१२ भदौ, काठमाडौं । नेपालले केन्यालाई तेस्रो टी२० आईमा ४ विकेटले पराजित गरेको छ । यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ । यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार हुनेछ ।
केन्याले दिएको १५६ रनको लक्ष्य नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर १६० रन बनाउँदै पूरा गरेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै टी२० आईमा डेब्यु गरेका अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन जोडे । आदिल आलमले १६ रन बनाए । लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको थियो । डेब्युटान्ट अर्जुन साउद र पवन सर्फले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे । तर लगातार तेस्रो खेल खेलेका पवन सर्राफले ठूलो स्कोर बनाउन सकेनन । उनी १२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाएर आउट भए ।
नियमित ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा खेल्दै डेब्यु गरेका युवा विकेटकिपर ब्याटर अर्जुन साउदले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४२ रनको साझेदारी गरे । अगाढि बढेर खेल्न खोज्दा उनी ११औ ओभरमा बोल्ड भए । अर्जुनले ३१ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ३५ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले ५ बलमा ६ रन मात्र जोडे । यसअघिका दुई खेलमा पाँचौ नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र लामो समयपछि चौथो स्थानमा पर्किएपनि लामो समय क्रिजमा टिक्न सकेनन् । यसअघि चौथो नम्बरमा ब्याटिङ गरेका रोहित कुमार पौडेलले भने आज पाँचौ नम्बरमा ब्याटिङ गरे ।
ज्ञानेन्द्र र रोहितले चौथो विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए । रोहितले १८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २९ रन बनाए । अर्धशतकबाट चार रनले चुकेका ज्ञानेन्द्रले ४१ लब खेल्दै ४ चौका र १ छक्का मद्दतमा ४६ रन बनाए । आक्रमक ब्याटिङ गरेका आदिल आलमले ७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाए । ठूलो सट हान्ने चक्करमा आदिल आउट भएका थिए । आरिफ शेखले अविजित ४ रन बनाए ।






