बालसिर्जना संवाददाता ३१ साउन २०७६, शुक्रवार

 

नयाँ नेपाल समाज केन्द्रको स्थापना वि.सं. २०६५ सालमा स्थापना भएको हो । काठमाडौंको बानेश्वरमा रहेको यो संस्थाले शुरुका दिनमा असाध्यै दुःख कष्ट भोग्नु परेको थियो । संस्थापक केदारनाथ गुरुङ भन्नु हुन्छ –‘‘शुरुमा अत्यन्तै गाह्रो थियो । बानेश्वरको घना वस्तीको बीचमा हामीले शुरुवात गरेका हौं । समुदायसँग सहकार्य गरी विस्तारै विस्तारै अगाडि बढ्दै गएको हो ।’’ यो संस्थाको प्रगति र उन्नति हुनु भनेको साहारा विहिन बालबालिकाको उन्नति हुनु हो, उनीहरूले सुख प्राप्त गर्नु हो । संस्थाका सबै व्यक्तिहरू यही संस्थाको उन्नतिमा लागेका छन् ।
६० जना विद्यार्थी छन् । दशैं तिहार, चाडपर्वमा सत्यसाइ केन्द्रले एकएक जोर नयाँ कपडा प्राप्त दिने गरेको छ । नेपालका धेरै ठाउँका बालबालिकाहरू यहाँ रहेका छन् । कक्षा नर्सरी देखि कक्षा १२ सम्मका बालबालिका यहाँ छन् । विभिन्न कलेजसँग सहयोग लिने, स्कूलहरूसँग सहयोग, पनि गरिएको छ ।
यस केन्द्रमा मासिक ३० बोरा चामल खर्च हुन्छ । त्यही अनुसार अरु खर्च लाग्छ । चामल भने २० बोरा जति विभिन्न संस्था र व्यक्तिले निरन्तर रुपमा प्रदान गर्दै आएका छन् । आनन्दी वेन पार्टी प्यालेस, प्रयाग कुञ्ज स्कूल, सत्य साई स्कूल, योग शिविरले मासिक ३–४ बोरा चामल दिने गरेका छन्, मैत्रेयी च्यारिटेवल ट्रष्टबाट ४ बोरा, अनुपम फुड ल्याण्डबाट २ बोरा आउँछ । यसै गरी व्यक्तिगत रुपमा पनि अलि अलि आउँछ । कसैको जन्मदिनको दिन, कुनै घरमा पितृकार्य भएको बेला पनि एक बोरा चामल पनि प्राप्त हुन्छ । यसका लागि केन्द्रले विभिन्न संघसंस्थाहरूमा सहयोगको लागि याचना गर्दछ । त्यसबाहेक पनि सागपात, लत्ता कपडा, किताब कपी आदि सहयोग प्राप्त हुन्छ । कुमारी बैंकले वर्षमा एक पटक सबैलाई ट्रयाक सुट किनिदिने गरेको छ । कसैले झोला किनिदिनु हुन्छ । कसैसँग किताबको लागि अनुरोध गर्ने गरिएको छ ।
गणेश दुलाल यस संस्थाका संरक्षक हुनुहुन्छ । जननिर्वाचित माननीय हुनुहुन्छ । उहाँले यस केन्द्रको लागि धेरै योगदान दिनु भएको छ । यस्तै अन्य संस्थालाई पनि उहाँले सहयोग गर्नुभएको छ तर यहाँ उहाँको तन, मन र धन सबै समर्पित छ । दशैंमा बालबालिकालाई रमाइलो होस् भनेर सिङ्गै खशी किनेर ल्याइदिनु हुन्छ । तिहारमा उहाँले एउटा समूह ल्याएर यहाँका सबै बालबालिकालाई रमाइलो गराउनु हुन्छ । विभिन्न समितिबाट उहाँले सहयोग जुटाइदिनु भएको छ । रत्नराज्य स्कूलमा गणेश दुलाल जीले यहाँका विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाउनु भएको छ । संस्थामा सहयोग गर्न चाहनेहरूका लागि उहाँ मार्गदर्शक बन्नु भएको छ ।
भोलिका दिनमा यो संस्था कसरी चलाउनु हुन्छ, यसैलाई निरन्तरता दिनुहुन्छ कि के हुन्छ ? भन्ने प्रश्नमा संस्थापक केदारनाथ गुरुङ भन्नु हुन्छ –‘‘यो बिग्रिएला, त्यो बिग्रिएला, यसलाई माया दिन्छु खुशी पार्छु, उसलाई माया दिन्छु खुशी पार्छु भन्दाभन्दै जिन्दगीमा यति धेरै आनन्द प्राप्त हुँदो रहेछ, यो भन्दा धेरै खुशी हुन कहाँ जाने ? यिनै बालबालिकाको खुशीमा आफ्नो समग्र जीवन समर्पित गरेको छु । मेरो सर्वस्व र सम्पूर्ण जीवन यस्तै बालबालिकाको सेवामा बित्नेछ ।’’
१२ कक्षा पढ्दासम्म यिनीहरूलाई कुनै कुराको अभाव महशुस हुन नदिई सेवा गर्ने, आफ्नै खुट्टामा उभिन सक्ने बनाउने र १२ कक्षा सकेपछि उनीहरूकै इच्छा अनुसार उच्च शिक्षा, व्यवसाय, नोकरीतिर लाग्न सहयोग गर्ने सोच केन्द्रको रहेको छ । राजनीतिमार्फत् समाज सेवामा लाग्नु भएका गुरुङले यस केन्द्रका बालबालिकाहरूलाई धनी बन्न होइन, खुशी बन्न सिक, कुनै पनि बस्तुको मूल्य होइन महत्त्व बुझ्न सिक भन्ने महापुरुषहरूको भनाइलाई हृदयङ्गम गर्दै अगाडि बढ्नु पर्ने प्रेरणा दिइरहनु भएको छ ।
केदारनाथ गुरुङ भन्नु हुन्छ –‘‘विश्वास ऐना जस्तै हो नटुटुञ्जेल सबै कुरा राम्रो देखिन्छ टुटेपछि हरेक टुक्रा जिन्दगीभर पाइला पाइलामा बिझाइरहन्छ । त्यसैले हरेक क्षण सतर्क भएर काम गरेको छु । सबैको साथ र सहयोग प्राप्त भैरहेको छ । यही विश्वास र साथ सधैं भरी प्राप्त भैरहोस् भन्ने आशा गरेको छु ।’’

Top