बालसिर्जना संवाददाता १२ असार २०७७, शुक्रवार

 

अमेरिकामा घर
बेलायतमा घर
नेपालमा छँदैछ आफ्नो घर
सम्झियो जताततै घरै घर ।
छोराको भनूँ कि बाबुको
मानो छुट्टिएको छैन
मेरो घर भन्ने अधिकार बाबुको
घर जसको भने पनि लगानी छोराको ।
सन्तोषको श्वास फेरेर हाँस्ने मुहार बाबुको
पाखुरी बजाएर गरेको आर्जन छोराहरुको
तेरो मेरो नभनौ उन्नतिमा रमाऊँ
मुठ्ठिजस्तो एकता बनोस् मुहार सधैंं हँसिलो रहोस् ।
कसैकसैले मलाई सुनाउँछन्
कसैकसैले मलाई केशर शमशेर भन्छन् रे
मान्छे बोलेको होइन ईष्र्या बोलेको
मनभरि भएर बाहिर छचल्किएको ।
द्वेष कसैको होइन
जाम पानीले मात्र निकास खोजेको हो
अर्कैको कुरा काटेर समय बिताउने हाम्रो बानी बसेको हो ।
अतित नसम्झौं भनो
त्यहीं मात्र मनभरि आउँछ
दृश्य ओझेल पारौं भनो
आँखा भरि त्यही मात्र आइरहन्छ ।
मैले मेरो धरातल बिर्सेको छैन
मैले आफूले आफूलाई बिर्सेको छैन
म माथिल्ला घरे काइलो नै हूँ
अमेरिकन बेलायत हुँदै होइन ।
म मेरो माटोमा जति रमाउँछु
संसारको कुनै धर्तीमा रमाउन सक्दिन
सारा संसार डुले पनि
म मेरो हिमाल हेरेर कहिल्यै आधा उदिन ।
जहाँ निदाए पनि म त्यहाँको सपना देख्दै देख्दिन
जहाँसुकैको यात्रा होस् म मेरो पाखा पर्वत बिर्सनै सक्तिन
यी अमेरिका बेलायतका घरहरु
यो मैले नबुनेको सपना हो
यो नसोची निस्केको परिणाम हो ।

(लेखक ः तेजविनाेद पाेखरेल)

Top