बालसिर्जना संवाददाता २९ भदौ २०७७, सोमवार

 

निबन्धकार रुद्र खरेल ः जीवनी र योगदान
जीवनीका प्रमुख प्रसङ्ग
नेपालको सुदूर–पूर्वी जिल्ला पाँचथरको च्याङथापुस्थित फलैंचा भन्ने गाउँमा वि.संं २००४ भदौ १८ गते रुद्र खरेलको जन्म भएको थियो । पिता देवीचरण खरेल र माता ‘भक्ति’ भनिने राममाया कडरियाका तीन छोरी र तीन छोरा गरी जम्मा छजना सन्तानमध्ये उनी सबैभन्दा कान्छा थिए । आफ्नो वासस्थान फलैंचामा गरीखान पुग्ने खेतीपातीको कमी तथा अत्यन्त नाजुक आर्थिक अवस्थाका कारण आफ्नो परिवारसहित देवीचरण खरेल जीविकोपार्जनार्थ २००६ सालतिर दार्जिलिङतर्फ लागे । डेढ वर्षजति त्यहाँ बसेर उनी पुनः नेपालतर्फ फर्किई इलामको बर्फल्याङमा बस्न थाले । यसैबीच वि.सं. २००८ मा देवीचरणको देहावसान हुन पुगेकाले उनीहरूको परिवार सहाराविहीन भयो । गुजाराका लागि अरूको खेती कमाउँदै इलाम तथा झपाका विभिन्न स्थानमा पटक–पटक बसाइँ सर्दै उक्त परिवार २०११ सालमा झापाको शनिश्चरे आइपुग्यो । अस्थिर बसाइ र गरिबीले गर्दा रुद्र खरेलले समयमा नै विद्यालय भर्ना हुन पाएनन् । २०१५ सालमा विद्यालयमा भर्ना हुन भनी गएका रुद्र खरेल आमाको मृत्यु भएकाले फेरि पनि भर्ना हुन पाएनन् । त्यसपछिका केही वर्ष उनले सुखानीको जङ्गलमा गाई चराएर बिताए । २०१७ सालमा एकैचोटि चार कक्षामा भर्ना पाएका खरेलले शनिश्चरे हाइस्कु्ल झापाबाट २०२४ सालमा एस.एल.सी. पूरा गरे । त्यस्तै खरेलले मेची कलेजबाट २०२६ सालमा आइ.ए. तथा २०२८ सालमा बी.ए. उत्तीर्ण गरेका हुन् । बालकदेखि नै वर्गीय समाजका विसङ्गति देखे–भोगेका रुद्र खरेल सानैदेदि एकातिर वामपन्थी राजनीतिक चेतनाबाट प्रभावित थिए भने अर्कातिर शनिश्चरे हाइस्कुलको साहित्यिक वातावरण र गुरुहरूका प्रेरणाबाट विद्यालय जीवनदेखि नै उनी साहित्यरचना कार्यमा लागिसकेका थिए ।
नेपालको वामपन्थी राजनीतिका क्षेत्रमा ऐतिहासिक मानिने झापाबाट निस्कने ‘पञ्चामृत’ मासिक पत्रिकाको लीला उदासी, द्रोणाचार्य क्षेत्री राधाकृष्ण मैनाली र रुद्र खरेल २०२५ सालमा सम्पादक थिए । निरङ्कुश पञ्चायती सरकारको निर्देशनमा झापाको प्रेसले उक्त पत्रिका छाप्न नमानेकाले सो पत्रिका प्रकाशनको प्रयोजनका लागि रुद्र खरेल वनारस
गए । त्यहाँ उनको भेट पुष्पलालसँग भयो । त्यस भेटका अवसरमा उनले पुष्पलालसँग वैचारिक चिन्तनको छलफल गर्ने अवसर प्राप्त गरे जसबाट उनलाई नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा निकै ज्ञान हासिल भयो । नेपाल फर्केपछि उनी राजनीतिमा अझ बढी सक्रिय हुन थाले ।
