बालसिर्जना संवाददाता ३ साउन २०७७, शनिवार

 

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता थपका लागि तल्लो तहमा क्रियाशील सदस्यता पठाएको छ ।

जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा शुक्रबार जिल्ला समितिको कार्यालय ज्ञानेश्वरमा बसेको बैठकले नविकरण र नयाँ क्रियाशील सदस्यता तल्लो तहमा पठाउने निर्णय गरेको हो ।

अहिले रहेको क्रियाशील सदस्य संख्याको ५० प्रतिशत हुने गरी नयाँ क्रियाशील सदस्यता फारम क्षेत्रमा पठाएको कांग्रेस कांठमाडौंका नेता यूपी लामिछानेले जानकारी दिए । जिल्ला सभापति बानियाँले क्षेत्रीय सभापतिहरुलाई क्रियाशील फारम हस्तान्तरण गरेको पनि उनले बताए ।

लामिछानेका अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा हाल एक हजार ११९ क्रियाशील सदस्य छन् । त्यसको ५० प्रतिशत अर्थात पाँच सय ५९ वटा नयाँ क्रियाशीलका लागि क्षेत्र नम्बर १ मा फारम पठाइएको छ ।

यस्तै अन्य क्षेत्रमा पनि हाल कायम क्रियाशील सदस्यताको ठीक आधा हुने गरी सदस्यता फारम पठाइएको छ ।  काठमाडौं २ मा दुई हजार ५४६, क्षेत्र नम्बर नम्बर ३ मा एक हजार ७५८, क्षेत्र नम्बर ४ मा एक हजार ४६३, क्षेत्र नम्बर ५ मा एक हजार ३६८, क्षेत्र नम्बर ६ मा एक हजार ६१८, क्षेत्र नम्बर ७ मा एक हजार ६३५, क्षेत्र नम्बर ८ मा एक हजार १९, क्षेत्र नम्बर ९ मा एक हजार ९९८ र क्षेत्र १० मा एक हजार ७१९ क्रियाशील सदस्य छन् ।

हाल कायम क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण हुनेछ भने सो संख्याको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यहरु थप हुनेछन् ।

सभापति बानियाँले साउन मसान्तभित्र नविकरण र नयाँ सदस्यताको फारम बुझाइसक्न क्षेत्रीय सभापतिहरलाई निर्देशन दिएका छन् । क्षेत्रबाट फारम आइसकेपछि जिल्लाले केन्द्रमा पठाउने छ । कांग्रेसले आगामी फागुन ७ मा पार्टीको १४ औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

Top