धेरै वर्षअगाडिको कुरा हो गोधुली साँझको समय थियो नदीकिनारमा मन्दमन्द हावा चलिरहेको थियो । एउटा बालक नदीकिनारमा बसेर आकाशतिर हेर्दै रमाइरहेका थिए । उनका पछाडिबाट महिला आवाज सुनियो, ‘भाइ, साँझ परिसक्यो घर हिँड । अब अबेर गर्नुहुन्न । छिटै रात पर्छ ।’ चिरपरिचित आवाज सुनेपछि उनले पछाडि फर्केर हेरे । त्यहाँ उनकी दिदी उभिएकी थिइन् । उनले भनिन् । ‘आज चिसो धेरै बढेको छ । आमाले तिम्रा लागि न्यानो ओढ्ने पठाइदिनुभएको छ, लेऊ यो ओढ ।’
बालकले त्यो ओढ्ने लिएर ओडे अनि दिदीसँगै घरतिर लागे । बाटामा उनले एउटा भिखारीलाई देखें । भिखारीको लुगा ठाउँ(ठाउँमा च्यातिएको थियो । उनी चिसोले कठ्याग्रिँदै बालकको अगाडि आइपुगे । ती साना बालकले भिखारीको शरीर जाडोले कामिरहेको देखे । त्यो दीनहीन भिखारीको अवस्था देख्दा ती बालकको मनमा दया भरिएर आयो । ती बालकले आफ्नो न्यानो ओढ्ने भिखारीलाई दिए र भने, ‘बाबा, भिख माग्नु राम्रो काम होइन । भगवान्ले तपाईलाई हातखुट्टा दिएका छन्, मिहिनेत गर्नुहोस् र मिहिनेतको कमाइ खाएर बाँच्नुहोस् । किनकी, मिहिनेत गर्नै मानिसले कहिल्यै अरुको अगाडि हात फैलाउनु पर्दै र यताउता भड्किनु पनि पर्दैन ।’
बालकका कुरा सुनेर ती भिखारीले बालकलाई हेरिरहे । भिखारीले त्यस दिनदेखि भिख माग्न छाडिदिए र मिहिनेत मजदुरी गर्न थाले । त्यसरी भिखारीको हृदय परिवर्तन गर्न सफल बालकको नाम थियो नानक । तिनै बालक पछि गएर महान् सन्त गुरु नानक नामले प्रसिद्ध भए ।