पारिजातको परिचय
आख्यानकार पारिजातको वास्तविक नाम विष्णुकुमारी वाइबा हो । उनको जन्म वि. सं. १९९४ साल वैशाखमा लिगिंया चियाकमान, दार्जिलिङमा भएको हो । प्रारम्भिक शिक्षा दार्जिलिङमा लिएकी पारिजात २०११ सालमा नेपाल प्रवेश गरेकी हुन् । उनले एम. ए. (अधुरो) सम्मको शिक्षा लिएकी थिइन् । २०१३ सालमा ‘धरती’ मा दुईवटा कविता प्रकाशित गराएर औपचारिक रूपमा साहित्यिक यात्रा तय गरेकी पारिजातको कलम कविता, कथा, उपन्यास, निबन्ध, आत्मसंस्मरण तथा लघुनाटिका लेखन निरन्तर चलेको पाइन्छ । उनका आकांक्षा (२०१४), पारिजातका कविताहरू (२०४४) र वैंशालु वर्तमान (२०५०) गरी तीनवटा कविता सङ्ग्रह प्रकाशित छन् । पारिजातको मृत्यु २०५० वैशाखमा काठमाडौंमा भयो ।
कथानक
पर्खालभित्र र बाहिर (२०३४) प्रगतिवादी विचारधारालाई लिएर लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासले निम्न वित्तीय आर्थिक जीवन बिताउन विवश भइरहेका नेपालीहरूको विकराल जीवनस्तरलाई कथ्य विषय बनाएको छ । यस उपन्यासले श्रमजीवी, शोषित, पीडित वर्गलाई मानवीय मूल्य, प्रतिष्ठा तथा सामाजिक सम्मान दिने र दिनानुदिन खोक्रिँदै गइरहेको मुलुकको प्राकृतिक र साँस्कृतिक सम्पदामा आएको विखण्डन र अराजक प्रवृत्तिलाई उदाङ्गो पार्ने उद्देश्य राखेको
पाइन्छ । तात्कालिक निरङ्कुश शासन व्यवस्थाका पृष्ठपोषकहरूले प्रजातन्त्र प्राप्तिका लागि लड्ने जनतालाई समाउदै कारागारको यातना दिने र कतिपयलाई कारागार भित्रै मार्ने अमानवीय गतिविधिलाई पनि यस उपन्यासले चित्रण गर्ने मूल उद्देश्य राखेको छ । त्यसैले यस उपन्यासको कथानक कारागारबाट आरम्भ भएर कारागार प्रवेशसँगै समापन भएको छ । यस उपन्यासको प्रमुख चरित्र कारागारको छतबाट प्रकृतिको मनोरम दृश्य हेर्दै बाटुलीलाई सम्झिएर दुखित हुन्छ । उसको साथी ज्वाला पनि सँगै देखिन्छ । यी दुवैको वार्तालापका क्रममा औपन्यासिक घटना विकसित हुन्छ । ज्वालाले सधैँ यसरी बाटुलीलाई सम्झेर मात्र भएन रूटिन बदल्नु प¥यो । जेल हाम्रो युग भइसक्यो सङ्ग्राम, छटपटी, दुःख यातनाहरू हाम्रा स्वभाव भइसके, हामीले युगको कुँजोपनलाई आत्मसात् गरिसक्यौं, हामीले यहाँ आएर एघार वर्ष बिताइसक्यौं । हाजारैं लाखौं बाईस वर्षे बाटुलीहरू खाने, लाउने अभावमा असामयिक तवरले बूढी भइसकेका छन् । एघार वर्षमा मैले आमा, बाबु, बहिनी सब गुमाएर एक्लो भइसके । राजनीतिमा यस्तो साधुपन चल्दैन । ज्वाला तामचिनको भाँडाजस्तै तात्न र सेलाउन बेर मान्दैन । ज्वाला गइसकेपछि रमेश बाटुलीको अतीतलाई सम्झिएर दुखित हुन्छ । ऊ जीवनका विसङ्गतिमा बेस्कन पिल्सिएकी छे । उसको अनमेल विवाह भएको थियो । विवाहपछि लोग्नेको मृत्युले बैधव्य जीवन धान्न नसकेर रमेशकै आग्रहमा उसले रमेशसित पुनर्विवाह गरेकी थिई । रमेशको पनि कुनै हैसियत थिएन । ऊ पनि ट्युसन पढाउने र क्रान्तिको समर्थन गर्ने मान्छे हो । ऊ एघार वर्षदेखि जेलमा थुनिएको छ । उसलाई अचानक बाटुलीको तिर्खा लाग्छ । तीन वर्षदेखि बाटुलीसित उसको भेट हुन सकेको छैन । बाटुलीका बारेमा अफवाह फैलाउने उद्देश्यले अनेकौँ पत्रहरू उसलाई आएका थिए । उसलाई क्रान्तिबाट विचलित बनाउने पत्र पनि आएका थिए । ऊ आफू बूढो पनि मुक्तिको इतिहास बूढो नहुने कुरामा विश्वस्त देखिन्छ । एउटा कामदार निर्धक्क उसका छेउमा आएर आँखा आँखाको भाकामा कुरा गर्छ । ज्वालालाई चुरोट खर्च चाहिएको छ । एउटा क्रान्तिकारी साथीले होटेलमा काम पाएको बिहेवारी गरेर घरजम बसालेको कुराले ज्वाला आक्रोशित देखिन्छ । जेलमा कीर्ते, चोर, ज्यानमारा आदिसँग रमेशको उत्तिकै हिमचिम बढेको छ ।
