नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर(घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
घटस्थापनाको साइत बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।
जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।
कसैकसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गर्दछन्, तर जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष बताउँछन् ।
दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । विजयादशमीका दिन बिहान ८ः४५ बजे देवी विसर्जन गरेपछि १०ः३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।
धेरैजसो शैक्षिक संस्थाले आजैका दिनदेखि दशैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने पछिल्ला वर्षमा कटौती गरिएको छ ।






