बालसिर्जना संवाददाता ३१ साउन २०७६, शुक्रवार

 

बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने हामी सबैले सुनेको नाम हो । उनी वि.सं. १९९६ सालमा लमजुङ जिल्लाको खुम्रुकमा जन्मिएका हुन् । उनका पिताको नाम खडानन्द शर्मा र माताको नाम रुक्मिणीदेवी हो । मुक्तिनाथ शर्मा नेउपानेले नेपाली साहित्यका धेरै विधामा कलम चलाएका छन् । अनुवाद कलामा पनि उनी सिपालु छन् । नेपाली बालसाहित्यमा उनले हालसम्म २ दर्जनभन्दा बढी कृतिको रचना गरिसकेका छन् । उनका हालसम्म प्रकाशित बालसाहित्यका कृतिमा जान्नैपर्ने कुरा, बब्लु र सुगा, नानीको बानी, राम्रा नानी, न्चबलमmयतजभच, थिरीथिरी, हामी बालतारा, सौगात र हिमचुली, आविष्कार, सानी नानी राम्रो बानी, रमाइलो गाउँ, शिवपुरी यात्रा, सानी चरी गौथली, पानी र नानी, अञ्जना र आकृति, कुसुमको काँकरी, सबै बराबर, बचराको योजना, गौंथलीको जाँगर, नैना र मैना, रमाइलो छुट्टि र सुवर्चा जस्ता धेरै छन् । बालबालिकाको मनोभावना बुझेर सरल तरिकाले लेख्न सिपालु छन् नेउपाने । बालसाहित्यमा उनले कथालाई बढी महत्त्व दिएका छन् । बालसाहित्यमा कथा बाहेक उपन्यास (अञ्जना र आकृति) र कविताहरु, लेखेका छन् । यसबाहेक साहित्य र अन्य विधामा गरी उनका १९ ओटा कृति प्रकाशित छन् । साहित्य, धर्म, दर्शन, समालोचनामा कलम चलाएका छन् ।
बालसाहित्यमा रमाउने शर्मा सरल प्रकृतिका छन् । बालबालिकाको मनोभावना बुझेर लेख्छन् । सलल बगेको सरल भाषाको छनौट गर्छन् । रमाइलो तरिकाले प्रस्तुति दिन सक्छन् । बालबालिकामा जाँग भरेर उनीहरुलाई समाजका हरेक गतिविधिसँग घुलमिल हुन सिकाउँछन् । गाउँले र शहरीया दुवै वातावरणको समुचित प्रयोग गर्ने हुनाले शहर र गाउँ जहाँका बालबालिका पनि उनका रचनालाई मन पराउँछन् ।

Top