४ असार, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।

राष्ट्रिय सभाबाट पारित भई पुन: प्रतिनिधि सभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएका थिए ।

सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद‍्बाट पास गरेको थियो ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।

प्रतिनिधि सभामा समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने तथ्य र प्रमाण नपुग्ने भन्दै संशोधन विधेयक दर्ता गरेकी थिइन्, जसलाई सभामुख सापकोटाले अस्वीकृत गरिदिएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले भारत वार्तामा बस्न तयार हुनुपर्ने बताए । बिहीबार राष्ट्रिय सभा बैठकमा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा राखे ।

‘हामी बारम्बार भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं’ नेता श्रेष्ठले भने, ‘भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ।’

राष्ट्रिय सभामा नेकपाका नेता दिनानाथ शर्माले भारत असल छिमेकी भए नेपाललाई दार्जिलिङ, काँगडासम्मको भूभाग फिर्ता दिनुपर्ने बताए । ‘चेलीबेटीको नाता हो, डोलीबेटीको नाता हो भनेर भारतका नेताहरू भन्नुहुन्छ । यदि त्यसो हो भने सगौरव दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ र काँगडासम्मको भूभाग फिर्ता गरिदिनुपर्छ । यो तपाईंहरूको नासो हो, यो नासो बुझ्नुस् भनेर भन्नुपर्छ’ नेता शर्माले भनेका छन् ।

राजपाका सांसद शेखरकुमार सिंह र समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले मधेसी जनता फ्रन्टलाइनका सीमारक्षक भएको बताएका छन् । ‘हामी त फ्रन्टलाइनका सिपाही हौं । बेलाबेला आफ्नो पहिचान दिएर आइसकेका छौं’ राष्ट्रिय सभा बैठकमा सांसद सिंहले भने ।

समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले आन्तरिक राजनीतिक एजेन्डा आ-आफ्ना भए पनि राष्ट्र र राष्ट्रिय अखण्डताका विषयमा सबै राजनीतिक दल एकठाउँमा रहेको बताइन् ।

Top