कवि मोहन कोइरालाको जन्म वि.सं. १९८३ मङ्सिर ११ गते काठमाडौं जिल्लाको डिल्लीबजारमा भएको थियो । उनले अनौपचारिक शिक्षा मात्र प्राप्त गरेका थिए । उनले पद्मपोखरी प्राथमिक विद्यालय हेटौडामा शिक्षक (२०१८), नेपाली साहित्य संस्थानका कार्यालय संचालक (२०२०), यातायात संस्थानमा नायक सुब्बा (२०२०), कुखुरा पालन (२०२९), ने.रा.प्र.प्र. का सदस्य (२०३०), ने.रा.प्र.प्र. सदस्य (२०४७), ने.रा.प्र.प्र. का उपकुलपति भएर काम गरेका थिए । उनले नेपाली साहित्यको सेवा गरेवापत साझा पुरस्कार (२०३०), रत्नश्री पदक (२०३५), मदन पुरस्कार (२०३८), साझा पुरस्कार (२०४०) जस्ता सम्मान र पुरस्कार प्राप्त गरेका थिए ।
उनको मृत्यु वि.सं. २०६३ मा भएको थियो । उनका प्रकाशित कृतिहरूमा ‘मोहन कोइरालाका कविता’ (२०३०), ‘सारङ्गी बोकेको समुद्र’ (२०३४), ‘हिमचुली रक्तिम छ’ (२०३५) आदि कवितासङ्ग्रह, सूर्यदान’ (२०२२), ‘लेक’ (२०२३), ‘पलङ्ग नं. २१’ (२०२८), ‘नुनशिखरहरू’ (२०३१), ‘नदी किनाराका माझी’ (२०३८), ‘ऋतु निमन्त्रणा’ (२०४०), ‘नीलो मह’ (२०४१), ‘सिमसारको राजदूत’ (२०६५) आदि लामा कविता हुन् । उनी नेपाली साहित्यमा प्रयोगवादी धाराअन्तर्गत रहेर लामा कविताको प्रवर्तन गर्ने कविका रुपमा परिचित छन् ।
कवि मोहन कोइरालाले वि.सं. २००७ मा ‘शारदा’ पत्रिकामा ‘उनीहरूले बुझिसके’ शीर्षकको कविता प्रकाशित गरी औपचारिक रूपमा साहित्य यात्रा प्रारम्भ गरेका हुन् । उनले आफ्नो कविता यात्राको प्रारम्भमा स्वच्छन्दतावादी प्रगतिवादी धाराअन्तर्गत रहेर कविता रचना गरेका छन् । उनले प्रारम्भिक चरणका कवितामा सामाजिक विकृति र विसङ्गतिको चित्रण गरेका छन् । उनका कवितामा गरिब तथा निमुखा जनताप्रति सहानुभूति व्यक्त भएको पाइन्छ । उनले कवितामा प्रकृति र मानव बिचको अन्योन्याश्रित सम्बन्ध देखाएका छन् ।
कवि लक्ष्मीप्रसाद देवकोटाको अवसान भएपछि २०१७ सालमा मोहन कोइरालाले रूपरेखा पत्रिकामा ‘घाइते युग’ शीर्षकको कविता प्रकाशित गरी प्रयोगवादी कविता लेखनको प्रारम्भ गरेका हुन् । त्यसैले उनलाई प्रयोगवादी कविता लेखनका प्रारम्भकर्ता मानिन्छ । उनले सामाजिक विकृति, विसङ्गति, दोस्रो विश्व युद्धले विश्वमा निम्त्याएको सङ्कटजन्य अवस्था, मानवीय अस्तित्वमा आएको ह्रास, निराशा, शून्यता र प्रचलित मान्यताप्रतिको असहमति जस्ता कुराहरूलाई विषयका रूपमा लिई कविता रचना गरेका छन् । विश्व साहित्यमा देखा परेका अस्तित्ववाद, विसङ्गतिवाद, बिम्बवाद, प्रतीकवाद जस्ता नयाँ नयाँ चिन्तनहरूलाई नेपाली कवितामा भित्र्याउने काम मोहन कोइरालाले गरेका हुँदा उनका कविताहरू निकै जटिल बन्न पुगेका छन् ।
कवि मोहन कोइराला प्रयोगधर्मी कवि हुन् । उनका कवितामा भाषाशैली र प्रस्तुतिमा नवीनता पाइन्छ । उनले व्याकरणसम्मत भाषाको प्रयोगलाई बेवास्ता गरेका छन् । उनले अवचेतन मनको भावलाई जटिल बिम्ब र प्रतीकका माध्यमबाट व्यक्त गरेका छन् । त्यसैले उनका कविताहरू जटिल र दुर्बाेध्य बनेका छन् । सामान्य पाठकका लागि उनका कविता बोधगम्य छैनन् । विभिन्न किसिमका नवीन बिम्ब र प्रतीकको प्रयोगले गर्दा उनका कविता अमूर्त बन्न पुगेका छन् । त्यसैले उनका कवितालाई समग्रतामा अथ्र्याउनु पर्ने हुन्छ । विश्रृङ्खलित प्रस्तुतिका कारण उनका कविता पङ्क्ति पङ्क्ति अर्थिदैनन् । उनका कविता मस्तिष्क खियाएर बुझ्नु पर्छ । उनी बौद्धिक कवि हुन् । उनका कवितामा बौद्धिकता पाइन्छ ।
मोहन कोइराला गद्य कवि हुन् । गद्यमा रचिएका उनका कवितामा साङ्गीतिक मिठास पाइन्छ । अप्रचलित बिम्ब र प्रतीकको प्रयोगले गर्दा उनका कविताको भाषाशैली जटिल बनेको पाइन्छ । उनका कविता साधारण पाठकका लागि सहज बोधगम्य छैनन् ।