बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

guru
 

भाइबहिनीहरू ! असारको शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा भनिन्छ । गुरु पूर्णिमाका दिन गुरुको विेशष पूजा गरिन्छ । गुरु भनेको अज्ञानपरुपी अन्धकारलाई नाश गर्ने व्यक्ति हो । त्यही शिक्षा दीक्षा दिने व्यक्तिलाई खुशी पार्न गुरुको पूजा गरिन्छ ।

जो व्यक्ति खुशी हुन्छ उसले अरुलाई कति दिने भन्ने थाहै पाउँदैन र आफूसँग कति छ सबै दिन खोज्छ । कसैसँग केही लिनु छ भने धम्क्याएर र बाध्यतामा पारेर थोरै लिन सकिएला तर माया गरेर, श्रद्धा गरेर लिन खोज्दा आफूले चाहेको भन्दा बढी पाइन्छ ।

गुरुको पढाउने कर्तव्य हो जसरी पनि पढाउनु पर्छ भनेर होइन । गुरुप्रति श्रद्धा गरेर, आदरपूर्वक लिइने शिक्षाले मात्रै सफल होइन्छ ।

भाइबहिनीहरू ! गुरु पूर्णिमाको दिन मात्रै गुरुको पूजा गर्ने र अरु दिन गुरुलाई वास्ता नगर्ने प्रवृत्तिलाई हामीले त्याग्नु पर्छ । गुरुको पूजा गर्ने परम्परा प्राचीन समयदेखि चल्दै आएको हो । प्राचीन कालमा गुरुलाई ईश्वर कै अवतार मानिन्थ्यो ।

हामीले एकलब्य र द्रोणाचार्यको गुरु शिष्य सम्बन्धी कथा त सुनेकै छौं । एकलब्यले आफ्नो हातको एउटा औंला काटेर गुरुलाई गुरुदक्षिणा दिएका थिए । त्यसैले त प्राचीन कालमा गुरुदेवो भवः अर्थात् गुरुलाई देवता जस्तै मान भनिएको हो नि होइन ?

गुरु त हाम्रो अज्ञानरुपी आँखा खोलेर ज्ञानरुपी अमृत पिलाउने व्यक्ति पो हुन् । केवल एकदिन गुरुलाई मिठाईं खुवाएर, माला लगाइदिएर मात्रै कहाँ हुन्छ र ? गुरुले त आफ्ना बिद्यार्थीको भविष्यका बारेमा ध्यान दिन्छन् । कसरी मेरो बिद्यार्थीलाई राम्रो बनाउन सक्छु भनेर सोच्छन् । त्यसैले गुरुप्रतिको श्रद्धा, सद्भाव र माया कहिल्यै कमी हुन दिनु हुँदैन ।

भाइबहिनीहरू ! यस पटकको गुरु पूर्णिमामा जताततै यस्तै यस्तै आवाजहरु प्रशस्त सुन्न पाइयो । सबै विद्यार्थीले गुरुलाई सधैं श्रद्धा, सद्भाव र माया गर्छौं भनेर वाचा पनि गरेको सुनियो । गुरुको पढाउने कर्तव्य त हो तर जहाँ आफ्नो आदर सत्कार हुँदैन, जहाँ श्रद्धा छैन, सद्भाव छैन त्यहाँ गुरुले जानेको कुरा पनि नसिकाउन सक्छन्, अल्छि गर्न सक्छन् त्यसैले गुरुप्रति सधैं हामीले पनि आदर गरौं र अरुलाई पनि आदर गर्न लगाऔं है ।

Top