बालसिर्जना संवाददाता ४ असार २०७७, बिहीवार

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नापनक्सा गर्ने सिस्टमको विकास गरिएको बताएकी छन्।

मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको बुधबार राष्ट्रियसभामा जवाफ दिँदै मन्त्री अर्यालले नाप नक्साको क्षेत्रमा अब फिताले नभएर यन्त्रले नाप्ने प्रविधिको विकास गरिएको बताइन्।

विगतको त्रुटीपूर्ण नापनक्साका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेकाले धेरै खालका गुनासा आउने गरेको भन्दै मन्त्री अर्यालले ती कुरालाई मध्यनजर गर्दै नापनक्साको काम फिताबाट नभएर यन्त्रबाट गर्ने कार्यको सुरूआत गरिएको बताइन्।

‘विगतमा फिताबाट नापनक्सा गर्दा कमजोरी भयो। त्यसैले अब यन्त्रबाट नापनक्साको काम गरिनेछ भनेर त्यो काममा हामी अगाडि बढेका छौं’, मन्त्री अर्यालले भनिन्, ‘देशभर आधुनिक तरिकाबाट डिजिटल प्रणालीबाट पुनः नापजाँच गर्ने कार्य भइरहेको छ। यो सबै ठाउँमा गर्न जरुरी पनि छ र त्यो कामको थालनी पनि भएको छ।’

नापनक्सा क्षेत्रको अत्याधुनिक प्रविधि‘लाइडर प्रविधि’ यसै आर्थिक वर्षदेखि नेपालको सुदूरपश्चिम प्रदेशबाट सुरू भएको भन्दै उनले त्यसले पृथ्वीको धरातलीय स्वरूपको नापजाँच गर्ने कार्य भइरहेको बताइन्।

सरकारी स्तरबाट पहिलोपटक यस किसिमको सर्वेक्षण गरिएको उनको भनाइ थियो।

सात दशक लामो भूमिहीन, सुकुम्बासी समस्याको समाधान यो सरकारले गर्ने बताउँदै मन्त्री अर्यालले लामो समयदेखि रहेको भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने बताइन्।

जमिनमा पसिना बगाउने वर्ष नै सात दशकदेखि जमिनको स्वामित्व नपाएर तड्पिरहेको दारुण दृष्य हेरेर सरकार बस्न नसकेको भन्दै मन्त्री अर्यालले अब कानुनी रूपमै व्यवस्था गरेर भूमिहीन, सुकुम्बासी, दलितलाई जग्गा उपलब्ध गराइने बताइन्।

अनलाइनखबरबाट

Top