बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

Chepang society
 

भाइबहिनी हो ! नेपालका अनेक जातजातिमध्ये चेपाङ पनि एक मौलिक संस्कृति भएको जाति हो । प्रकृतिका काखमा खेल्न रमाउने चेपाङ जातिको उद्गम एवम् बसोबास क्षेत्र चितवन जिल्लाको उत्तरी जङ्गलदेखि महाभारत शृङ्खलाका काखमा अवस्थित भूभागहरू खास गरी धादिङ जिल्लाको दक्षिणी क्षेत्र र मकवानपुरको पश्चिमी भाग नै हो । वनजङ्जलमै रमाएर बस्ने भएकाले यस जातिको इतिहास महान् हुँदाहुँदै पनि कम चर्चा भएको देखिन्छ । चेपाङहरू आफ्नो राज्य रहेको, जहाँ चारजना चेपाङ राजाहरूले राज्य गरेका र पछि पाटनका मल्ल राजाले आक्रमण गरी चेपाङ राज्य समाप्त गरेका कुरामा विश्वास गर्दछन् ।

चेपाङ जातिमा आफ्नो उत्पत्तिका बारेमा पनि निकै रोचक र अनुसन्धान गर्नलायक किम्वदन्ती पाइन्छ । चेपाङ जाति आफूहरूलाई सीताका सन्तान मान्दछन् । उनीहरूका मान्यताअनुसार सीताजी वनबास जाँदा वाल्मीकि ऋषिका आश्रममा बसेकी थिइन् , त्यतिखेर उनले ‘लोहोरी’ नामको छोरो जन्माएकी थिइन् । एकदिन सीताजी लुगा धुन खोलामा गएको बेला बाँदरले आफ्ना छोराछोरीलाई माया गर्दै खेलाएको देखिन् । त्यस दृश्यले उनलाई आफ्नो छोरालाई भेट्न आतुर बनाउँछ र कुटीमा गई छोरालाई लिएर खोलामा आउँछिन् । उता वाल्मीकिलाई यो कुरा केही थाहा हुँदैन । कोक्रामा हेर्दा ‘लोहोरी’लाई नदेख्दा उनी आत्तिन्छन् । जङ्गली जनावरले लोहोरीलाई लगेको विश्वास गरी सीताको चित्त बुझाइदिन उनले आफ्ना तपोबलका प्रभावले कुशको बालक सिर्जना गर्दछन् तर सीता छोरासहित घर फर्कँदा उनी झसङ्ग हुन्छन् ।

सीतालाई सबै कुरा बताएर एकपटक निर्माण गरेको बालकलाई त्यसै फाल्नु हुँदैन भनी वाल्मीकिले सीतालाई ‘लोहोरी’ र ‘कुशरी’ दुवै बालकलाई पालनपोषण गर्न लगाउँछन् । पछि ‘लोहोरी’ र ‘कुशरी’का सन्तानहरू फैलँदै गएर कालान्तरमा ‘कुशरी’का सन्तान कुसुन्डाका रूपमा र ‘लोहोरी’का सन्तान चेपाङका रूपमा परिचित भएका हुन् भन्ने विश्वास चेपाङ जातिमा पाइन्छ ।

चेपाङहरू मूलतः वनजङ्गलमा आश्रित आदिवासी जनजाति हुन् । वनजङ्गलको विनाससँगै कुसुन्डाको अस्तित्व समाप्त हुन लागेजस्तै चेपाङहरू पनि सङ्कटका घडीमा छन् । उनीहरूका भाषा, संस्कृति र रहनसहनमा समेत परिवर्तन आउन थालेको छ तर पनि वनमा बस्ने, जीविकोपार्जनका लागि वनजङ्गलकै कन्दमूल खोज्ने र बाहिरी बस्तुको विनिमयका लागि चिउरीको घिउ बनाई बेच्ने चलन चेपाङ जातिमा रहेको पाइन्छ । विहेपछि छोरीलाई आर्थिक सङ्कट नपरोस्, घिउ बेचेर आफ्ना आवश्यकता पूरा गरोस् भनेर चेपाङहरू बिहेमा छोरीलाई चिउरीको बोट दाइजो दिने गर्थे । आजको परिस्थिति र परिवेश फरक र जटिल भए पनि बिहेमा चेलीलाई चिउरीको विरूवा दिएर आफ्नो मौलिक इतिहास र संस्कृतिलाई चेपाङहरले जोगाइरहेका छन् ।
भाइबहिनी हो ! आज मानवशास्त्रका क्षेत्रमा निकै अध्ययन भइसकेको छ तर चेपाङ संस्कृति र इतिहासका बारेमा प्रशस्त कार्य भएको छैन । उनीहरूको आर्थिक स्तरमा सुधार ल्याउ ।

प्रेमनारायण भुसाल

Top