बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

pradhan
 

परशु प्रधानको जन्म वि.सं २००० साल माघ ३० गते भोजपुर जिल्लामा भएको हो । उनका बुबाको नाम रामबहादुर प्रधान र आमाको नाम इन्दिरा प्रधान हो । साहित्यकारका साथसाथै उनी राष्ट्रिय समाचार समितिको जागिरे पनि हुन् । पछि उनी साझा प्रकाशनको जागिरे पनि भए । २०२६ सालदेखि उनी प्रशासन सेवामा लागे ।

वि.सं २०१४ सालमा भोजपुरको विद्योदय हाइस्कूलबाट एसएलसी पास गरेका परशु प्रधानले कलेजको मुखै नदेखिकन प्राइभेट विद्यार्थी भएर बिए पास गरेका हुन् । उनले नेपाली विषयमा र राजनीतिशास्त्र विषयमा एम ए सम्मको अध्ययन गरेका छन् ।

परशु प्रधानले वि.सं २०१३ सालदेखि नै कविता लेख्न थालेका हुन् । २०१६ सालमा जीवनपथ कविता संग्रह प्रकाशित गरे । वि.सं २०१९ सालमा मेरो कोठाको आँखा शीर्षकको कथा रूपरेखा पत्रिकामा प्रकाशित गरेका प्रधानले २५० भन्दा धेरै कथा लेखेका छन् । यस बाहेक उनले उपन्यास पनि लेखेका छन् । परशु प्रधानले लेखेको बालकथा संग्रह नानीको कथा, सुनको छाती, विश्व परिकथा, बोल्ने चरो आदि प्रसिद्ध छन् । निबन्ध, समीक्षामा उनले कलम चलाएका छन् । विराटनगरमा उनले वाणी प्रकाशन भन्ने संस्था खोलेर धेरैलाई साहित्यमा लगाउने काम गरेका छन् । उनले अंगेजी भाषामा पनि लेखेका छन् ।

नेपाली कथा र बालकथाका क्षेत्रमा परशु प्रधानको नाम अग्रणी स्थानमा रहेको छ ।उनका कथाको शैली सरल र सरस भएकाले पनि सबैलाई मन पर्छन् । बालकथाको पनि शैली असाध्यै सरल छ । नेपाली बालसाहित्यले उनीबाट धेरै पाएको छ । उनको २०१९ सालमा बालसाहित्यकार जानुका देवी रेग्मी (साहित्यमा कल्पना प्रधान) सँग प्रेम विवाह भएको हो । उनी जागिरबाट २०५१ सालमा अवकाश लिए पनि साहित्यमा उनी लागिरहेकै छन् ।

Top