संसारमा जन्म लिएका सबै मानिसहरुको आ आफ्नै कर्तव्य हुन्छ । चाहे त्यो घरमुली होस् या परिवारको अन्य सदस्य । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा धेरैजसो परिवारमा घरमूली बुबा या हजुरबुबा हुने चलन छ । यदी बुबा या हजुरबुबा नभएमा छोरा घरमुली हुने गरेको देखिन्छ । घरमुली भएपनि या नभएपनि छोराछोरीको लागि बुवाले आफ्नो असल अभिभावकको कर्तव्य निर्वाह गर्न सकेमा छोराछोरीको भविष्य उज्जवल बन्न सक्छ ।
असल बुवाले परिवारका सबै सदस्यहरुलार्इ माया गर्ने, हेरविचार गर्ने, सहयोग गर्ने साथै राम्रो बाटोमा लाग्न हौसला प्रदान गर्नुपर्दछ ।जन्मनु भन्दा अगाडि देखि सक्षम नहुँदा सम्म राम्रोसँग छोराछोरीको हेरविचार गर्ने बुबालार्इ नै असल बुबा भनिन्छ ।आमा जस्तै बुबा पनि छोराछोरीको लागि पहिलो गुरु हुनुहुन्छ ।उनीहरुको लागि अभिभावक, गुरु मात्रै होइन बुबा भनेको त एक असल साथी पनि हो ।
कोही कोही बुवाहरु छोराछोरीसँग खुलेर कुरा गर्नुहुन्छ, सँगै बस्न मन पराउनुहुन्छ, उनीहरुका इच्छा भावनाहरु बुझेर सोहीअनुसारको व्यवहार गर्नुहुन्छ । आँफू सानो छँदाको बालापनको याद गरेर आफ्ना बाबुनानीलार्इ कस्तो व्यवहार गर्दा ठीक हुन्छ भन्ने विचार गर्नुहुन्छ । बाबुनानीले नराम्रो संगत, खराब व्यवहार गर्न लागेको थाहा पाएमा समयमा नै थाहा पाइ उनीहरुलार्इ असल बाटोमा लाग्ने प्रेरणा दिनुहुन्छ । धाक धम्की डर त्रास मात्र होइन उनीहरुसँग साथीको व्यवहार पनि गर्न जान्नुहुन्छ । हो यस्तो बुबालार्इ नै असल बुबा भनिन्छ ।
बुबाको परिवारप्रतिको कर्तव्यमा आफ्ना परिवारका सदस्यहरुको राम्रा चाहनाहरु पुरा गर्ने, सबैलार्इ सम्मान गर्ने, समस्याको समाधान गर्न सबैसँग सल्लाह गर्ने, भविष्यमा असल बनाउनको लागि वर्तमानमा राम्रो वानीको विकास गराउने र साथ दिने आदि पर्दछन् ।बालबालिकाको असल भविष्य निर्माणमा बुबाको महत्वपूर्ण भूमिका हुन्छ जुन असल बुबाको साथबाट सम्भव हुन्छ ।
एक असल बुबाले आफूले पाएका कुनै दुस्ख रहेछन् भने मेरा छोराछोरीले त्यस्तो भोग्न नपरोस भन्ने चाहना राखेका हुन्छन् ।छोराछोरीका अगाडी अरुसँग कहिल्यै पनि नराम्रो व्यवहार देखाउँदैनन् । आँफू असल भएमा मात्र छोराछोरी असल बन्न सक्दछन् भन्ने भावनाले सँधै आफ्नो व्यवहार देखाइरहेका हुन्छन् ।छोराछोरीको राम्रो भविष्यको लागि सँधै सपना बोकेर हिँडेका हुन्छन् असल बुबाहरु ।
कहिलेकाही आफ्नै बुबाले छोराछोरीमाथी अन्याय गरेको, नराम्रो व्यवहार देखाएको साथै वेवास्ता गरेका समाचारहरु पनि देख्न सुन्न र पढ्नुपरेको छ । बुबाले आफ्नै साना साना छोरीलार्इ पनि नराम्रो व्यवहार गरेको, बेचबिखन गरेको, उमेर नपुग्दै विवाह गरिदिएको, लाउन खान नदिएको साथै रक्सी खाएर कुटपीट गरेको जस्ता नराम्रा व्यवहार पनि गरेका हुन्छन् । यसले बालबालिकाको भविष्य बिग्रन सक्छ । पढाइमा निरन्तरता दिन सक्दैनन् ।घर छोडेर सडक या होटेलमा काम गर्न पुग्दछन् ।बुबाले माया ममता नदिएका कतिपय बालबालिकाहरुले आमाको माया समेत पाएनन भने त झनै बिचल्लीमा पर्दछन् उनीहरु ।
त्यसैले म सबै बुबाहरुलार्इ असल बुबाको भूमिका निर्वाह गर्न अनुरोध गर्दछु ।हजुरहरुले अहिले छोराछोरीलाइ असल बाटोमा हिँडाउन सक्नुभयो भने उनीहरुको भविष्य पक्कै पनि सुखमय बन्न पुग्छ । छोराछोरी असल भए भने बुबाआमाले पनि राम्रो माया ममता र हेरविचार पाउन सक्नुहुन्छ ।यतिमात्रै कहाँ हो र छोराछोरी सबै असल भए भने त देशको भविष्य पनि राम्रो बन्न पुग्छ । त्यही भएर सबै बुबाहरुले आफ्ना छोराछोरीलार्इ असल व्यवहार गरौं ।
रुविआ पराजुली
कक्षा ६
बूढानीलकण्ठ स्कुल, काठमाण्डौ