२०२९ सालको झापाको जल्दोबल्दो परिवेशमा नीरा थपलियासँग उनको विवाह जनवादी ढङ्गले सम्पन्न भएको थियो । विवाहको एक वर्ष नपुग्दै २०३० सालमा उनी गिरफ्तार भए । झापाको चन्द्रगढी जेलमा राखिएका उनलाई सोही साल त्यहाँबाट हवाइजहाजमा राखी काठमाडौं ल्याइयो । जेलभित्रका थुपै्र राजनीतिक बन्दीहरू तथा बौद्धिक व्यक्तिहरूसँगको सम्पर्कले खरेलका ज्ञानको क्षेत्रले फस्टाउने मौका प्राप्त ग¥यो भने जेलबाट नै सन् १९७२ मा उनले नेपाली विषयमा एम.ए. उत्तीर्ण गरे । २०३४ सालमा जेलबाट छुटेपछि नेपाल ल क्याम्पसमा प्राध्यापन गर्न थालेका खरेलले २०६२ सालसम्म त्यहाँ अध्यापान गराए । २०६२ साल जेठदेखि उनी पाटन संयुक्त क्याम्पसमा सरुवा भई कार्यरत थिए । त्यस्तै २०३१ सालदेखि २०४२ सालसम्मको अवधीमा उनका चार छोराहरू जन्मिए तापनि तीमध्ये कसैको जन्मँदै र कसैको केही वर्ष बाँचेर नाबालकमै मृत्यु भएकाले उनलाई जीवनमा पुत्रशोकले अत्यन्त शोकाकूल बनायो । हाल उनका दुई छोरी छन् । तीमध्ये जेठी नूतन खरेलले २०६३ मा त्रि.वि. बाट अङ्ग्रेजी विषयमा स्नातकोत्तर पूरा गरेकी छन् भने कान्छी दीक्षा खरेल स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् ।
लेखनका क्षेत्रमा भने २०२५ सालदेखि नै कलम चलाउन थालेका खरेलले २०४० सालपछि मात्र आफ्नो लेखनलाई गति दिएका हुन् । ६ वटा निबन्धसङ्ग्रह एउटा कवितासङ्ग्रह र पाँच दर्जनभन्दा बढी वैचारिक चिन्तनयुक्त लेखरचना प्रकाशित गराएका, पाटन संयुक्त क्याम्पस र काठमाडौँ स्कुल अफ ल दधिकोट भक्तपुरमा प्राध्यापन गरिरहेका तथा ने.क.पा. एकीकृतको केन्द्रीय सदस्य रहेका रुद्र खरेल ढाड दुख्ने रोगले च्यापेर २०६५ साल जेठ ३० गते जोरपाटी स्थित अर्थोपेडिक अस्पतालमा भर्ना भए । उनको व्यथा बढेपछि त्यहाँबाट जेठ ३२ गते राति उनलाई त्रि.वि. शिक्षण अस्पताल महाराजगंज लगियो र आइ.सी.यु. मा भेन्टिलेटरको प्रयोग गरी दुई महिनाभन्दा बढी राखियो । उक्त समयमा अस्पतालमा उनलाई भेटी उनको स्वास्थ्यलाभको कामना गर्न उनका थुप्रै सहपाठी प्राध्यापक, राजनीतिज्ञ तथा उनलाई माया गर्ने व्यक्तित्वहरूको उपस्थिति रहे तापनि पूरै समय बेहोस रहेका खरेलले कसैलाई चिन्न र दोहोरो कुरा गर्न सकेनन् । असैह्य व्यथाले गर्दा उनको अवस्था कारुणिक थियो । अन्तमा २०६६ साल भदौ ८ गते बिहान २ः३५ बजे दुई छोरी र एक श्रीमतीको परिवार र समग्र सहकर्मी साहित्यकार, राजनीतिज्ञ तथा पाठकहरूलाई छोडी उनी भौतिक जगतबाट बिदा भए । उनको देहावसानले प्रगतिशील नेपाली साहित्यको फाँटमा तथा नेपाली वाम राजनीतिका क्षेत्रमा गम्भीर र अपूरणीय क्षति पु¥याएको छ ।
