‘सुनैको दरबार… दिन तिम्लाई सक्दिन, चोखो माया दिम्ला हजुर…’ भन्ने चर्चित आधुनिक गीतका रचनाकार दिल पौडेलको जन्म वि.सं. २०२८ साल पौष १० गते शनिबार भएको हो । सिन्धुली जिल्लाको साविक लदाभिर ३ (हालको दुधौली नगरपालिका ७) कत्लेखोलामा पिता धनबहादुर पौडेल र माता चन्द्रकुमारी पौडेलका कोखबाट जन्मेका हुन् । सिन्धुली जिल्लाको मध्ययम वर्गीय परिवारमा जेठो सन्तानका रूपमा जन्मेका दिल पौडेलका दुई बहिनी, एउटा भाइ, श्रीमती र दुई छोराहरू छन् । दिल पौडेल कविता विधामार्फत् नेपाली साहित्यमा प्रवेश गरेका हुन् । घरबाट करिब २ घण्टा टाढाको स्कूलमा हिँडेर पढ्न जाने पौडेलले स्कूलमा अध्ययन गर्दै गर्दा कविता लेख्न थालेका हुन् । इतिहास र नेपाली साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका पौडेलले जनकपुरको आरआर क्याम्पसमा आई कम को अन्तिम परीक्षा दिएपछि प्राविधिक तर्फको विशेष तालिम लिनका लागि हेटौंडामा गए । त्यहीँ बसेका बेला २०४७ सालमा हेटौंडाबाट प्रकाशित हुने ‘वर्चश्व मासिक’ पत्रिकामा उनको ‘सकिन’ शीर्षकको पहिलो कविता प्रकाशित भयो । यही कविताबाट प्रकाशन क्षेत्रमा पाइला टेकेका पौडेलका यसपछि धेरै फुटकर कविताहरू प्रकाशित भए । कवितामार्फत् साहित्यमा प्रवेश गरेका पौडेलले वि.सं २०५० सालमा ‘अधुरो जिन्दगी’ शीर्षकको उपन्यास लेखेर प्रकाशित पनि गरे । एकजना शोधार्थीले अहिले यो उपन्यासको कृतिपरक शोधकार्य गरिरहेका छन् ।
साहित्यकार दिल पौडेलका हालसम्म प्रकाशित कृतिहरूमा १. ‘अुधरो जिन्दगी’ उपन्यास, २.‘केही नेपाली साहित्यिक कृतिहरूको अध्ययन’ समालोचना, ३.‘प्रजातन्त्र’ हाइकुसङ्ग्रह (संयुक्त लेखन), ४.‘कात्रोमा मेरो देश’ कवितासङ्ग्रह, ५.‘अचानो मन’ गजल विशेषाङ्क, कौशिकी मासिकमा, ६.‘अतीतको अवशेष’ संस्मरण सङ्ग्रह, कौशिकी मासिकमा, ७.‘काउसो जून’ हाइकुसङ्ग्रह हुन् । दिल पौडेलका साहित्यिक कृतिको समीक्षा गरी लेखिएका कृतिमा ‘दिलको सृष्टि, अध्येताको दृष्टि’ समालोचना (प्रकाशक ः दुधौली साप्ताहिक परिवार) र ‘ दिल पौडेलका साहित्यिक कृतिको विश्लेषण’ (लेखक ः डा. हरि सिलवाल) गरी दुई ओटा कृति हुन् । ‘सुनैको दरबार दिन तिम्लाई सक्दिन चोखो माया दिम्ला हजुर…’ भन्ने चर्चित आधुनिक गीतका सर्जक दिल पौडेलका आधा दर्जन आधुनिक गीत रेकर्ड भैसकेका छन् । दिल पौडेलले साहित्यकारसँग लिएको अन्तर्वार्ता सङ्ग्रहको पुस्तक प्रकाशनको तयारीमा छ । नेपाली साहित्यको श्रीवृद्धिका लागि दिल पौडेलले अन्य साहित्यकारहरूका आधा दर्जन कृति प्रकाशन गरेर मोतीराम भट्टको मार्गलाई समेत अवलम्बन गरेका छन् ।
नेपाली साहित्यमा उपन्यास, गीत, कविता, हाइकु, गजल, समालोचना, अन्तर्वार्ता लगायतका क्षेत्रमा कलम चलाएका पौडेलले नेपाली ग्रामीण जनजीवनको यथार्थ विषयवस्तुलाई आफ्ना सिर्जनामा उतारेका छन् । ‘नेपाली साहित्यमा सिन्धुली जिल्लाको योगदान’ शीर्षकमा अनुसन्धानरत पौडेल विशिष्ट सर्जकका साथै कुशल अनुसन्धाता पनि हुन् । यिनी छलछाम र भुलभुलैयामा रमाउने साहित्यकार होइनन् । गरिबले भोग्नु परेका पीडा, भष्ट्राचारबाट देशले बेहोर्नु परेको क्षतिलाई देखेर यिनको मन चह¥याउँछ । मुखले बोलेर होइन व्यवहारमा समानता हुनुपर्छ भन्ने सिद्धान्त बोकेका दिल पौडेल अरुको दुःखलाई आफ्नै दुःख सम्झिन्छन् । नेपाली प्रकृतिको तन्मय र मन्मय दुवै पक्षको सजीव चित्रण गर्न असाध्यै सिपालु दिल पौडेलको सिर्जनाको कालिगडी यिनको ‘काउसो जून’ पुस्तकमा विशिष्ट तरिकाले उदाएको छ । आख्यान र कविता दुवै विधामा यिनी अब्बल छन् । ‘सादा जीवन उच्च विचार’ भन्ने उक्तिलाई यिनले आफ्नै जीवनमा चरितार्थ गरेका छन् । अध्ययनमा रमाउन पाउँदा आफूलाई भाग्यमानी ठान्ने दिल पौडेल पूर्वीय र पाश्यात्य चिन्तनलाई समेटेर नेपाली साहित्यको भण्डारलाई धनी बनाउन प्रयासरत सर्जक हुन् ।
बालसिर्जना मासिक