’

 

Top