बालसिर्जना संवाददाता ३१ साउन २०७६, शुक्रवार

 

नेपालको सीमाना फराकिलो बनाउने व्यक्तिमा अमरसिंहको नाम सबैभन्दा अगाडि आउँछ । उनले नेपालको सीमाना बढाएर देहरादूनसम्म पु¥याएको थिए । काँगडालाई पनि आफ्नो बनाउने दाउ उनको थियो । त्यसैबेला नेपाल र अंग्रेजको बीचमा लडाई शुरु भयो । अंग्रेजहरूसँग ठूलो फौज र धेरै हातहतियार थिए । यसो भए पनि अमरसिंह थापा र भक्ति थापा ठूलो बहादुरीका साथ लडे । दुवैतर्फका सेना हताहत भए । नेपाल तर्फका सिपाही निकै घटेकाले उनीहरूले किल्ला छोड्नु प¥यो । यति भएर पनि उनीहरूले हरेस खाएनन् । देउगढको किल्लामा लड्दा लड्दै सत्तरी वर्षे भक्ति थापाले वीरगति प्राप्त गरे । त्यसपछि मकाउको टापुमा रहेर अमरसिंह थापा लड्दै थिए । अंग्रेजहरूले उनलाई आत्मसमर्पण गरेर आफूतिर आउने सल्लाह दिए । आत्मसमर्पण गरेमा एउटा सानो राज्य दिने लोभ पनि उनीहरूले देखाए तर अमरसिंह त्यस्तो लोभ लालचमा परेनन् । उनको लागि देश नै सर्वस्व थियो । अन्तिममा केही सिप नलागेपछि आत्मसमर्पण पनि गर्नुप¥यो । अंग्रेजहरूले नेपालले जितेका सबै राज्य फिर्ता गर्नुपर्ने प्रस्ताव राखे । यो कुरा उनलाई स्वीकार्य भएन । उनी फेरी लडाईमा जान तम्तयार भए । दोस्रो पटक उनको नराम्रोसँग हार भयो । नेपाल सरकारले आफूले जितेका सबै राज्यहरू फिर्ता गर्नुपर्ने भयो । यसबाट उनको अभियानमा ठूलो चोट लाग्यो । यसै चोटले गर्दा उनले गोसाईकुण्डमा गएर तपस्या गर्ने सुर कसे । उनी वीर मात्र नभएर राजभक्त पनि थिए । लडाईमा सोचेअनुसार काम नभएकोले त्यसको जिम्मेवारीलाई पनि स्वीकार गरे । अंग्रेजहरूको प्रभावमा नपरेर, प्रलोभनमा नपरेर जीउमा एकथोपा रगत रहुञ्जेल निस्वार्थ भएर लडेकाले उनी नेपालका सच्चा छोरा मानिन्छन् । कुर्सीको लागि सिंगै देशलाई जुवाको खालमा होम्न पछि नपर्ने, राष्ट्रियताको सवालमा कहिल्यै एकजुट भएर बोल्न नजान्ने, सधैं राष्ट्रको ढुकुटीका लागि कुकुर बिराला जस्तै गर्न छोडेर हामीहरूले उनीबाट देशभक्तिको सच्चा पाठ सिक्न जरुरी छ ।

Top