सम्पादन तथा लेखन कार्य
लेखन क्षेत्रका साथसाथै सम्पादनकार्यमा पनि खरेल निकै क्रियाशील पाइन्छन् । ‘मुना साहित्य सेवा समिति’ शनिश्चरे झापाद्वारा प्रकाशित ‘सामयिक सङ्कलन’ उनी द्वारा सम्पादित पहिलो कृति हो । त्यस्तै २०२५ सालमा झपाबाट प्रकाशित ‘पञ्चामृतको पनि उनले सम्पादन गरे । काठमाडौंबाट प्रकाशित हुने ‘उत्साह’, ‘वेदना’ जस्ता साहित्यिक पत्रिकाको पनि उनले सम्पादतन गरेका थिए । त्रि.वि. कानुन अध्ययन संस्थानबाट प्रकाशित ‘कानून परिचर्चा को सम्पादन गरेका खरेलले नेपाल बार एसोसिएसनबाट प्रकाशित ‘चालीसको दशकका केही प्रगतिशील कविताहरू’ को सहसम्पादन गरेका खरेलले २०४७ सालमा सबै धारा र प्रवृत्तिहरूको क्रान्तिकारी कविताहरूको सँगालो ‘आन्दोलन कविता’ को पनि सम्पादन गरेको पाइन्छ ।
लेखनतर्फ रुद्र खरेलको साहित्ययात्राको सुरुवात कविता लेखनबाट भएको हो । शनिश्चरे हाइस्कुलका तत्कालीन शिक्षक इन्द्र प्रधान र अन्य शिक्षक तथा विद्यार्थीको पहलमा ‘उषा’ पत्रिका प्रकाशन हुन्थ्यो । त्यसमा कक्षा ८ मा पढ्दै गरेका खरेलको ‘आह्वान्’ शीर्षक कविता प्रकाशित भएको थियो भने निबन्धका क्षेत्रमा २०२५ सालमा ‘पञ्चामृत’ पत्रिकामा प्रकाशित ‘नमस्ते’ शीर्षक निबन्ध नै उनको प्रथम प्रकाशित निबन्ध हो । यसबीचमा राजनीतिक क्षेत्रको क्रियाशीलता, लामो जेलजीवन र अन्य कार्यव्यस्तता आदिले गर्दा उनको लेख्ने कार्यले गति लिन सकेन । २०४० सालछि भने उनले लेखन कार्यलाई निकै गति दिएको पाइन्छ ।
निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा २०४६ साल चैत ३ गते लेखक कलाकारको समूहमा उनले आफ्नो पनि गिरफ्तारी दिए । त्यसैबखत जेलमा रहँदा उनले आफ्ना छोरीहरूलाई सम्बोधन गरी लेखेका गद्य कविताहरूको सङ्ग्रह ‘छोरीलाई’ २०४७ सालमा प्रकाशित गरे । यस सङ्ग्रहका कवितामा विभिन्न विम्ब तथा प्रतीकहरूको प्रयोग गर्दै निरङ्कुशताको विकृत रूपबारे छोरीहरूलाई जानकारी दिइएको छ भने निरङ्कुशको पराजय तथा क्रन्किारीहरूको जित सुनिश्चित रहेको उद्घोष गरिएको छ । यो उनको एकमात्र कवितासङ्ग्रह हो । तर, यसपछि खरेलको लेखनी निबन्धतर्फ बेजोड भएर चल्यो ।
