संसारभरिकै करौडौं बौद्ध धर्मावलम्बीहरूले धर्मप्राण ठानिआएको महामानव एवम् शान्तिदूत गौतम बुद्धजस्ता महान् विभूतिलाई जन्माउने पवित्र माटो पुनीत स्थलकै नाम ‘लुम्बिनी’ हो र यो लुम्बिनी नेपालको गौरवलाई विश्वभर फिँजाउने पावन भूमि हो । नेपाल र नेपालीहरूको शान्तिप्रियताको बखान विश्वव्यापी रूपमा गर्दै यस निर्मल भूमिले संसारभर सत्य, अहिंसा, मानवता र शान्तिको सन्देश फिँजाएको छ । युद्ध, कोलाहल र पारमाणविक सन्त्रासको उकुसमुकुसमा निसास्स्एिका तमान विश्व जनसमुदायलाई यस भूमिले राहतको सास फेराएको छ । ‘लुम्बिनी’ नेपाली धर्तीका लागि एक अनुपम वरदान पनि हो ।
नेपालको हालको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पर्ने लुम्बिनी अञ्चलमा लुम्बिनी नामको जङ्गल छ । त्यस जङ्गलको एउटा रुखमन्तिर धेरै–धेरै वर्ष पहिले महारानी मायादेवीले आफ्नो कोरबाट सिद्धार्थ गौतम नामक बालक जन्माएकी थिइन् । सिद्धार्थ गौतम तत्कालीन कपिलवस्तुका शाक्यवंशी राजा शुद्धोदन र मायादेवीका सुपुत्र थिए । शुद्धोदनको राजधानी कपिलवस्तु थियो भने मायादेवीको माइती चाँहि हालको रूपन्देही जिल्ला अन्तर्गतको ‘देवदह’ भन्ने गाउँ थियो ।
कपिलवस्तुबाट देवदह जानुपर्दा एउटा घनघोर सालघारीको बाटो भएर जानुपथ्र्यो । एक दिन गर्भवती मायादेवी माइती भेट्न भनी देवदहतर्फ जाँदै थिइन् उनलाई त्यही सालघारीमा पुग्दा प्रसवपीडा भयो र त्यही नै उनले शिशुलाई जन्माइन् । जन्मले शिशु सिद्धार्थ गौतम थिए जन्माउने आमा ‘मायादेवी’ थिइन् र जन्मिएको ठाउँ थियो लुम्बिनी तिनै राजकुमार सिद्धार्थ गौतममा दरबारको सुखसयल र भोगविलासमा बालककाल र युवावस्था बिताउँदा बिताउँदै एकाएक बैराग्य जागेर आयो ।
उनी आफ्नी पत्नी यशोधरा र पुत्र राहुललाई छाडेर राजपाटको सुखसयललाई तिलाञ्जली दिई उनन्तीस वर्षको उमेरमा घरबाट निस्के । उनले लामो समयसम्मको तपस्या र साधनापश्चात बोध गयामा गएर बुद्धत्व प्राप्त गरे अनि सिद्धार्थ गौतम गौतम बुद्ध बने । उनलाई महात्मा बुद्ध भनिन्थ्यो र बुद्ध धर्मका प्रतिपादक पनि मानियो । जरामरणको बन्धनबाट मुक्त हुदै गौतम बुद्ध जस्ता विशिष्ट विभूतिलाई जन्माएकै हुनाले लुम्बिनी आज पनि नेपालका गौरवमय स्थानहरूमध्ये एक बनेको छ ।
बौद्ध धर्मावलमबी विख्यात भारतीय सम्राट अशोकले लुम्बिनीमा आएर विशाल स्तम्भ बनाएका थिए जसलाई अशोक स्तम्भ भनिन्छ । आफ्नो धर्मका महामानव महात्मा बुद्धको जन्मस्थल हेर्न आएका अशोकद्वारा निर्मित स्तम्भमा लेखिएको छ “आफू राजा भएको बखतमा देवानां प्रिय प्रियदर्शी राजा अशोक यहाँ पुजा गर्न भनी आए……….।” आज उक्त स्तम्भ मात्र होइन त्यसक्षेत्रको विकासका लागि लुम्बिनी विकास कोष नामक संस्थाको गठन भएको छ । लुम्बिनीको सालघारीलाई एक स्वर्गीय बगैंचामा रूपान्तरित गरिरहेको छ ।
स्नेहा महर्जन,ओमेगा स्कूल






