नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसलाइ धम्क्याएका छन् । सधैँ अाफ्नाे हैसियत भन्दा माथिकाे कुरा गर्ने प्रचण्डले कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् । कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा ६५ सिटभन्दा बढी दिन नसकिने भनिरहेका बेला दाहालले त्यस्तो परिस्थितिमा वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् ।
माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताए थिए । कांग्रेसभित्र विभिन्न विचार आइरहेको कुरा उल्लेख गर्दै दाहालले त्यस्तो परिस्थितिमा के गर्ने भन्ने विकल्पबारे पनि सोच्नुपर्ने बताएको केन्द्रीय सदस्य अनिल शर्माले उल्लेख गरे ।
‘अध्यक्ष प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अहिलेको पाँच दलीय सत्तारुढ गठबन्धन एकढिक्का भएर जान्छ भन्नुभएको थियो,’ उनले थपे, ‘कांग्रेसले मानेन, गठबन्धनमा शक्तिको सही पहिचान गर्न मन गरेन भने हामीले वाम गठबन्धनलाई अगाडि बढाएर राम्रै परिणाम ल्याउन सक्छौं भन्नुभएको थियो । सत्तारुढ गठबन्धन भित्रका वामपन्थी दलहरू मिल्दा पनि हाम्रो नराम्रो परिणाम आउँदैन भन्ने उहाँको कुरा थियो ।’ सत्तारुढ गठबन्धन एकढिक्का भएर जानेमा दाहालले विश्वास राखेको पनि शर्माले जानकारी दिए ।
माओवादी पोलिटब्युरो सदस्य युवराज चौलागाईंले स्थानीय तहमा जस्तो समस्याबीच निर्वाचनमा जान नसकिने धारणा अध्यक्ष दाहालले राखेको बताए । उनले भने, ‘नेपाली कांग्रेसले शक्तिको पहिचान, वर्तमान राजनीतिक परिस्थितिलाई ठीकसँग बुझ्न सकेन, स्थानीय चुनावमा देखिएका समस्या समाधान गरेर तालमेललाई ठीकसँग लान तयार भएन भने कांग्रेस र एमाले बाहेकको शक्तिहरूको गठबन्धन हुन सक्छ भन्ने अध्यक्षको धारणा थियो ।’
माओवादी केन्द्रीय सदस्य रामनारायण बिडारीले भने प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गतेको चुनावपछि कम्युनिस्ट पार्टीमध्ये माओवादी सबैभन्दा ठूलो हुने विश्वास अध्यक्ष दाहालले राखेको बताए । कांग्रेस, माओवादी र अन्य राजनीतिक दलहरूका नेताहरूलाई जति नै असन्तुष्टि भए पनि सत्तारुढ गठबन्धन एकढिक्का भएर मंसिर ४ को निर्वाचनमा जाने दाहालको भनाइ रहेको बिडारीले उल्लेख गरे ।





