१ असार । कांग्रेस आईका नेता करण सिंहले सीमा विवादमा नेपालले उठाएको मुद्दालाई गम्भीररुपमा नलिनु भारत सरकारको गम्भीर कूटनीतिक कमजोरी भएको बताएका छन् । साथै उनले नयाँ नक्सा जारी गरेर संविधान संशोधन गर्ने कदमको असर नेपालको पक्षमा नहुने चिन्ता व्यक्त गरेका छन् । सोमबार नेता करण सिंहले वक्तव्य जारी गर्दै यस्तो अवस्था आउन दिनु हुँदैनथ्यो भनेका छन् । समा विवाद लामो समयदेखि चल्दै आएको भए पनि नेपालले गत नोभेम्बरमा नेपालले यो मुद्दालाई उठाएकोमा ‘हामीले यसलाई गम्भीररुपमा लिएनौं । नेपालले यो मुद्दा उठाउने वित्तिकै हामीले तत्काल वार्ता सुरु गर्नुपर्थ्यो। नेपालसँग संवाद नगर्नु भारतको गम्भीर कूटनीतिक कमजोरी भएको उनले बताएका छन् ।
भारतले संवाद नगरेकै कारण नेपाल नक्सा जारी गर्ने निर्णयमा पुगेको नेता सिंहले बताएका छन् । यो कदमलाई नेपाल–भारतको बीचमा अपरिवर्तनीय टकरावको अवस्थाको रुपमा वर्णन गर्न सकिने उनले बताएका छन् । उनले अघि भनेका छन्, यो कदमको असर भारतमा परोस् वा नपरोस् मलाई यसको असर नेपाल र नेपालीको पक्षमा हुँदैन भन्ने डर छ ।’