२०४० सालदेखि लेखिएका तथा कुनैचाहिँ पत्रपत्रिकामा प्रकाशितसमेत रहेका आफ्ना निबन्धहरूको प्रथम सँगालो ‘तपाईंको नाम के हो ?’ उनले २०४९ सालमा प्रकाशित गरे । यसमा सङ्ग्रहित निबन्धले विशेष रूपमा २०४६ सालअगाडि जनतालाई शोषण–दमन गर्नेहरूलाई र २०४६ सालपछि आफूलाई जनपक्षीय तथा समाजसेवी भनी टाउको देखाउनेहरूलाई खबरदारी गर्दै परिचय सोधेका छन् । लेखकलाई उनीहरूको नियतमाथि शङ्का उत्पन्न भएको छ । त्यस्तै, २०४९ देखि २०५२ सम्मका आफ्ना निबन्धहरूलाई समेटेर २०५२ सालमा उनले ‘तोरीलाहुरे चोकमा एक छिन्’ शीर्षक सङ्ग्रह प्रकाशित गरे । यस सङ्ग्रहका निबन्धले जनताको आशामाथि तुषारापात गरिएको, देशलाई खोक्रो बनाइएको तथा राष्ट्रका संवेदनशील क्षेत्रशहरू हत्या, हिंसा, बलात्कार र लुटपाटले तोरीलाहुरे चोकमा परिणत भएको यथार्थमाथि व्यङ्ग्य गरेका छन् । यथार्थमा बहुदलीय व्यवस्था प्राप्तिपछि जनताको आशाविपरीत समाजका जिम्मेवार व्यक्तिहरूमा मौलाएको छाडापन र विसङ्तिलाई यसले खोतलेको छ । २०५२ सालभरिमा प्रकाशित निबन्ध सङ्ग्रहहरूमध्ये उत्कृष्ट भएको ठहर गर्दै खरेलको यस कृतिलाई ‘कृष्णमणि साहित्य पुरस्कार’ बाट सम्मानित गरियो । उपर्युक्त दोश्रो सङ्ग्रहमा आइपुग्दा नेपाली व्यङग्य फाँटमा रुद्र खरेलको व्यङ्ग्यकारिता आफ्नै शैली र व्यङ्ग्यचेतले परिपक्व भइसकेको पाइन्छ ।
प्रजातन्त्र प्राप्त गरिसकेपछि नेताहरूले जनतालाई दिएका अश्वासन भुल्दै गएको सन्दर्भमा प्रहार गर्दै २०५७ सलमा रुदै खरेलले तेस्रो निबन्धसङ्ग्रह ‘बिर्सिस्यो कि ?’ प्रकाशित गरे । यस सङग्रहमा आफ्नो आचार र मान्यता भुल्दै गएका पुँजीवादी र नवधनाढ्यहरूलाई सवालसहित व्यङ्ग्य गरिएको छ । मुलुकमा उत्कर्षतर्फ लम्केको जनयुद्ध र भयावह स्थितिको सिर्जना भएको अवस्थाको चित्रण गरी मुलुकभित्र बगेको रगतको खोला पखाल्नका लागि मेघ(बादल) सँग आग्रहका साथ ‘आषाढस्य प्रथम दिवसे’ निबन्धसङ्ग्रहको प्रकाशन २०५९ सालमा गरे । युद्धले अचेत बनाएको बस्तीमा चेत ल्यउन र रगतका टाटाले विकृत, बीभत्स भएका पाखापखेरा धोइपखाली गर्न अर्थात् युद्ध समाप्त गरी शान्ति स्थापना गर्न मेघ (प्रतीकात्मक रूपमा सर्जक तथा शान्तिकामी जनता) लाई आग्रह गर्दै यो सङ्ग्रह सिर्जित भएको छ ।
मुलुकभित्रको चरम निरङ्कुशता र नेपाली जनताको मुक्तिप्रतिको चाहनालाई ज्ञान, विवेक र चेतनारूपी दृष्टिले हेर्दै ‘तेस्रो आँखा’ शीर्षकको पाँचौँ निबन्धसङ्ग्रह २०६१ सालमा प्रकाशित गरे । आखिरमा रुद्रको तेस्रो आँखाको दिव्य–दृष्टि झूटो कदापि हुन सकेन । २०६२ को सुरुमै युगौंको ज्याद्रो निरङ्कुशता ढल्यो । परिवर्तनकामी जनताको अग्रपङ्क्तिमा रहेका खरेलको त झन् यो महान् जीत थियो । उनी जीवनमा सबैभन्दा खुसी यही क्षण थिए ।
