बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

man and crow
 

अचानक सुरू भएको आँधिबेहरीसहितको वर्षाले गर्दा सडकमा आवतजावत ठप्प भएको थियो । आकाशमा कालो बादल मडारिँदै थियो । मेघको कानै फुटाउने गढगडाहट र भीषण वर्षाले सबैको मनमा डर पसेको थियो । कताकता रूखहरू एकापसमा ठोक्किएको, हाँगाहरू भाँचिएको र चराचुरूङ्गीहरू चिँ चिँ गर्दै कराएको आवाज पनि सुनिन्थ्यो । मानिसहरू बेपत्ता भएका समाचारहरू पनि आउन थालेका थिए ।

यसरी अचानक सुरू भएको आँधिबेहरीसहितको वर्षाले भीषण रूप लियो । वर्षा लगातार तीन घन्टासम्म भयो । पानी रोकिएपछि वातावरण खुला भयो । फेरि पनि सडकमा उत्तिकै चहलपहल हुन थाल्यो । वातावरण साँच्चिकै मनमोहक थियो । एकैछिनमा सडकका पसलेहरू ‘मेरो त वर्षाले यति ग-यो, यस्तो ग-यो’ भन्दै रामलीला कहन थाले । कोहीकोही त आकाशतिर हेरेर धारे हात लगाउँदै भगवान्लार्इृ सराप्दै थिए भने कोही विभिन्न देवीदेवताको नाम फलाक्दै थिए । सबै आ–आफ्नै कुरामा निमग्न थिए ।

सडकदेखि अलि परको खोलाको पैँयुको रूखनजिकै कागहरू कराएको आवाज सुनिथ्यो । त्यहाँ कसैको ध्यान पुगेको थिएन । ती कागहरू झुम्मिएर कराउँदै थिए । सबै कागहरू निराशजस्ता देखिन्थे भने कोही आत्तिएका देखिन्थे । त्यहाँको वातावरण कारुणिक थियो । कागहरूका बीचमा एउटा काग असिनाले पखेटामा चोट पु-याएकाले घाइते अवस्थामा ढलेको थियो । अरू कागहरू उसकै वरिपरि कराउँदै थिए ।

सोही खोलाको अलि तल बगरमा एउटा सडकबालक जमिनमा उत्तानो पल्टिएको थियो । साथमा उसकी सेताम्मे केस भएकी हजुरआमा उसको टाउको काखमा लिँदै विलाप गर्दै थिइन् । बाटामा हिँड्नेहरूसँग सहयोगको याचना गर्दै पुकार्दै थिइन् – ‘लौ न मेरा नातिलाई बचाइदिनुस् । म बुढीको बुढेसकालको सहारा कोही छैन ! लौ न हजुर ठूलो धर्म हुन्छ, यसलाई अस्पताल पु-याइदिनुस् !’ आदि आदि । बालको शरीर निलाम्मे भइसकेको थियो । बाटामा हिँड्ने मान्छेहरू च्वँ च्वँ गर्दै अघि बढ्थे भने कोही आफ्नो साइत बिग्रेको सम्झी बालकतर्फ थुक्दै हिँड्थे । बूढीआमा करिब चार घन्टाजति अलापविलाप गरी बच्चाकै छेउँमा छटपटाउँदै प्राणत्याग गरिन् । सडकमा चहलपहल उस्तै नै थियो ।
उता घाइते कागलाई अरू कागहरूले कुरिरहेका थिए । कुनै कुनै कागले मुखमा आहारा ल्याएर ख्वाउँदै पनि थिए तर अँहँ घाइते कागले खानै मानेको थिएन । मध्यराततिर भ्याटभ्याट पखेटा फटफटाउँदै घाइते काग म¥यो । अरू कागहरू पनि दुई दिनसम्म कतै गएनन् । सबैले मृत कागको शोक मनाएझैँ लाग्दथ्यो । दुई दिनपछि मात्र कागहरू उडेर अन्यत्र गए । अर्कोतिर मृत सडकबालक र उसकी हजुरआमाको लासलाई कसैले छोृएकोसम्म थिएन । सबै थुक्दै हिँड्थे । लास निकै गनाउन थालेपछि नगरपालिकाबाट एउटा डोजर आएर लासलाई अन्यत्र कतै लगेर फाल्यो ।
अब भने त्यस ठाउँबाट दुर्गन्ध हट्यो । साँच्चै मानिस कति विवेकशील छ ? धनीमानीको मान गर्ने अनि गरिबको अपमान ! त्यत्रा कागहरू एउटा कागको मृत्युमा शोक मनाएर बसे तर एउटा बालक र उसकी हजुरआमा मर्दा उनीहरूको लासलाई विधिपूर्वक डढाइएन, न त गाडियो नै ! किन त ? किनकि त्यसो गर्दा पैसा लाग्छ, समय लाग्छ, किनभने मानिस कागभन्दा धेरै विवेकशील छ ! कहाँ काग, कहाँ मान्छे !!?

चोनाङ राई

Top