मनषा वाग्ले १४ भदौ २०७७, आइतवार

 

विश्वभरि फैलिएको कोराना महामारीबाट सुरक्षित रहन सरकारले लकडाउन गरेको छ । यसैकारण हामी सबै आफ्नै घरमा घेरिएर बस्नु परेको छ । मैले धेरैले भनेको सुनें – ‘हे भगवान् ! यो लकडाउन कहिले समाप्त हुन्छ । म त घरमा बस्दा बस्दा वाक्कदिक्क भैसकेको छु । मलाई मेरा साथीहरुसँग भेट्न मन छ ।’ तर यो मेरो अवस्थामा सबैभन्दा भिन्न छ, मैले भनेको कुरालाई उल्टो नबुझिदिनु होला, मलाई पनि मेरा साथी, आफन्तहरुको याद आउँछ तर यस लकडाउनको क्रममा मैले वास्तविक रुपमा मलाई खोजी गर्ने मौका पाएँ । म निश्चित छु, तपाईंले “वास्तविक म” भनेर के भन्न खोजेको होला ? हामी सबैसँग यो बेला हामीलाई के मन पर्छ र के मन पर्दैन भनेर थाह पाउने सुनौलो मौका छ । लकडाउन अघि म कहिले पनि केही काम गर्दिनथें । जसले मलाई भित्रबाट खुशी बनाउँथ्यो । उदाहरणको लागि लकडाउन अघि मलाई खाना पकाउनमा त्यति रुचि लाग्ला भनेर मैले कल्पना सम्म पनि गरेकी थिइनँ । तर लकडाउनको बेला मलाई थाहा भयो कि म वास्तवमा राम्रो खाना पकाउन पनि जानेकी छु र मेरो रुची पनि गर्छु । मैले एकदिन मफिन बनाएर मेरी आमालाई खुवाएँ । उहाँलाई मीठो पनि लाग्यो । त्यसैले मैले त्यो दिनदेखि परिवारको माया राम्रो काम गर्न जानेपछि पाइन्छ भन्ने कुराको प्रेरणा पाएँ । आफ्नो क्षमतालाई बुझ्ने अवसर त मलाई प्राप्त भयो नै त्यसबाहेक मैले विश्वका धेरै महान् व्यक्तिका बारेमा पनि ज्ञान प्राप्त गर्ने मौका पाएँ । जस्तै नेल्सन मण्डेला विश्वका महान व्यक्ति हुन् । यिनले विश्वका गरीब दुःखीहरुका बारेमा आफ्नो ज्यानको बाजी लगाएर आन्दोलन गरेका थिए । त्यसैले यिनलाई महामानव भनिन्छ ।

लकडाउन सबैका लागि राम्रो अवसर हो भनेर मैले भन्न खोजेको होइन । धेरै मानिसले लकडाउनको समयमा ठूला दुःख भोगेका छन् । धेरै मानिसले रोजगारी अथवा जागिर गुमाएका छन् । गरीबी बढिराखेको छ । मान्छेहरु एक्लै बस्नु पर्ने, गरीबीको पिडा भोग्नु पर्ने जस्ता कारणले धेरै मानिसले आत्महत्या जस्तो गलत काम गरिरहेका छन् । यो बेला मान्छे मात्रै कहाँ हो र सारा पशुपंक्षीले पनि दुःख भोगिरहेका छन् । सारा विश्व दुःखको भुमरीमा छ । जे भए पनि जीवनमा हरेक कुराका सकारात्मक र नकारात्मक दुई पाटा हुन्छन् । यसलाई कसरी लिने भन्ने तपाई हामीकै सोचाइमा भर पर्छ । म यो मौकाको रुपमा लिन्छु । त्यसैले म सबैलाई भन्न चाहन्छु कि हरेक कुरालाई सकारात्मक रुपमा लिनुहोस् । सकारात्मक सोच फैलाउनु होस् । अरुलाई मदत गर्नुहोस् । तपाईलाई थाहा छ उनीहरुले तपाईलाई सहयोग गर्न सक्दैनन् भन्ने तैपनि उनीहरुलाई मदत गर्नु मान्छेको कर्तव्य हो, दायित्व हो ।
मनषा वाग्ले
त्रियोग माध्यमिक विद्यालय
टोखा नपा ७, ग्रीनल्याण्ड

 

Top