प्रगतितर्फ लम्कनु संसारकै नियम हो । रुद्र खरेलले सोचेजस्तो बिन्दुमा समाज पुगिसकेको नभए तापनि त्यसतर्फ लम्कँदो थियो । समाजले चाहेको परिवर्तन र यसको गन्तव्यको प्रारूप तयार गर्न खरेललगायत बौद्धिक व्यक्तित्वहरू सफल भइसकेका थिए र समाजका लागि यति धेरै योगदान दिइसकेका खरेल आफ्नो योगदानलाई नगन्य सम्झेर अझै धेरै काम गर्न तम्सिएका थिए । राजनीति र समाजका अनेकौं विसङ्गति खोतल्दै व्यङग्य प्रहार गर्न सिपालु खरेललाई भाषिक तथा साहित्यिक क्षेत्रमा फस्टाउँदै गएका विसङगतिको टडकारो आभाष हुन थाल्यो । एकतर्फ जुनजुन विषयमा गम्भीरतासाथ प्रस्तुतिमा सामेल भएका शब्दहरू भ्वाङ पर्दै जान थाले भने अर्कातर्फ राम्रा भनी ठह¥याएका व्यक्तिहरू आचरण स्खलन हुँदै गएर निकम्मा भेटिन थाले । यिनै भाषिक तथा मानवीय विसङ्गतिलाई समेटेर २०६४ सालमा उनले ‘शब्दको भ्वाङ’ शीर्षक छैटौं निबन्धसङ्ग्रह प्रकाशित गरे । अर्कातिर कहिल्यै हार नखाने, जस्तोसुकै परिस्थितिमा पनि जुझारु भएर लाग्ने कर्मशील खरेलको स्वास्थ्यमा पनि बिस्तारै भ्वाङ पर्दै थियो । उनलाई आफ्नो स्वास्थ्यभन्दा आफ्नो पेसा, साथी, सहकर्मी र विद्यार्थी प्यारो थिए अर्थात् यी सबौ पक्षलाई समय दिँदा उनले आफ्नो स्वास्थ्यको खोजी गर्न भ्याएका थिएनन् । आखिरीमा उनको स्वास्थ्यको भ्वाङ् टाल्न नसकिने भयो । हुन त मृत्यु सबै मनिसले स्वीकार्नुपर्ने सत्य हो तर कतै रोगले छुनेबित्तकै उपचार हुन पाएको भए वा अस्पतालमा सुरु भर्ना हुँदैमा रोग पत्ता लाग्न सकेको भए हामीले यति छिटै उनलाई गुमाउनुपर्ने थिएन कि ? तर बाध्य भएर अत्यन्त पीडासाथ नेपाली साहित्यानुरागी र क्रन्तिपे्रमी जनता उनीसँग २०६५ भदौ ८ गते वियोगिनु प¥यो ।
नेपाली निबन्ध फा“टमा रुद्र खरेलको योगदान
कविता तथा निबन्ध दुवै विधामा कलम चलाउने खरेललाई परिचित गराउने क्षेत्र भने निबन्ध विधा नै हो । निबन्धको आधुनिक काल देवकोटादेखि सुरु भई आजसम्म आइपुग्दा विभिन्न चरण र प्रवृत्ति पार गरिसकेको छ भने अनेकौं व्यक्तित्वहरूले यस फाँटमा योगदान दिएका छन् । निबन्धमा प्रगतिवादी चेत र व्यङ्ग्यको छनक देवकोटादेखि नै पाइए पनि भैरव अर्याल, केशवराज पिंडालीलगायतले व्यङ्ग्य निबन्धलाई फस्टाउने कार्य गरे । पछिल्लो कालखण्डमा आएका प्रसस्तै व्यङ्ग्य निबन्धकारहरूमध्ये रुद्र खरेल उल्लेख्य नाम हो । नेपाली निबन्ध फाँटमा उनी आफ्नै शैली र व्यङ्ग्यकारिता स्थापित गर्न सफल भएका छन् । उनका निबन्धमा प्रयुक्त वैचारिक चिन्तनका साथै भाषाशैली र व्यङ्ग्य प्रतिभाले उनलाई स्पष्ट रूपमा अन्य निबन्धकारभन्दा अलग