बालसिर्जना संवाददाता १३ असार २०७७, शनिवार

 

१३ असार, काठमाडौं । नेपालमा सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष थियाे । साे निष्कर्ष गलत सावित भएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईकाे नेतृत्वमा गठन भएको कार्यदलले नेपालमा यो वर्ष सलह किरा नभित्रिने र अरू वर्षहरूमा भने सचेत हुनुपर्ने  सुझाव दिएकाे थियो । कार्यदलले सुक्खा मौसम र सुक्खा ठाउँ मन पराउने भएकाले वर्षा लागेपछि सलह आउँदैन भन्ने थियाे ।

घाम नै छेलिने गरी उडेर आउने सलहको झुण्ड जहाँ बस्छ, त्यहाँको हरियाली केहीबेरमै उजाड बन्छ । नेपालमा यस वर्ष सलह भित्रिन नसक्ने निचोडसहित सरकारी अध्ययन प्रतिवेदन बनेको २२ दिनपछि नेपालका दुई जिल्ला बारा र सर्लाहीमा भित्रिएको छ । शनिबार बिहान बारा र सर्लाही जिल्लाका विभिन्न ठाउँमा सलह देखिएको मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले जानकारी दिए । सलहले तरकारी तथा धान बालीमा क्षति गर्न थालेको जिल्लास्थित ज्ञान केन्द्रहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले गरेको अध्ययनमा पनि दक्षिण एसियामा देखिएको सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम भएको विवरण सहदेव हुमागाइँ संयोजकत्वको समितिलाई दिएको थियो ।

कृषि मन्त्रालयले बारा, पर्सा र सर्लाही हुँदै नेपाल प्रवेश गरेको बताएको छ । पहाडसम्म पुग्छ कि पुग्दैन भन्न सकिदैन ।  ‘उत्तरबाट दक्षिण बग्ने गरी हावा चल्यो भने पनि क्षति कम हुन सक्छ ।’ भन्ने कृषि विज्ञकाे दावी छ ।

Top