बनाएको छ । वैचारिकताहीन हास्य सृजनापद्धतिभन्दा अलग, हास्यहीन तर गम्भीर व्यङ्ग्य उनको निबन्धगत विशेषता हो । समाज र मुलुकका संवेदनशील विषयवस्तुमा ख्यालख्यालमै तीव्र प्रहार गर्नु, परम्परागत रुढीवादी तथा निरङ्कुशको उछित्तो काढनु, लैङ्गिक असमानताको जोडदार विरोध गर्दै महिलाको समान हैसियत र स्थानका लागि राज्यपक्षले निर्वाह गर्नुपर्ने भूमिकबारे छलफल गर्नु उनको निबन्धका प्रमुख सवालहरू हुन् । समसामयिक विषयलाई समेत आफ्ना निबन्धको वस्तु बनाउँदै विभिन्न ओहदा र कार्यक्षेत्रमा रहेका विसङगत चरित्र र आचरणका व्यक्तिहरूमाथि पनि उनले व्यङ्ग्य चलाएको पाइन्छ । आफ्ना समकक्षी साहित्यकार विमल निभा, राजेन्द्र सुवेदी, विष्णु प्रभातलगायत थुप्रै निबन्धकारका बीचमा रहेर अरूभन्दा अलग पहिचान बनाएका खरेलका निबन्धहरू प्रिवर्तनतर्फ उन्मुख प्रगतिशील विचारले पूर्ण र उत्कृष्ट छन् । निबन्धमा प्रयुक्त भाषाशैली पनि छुट्टै पहिचान गराउने अर्थात् ‘खरेल शैली’ भनी चिनाउन सक्ने देखिन्छ ।
निचोडमा आफ्नो जीवनका ६१ वर्ष अवधिमध्ये अभावग्रस्त बाल्यकाल सङघर्षपूर्ण तथा वियोगपूर्ण युवावस्था र जीवनका आरोह–अवरोहभित्रका उतार–चढावभित्र कम खुसी र बढ्ता दुःख–समस्या बेहोरेका रुद्र खरेलले आफ्नो अधिकांश समय साहित्य सेवा र राजनीतिमा बिताए । उनको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण पक्ष उनी चिन्तन र व्यवहारमा एकरूपता भएका तथा आफ्नो विचारबाट ढुलमुल नभई दृढ रहने व्यक्तित्व थिए । यस्ता अनुकरणीय व्यक्तित्व खरेलको योगदान विशेषतः नेपाली साहित्य र राजनीतिका क्षेत्रमा पनि अविष्मरणीय रहने छ । खरेलका असल विचारलाई मानिसले युगौं भुल्ने छैनन्, बरु उनले देखाएको बाटो अङ्गाल्दै प्रगतिशील र समतामूलक समाजको निर्माणतर्फ सबै चेतलशील व्यक्तित्व अग्रसर हुनेछन् । निबन्धकार रुद्र खरेल नेपाली व्यङग्य निबन्धका फाँटमा कहिल्यै नअस्ताउने घाम हुन्, जसको प्रकाशले यो फाँट उज्यालो र तेजोमय भइरहनेछ ।
‘तोरीलाहुरे चोकमा एक छिन’ निबन्ध ः सङ्क्षिप्त विश्लेषण
हत्याहिंसा र बलात्कारको बिगबिगीले निम्ठिएर कानुनी राज समाप्त भई एउटा सि¨ो मुलुक नै ‘तोरीलाहुरे चोक’मा परिणत भएको र त्यस चोकभित्रको एकैछिनको चर्चाभित्र समग्र विसङ्गतिलाई नाङ्गेझार पारिएको प्रस्तुत निबन्ध शीर्षकबाट नै यस सङ्ग्रहको समेत नामकरण गरिएको छ । चारशब्दे शीर्षक चयनभित्र क्रमशः विशेषण, विभक्ति लागेको नाम शब्द र एक अव्यय पर्दछन्— ‘तोरीलाहुरे चोकमा एक छिन’ । ‘तोरीलाहुरे’ शब्द नेपाली समाजमा एउटा मिथक भइसकेको छ । यसैले शीर्षकमै मिथकीयता र व्यङ्ग्य दुवै झल्कन्छन् भने ‘छिन’को प्रयोगचाहि“ ‘क्षण’ शब्दको कथ्य रूप हो ।
म पात्रको छेउमा भएकी प्लाष्टिक मोडेलकी युवती बाहेक अरू सबै युवतीहरू बलात्कृत हुने देशको तोरीलाहुरे चोकमा त्यस्ता बलात्कारीहरूलाई उच्च ओहदाका प्रहरीहरूकै संरक्षण प्राप्त छ । म पात्रसमेत चोकको सबैभन्दा शक्तिशाली व्यक्तिले एउटी कुचीकारमाथि गरेको बलात्कारको परिणाम हो । पछि त्यही बलात्कारी तोरीलाहुरे चोकको बहुमतले मन्त्री भयो, कुचिकारले न्याय पाउने ढोका झन् बन्द भयो । त्यसैले म पात्र आङ्खनो बाबुलाई ‘प्राविधिक बाबु’ भन्छ र तोरीलाहुरे चोक भएको देश पनि प्राविधिक कारणले मात्र देश हो किनभने सो देश विदेशीले घर, घडेरी र श्रीमती जोड्ने र फाइदा सकिएपछि टाप ठोक्ने थलो भएको बताउ“छ । झोडा आवादी गर्दा डढाइएको जङ्गलको खरानीमा सप्रिएको तोरी बेचेर रातारात धनी भएका र बिजुली पानीको इसारामा हल्ल“दै हि“ड्नेहरू विभिन्न वादको वकालत गर्न पछि पर्दैनन् । अलाउदीनको जादुको बत्तीले रातारात महाजन बन्नेहरू प्लास्टिकको मोडल युवती जस्तै मुटु र संवेदनाहीन भएको कुरा म पात्र बताउ“छ ।
देशीय अस्तित्व समाप्त पारिएको र देशलाई व्यापारिक वस्तुको रूपमा सोकेसमा सजाएको यथार्थ नै नेपालको यथार्थ हो । राष्ट्रिय स्वाधीनता र निष्पक्ष जनपहु“च पुग्ने कानुनीराज मुलुकमा रत्तिभर नभएको वैचारिकता निबन्धले प्रकट गरेको छ । प्रथमपुरुष कथनपद्धतिको प्रयोगबाट सात अनुच्छेद, साढेतीन पृष्ठ र छयासी वाक्यको संरचनाभित्र जटिल आलङ्कारिक शब्द र आशयमा निबन्ध बनिएको छ । ‘तोरीलाहुरे चोक’
(पृ.४–७), ‘मोडल युवती’ (पृ.४), ‘प्राविधिक मानिस’ (पृ.५) ‘प्राविधिक देश’
(पृ.५) आदि शब्दहरूलाई विशेष अर्थमा प्रयोग गरिएको छ । निबन्ध लक्ष्यार्थ तथा व्यञ्जनार्थ पहिल्याउन सक्ने बौद्धिक पाठकका लागि उपयुक्त हुने खालको आलङ्कारिक–प्रतीकात्मक भाषा र व्यङ्ग्यात्मक–वर्णनात्मक शैलीमा सृजित छ । सरल, संयुक्त र मिश्र तीन प्रकारकै वाक्यगठन र तत्सम, तद्भव र आगन्तुक तीन किसिमकै शब्दहरूको प्रयोग निबन्धमा पाइन्छ ।
प्लाष्टिक मोडेल युवतीका रूपमा देशलाई उभ्याई देशघातक शक्तिहरूलाई कडा प्रहार गरिएको छ । तीक्ष्ण व्यङ्ग्यको पुट रहेको यो निबन्ध सङ्कटयुक्त राष्ट्रियता, स्वाधीनता जस्तो अति महŒवपूर्ण सवालले ओतप्रोत छ । मुलुकका लागि प्रत्येक देशभक्त नागरिकले सोच्नै पर्ने सन्देश मार्मिक रूपमा निबन्धले पस्केको छ । निबन्ध उत्कृष्ट छ ।

Top