रमेशसँगको विछोडपछि अनेक प्रकारका दु ःख कष्ट खेपेकी बाटुली रमेशलाई भेट्न आई र ऊ रमेश छुट्न लागेको कुरा सुनेर उसलाई भेट्न आएकी थिई । ऊ पाटीमा बस्छे । कुल्लीगारी गरेर जीविका चलाउँछे । रमेशलाई एक बट्टा चुरोट र सलाई दिएर आँशु पुछ्दै बाटुली आफ्नो बाटो लाग्छे । रमेश बाटुलीले पाएको दुःख कष्ट र हण्डर सम्झेर दुःखित हुन्छ । ज्वालाले जेल काट्छु, मार्छु, फाल्छु, भत्काउँछु भनेर चिच्याउन थालेको खबर लिएर एकजना मान्छे आइपुग्छ । रमेशले ज्वालासँग तास खेलेर समय बिताउन आग्रह गर्छ । त्यसपछि बाटुली आएको कुरा बताउँछ । ज्वाला अट्टहास गर्छ । ऊ अहिले निकै हिंस्रक बनेको छ । उसले अनुहार विकृत पार्छ लगातार औलाहरू कपालमा छिराउने टाँक खोल्ने र लगाउने एकसुरे हुन थालेको छ । उसको चर्को स्वरले वातावरणलाई नै झक्झकाउँछ । र मुठ्ठी कसेर भित्तामा हिर्काउँछ । त्यसपछि टाउको बजार्न थाल्छ । उसलाई कामदारीहरूले बन्दी कोठीमा थुनिदिन्छन् । मानसिक असन्तुलनका कारण ज्वालाको मृत्यु भएको केही दिनपछि रमेश जेलमुक्त हुन्छ । ऊ बाटुलीले व्यवस्था गरेको कोठामा एकमहिनासम्म आराम गर्छ र कामको खोजिमा निष्कन्छ । विभिन्न ठाउँमा गएर काम नपाएपछि बाध्यता वश बाटुलिकै साथ लागेर कुल्ली काम गर्न पुग्छ । त्यहाँ उसको भेट क्युरी नाम गरेको मजदुरसित हुन्छ । क्युरीले सडक ठेकेदारहरूबाट गरिने श्रम शोषणका बारेमा जानकारी दिन्छ । भोलिपल्टको मजदुर संघर्षमा रमेशको प्रमुख हात भएको आक्षेप लगाउँदै गिरफ्तारीसहित उपन्यास उपसंहारमा पुगेर सकिन्छ ।
यस उपन्यासमा झीनो कथावस्तु पाइन्छ । कथावस्तुको आरम्भ जेलको छतबाट हुन्छ र ज्वालाको असन्तुष्टि अवस्थासम्म पुग्छ । ज्वालाको विद्रोहदेखि विकसित हुन थालेको मध्यभाग रमेशको रिहाइ अनि पुन ः गिरफ्तारीमा पुगेर चरमोत्कर्ष प्राप्त गर्दछ । रमेशको गिरफ्तारीपछि घटना शिथिल बन्दै उपसंहारमा पुगेर समापन हुन्छ । यसरी यो उपन्यास आदि, मध्य र अन्त्यका क्रममा विकसित भएको देखिन्छ । यो सरल कथानक भएको उपन्यास हो ।
चरित्रचित्रण
पारिजातले ‘पर्खालभित्र र बाहिर’ उपन्यासमा आफ्नो राजनैतिक प्रतिबद्धतालाई व्यक्त गर्ने प्रयोजनका लागि राजनैतिक जीवनमा भिजेका वर्गगत चरित्रहरूको चयन गरेकी छिन् । यस उपन्यासका पात्रहरू मनोगतवादी दृष्टिकोण भएका पनि छन् । वर्गगत हितभन्दा अवसर लिने चरित्रलाई पनि चित्रण गर्ने र उनीहरूको रहस्योद्घाटन गरेको पाइन्छ । यस उपन्यासमा साधारण पात्रका साथै प्रगतिशील धारणालाई वहन गर्ने समाजका निम्न आय भएका मजदु, कुल्ली, शिक्षक आदि विविध किसिमका पात्रहरूको समायोजन गरिएको छ । विद्रोहशील व्यक्तित्वको सृष्टि गरी चरित्र चित्रणमा स्वाभाविकता देखाउनु पारिजातको थप विशेषता बनेको छ । उनका समग्र पात्रहरू बहिर्मुखी छन् । वैचारिक प्रतिबद्धताका दृष्टिले विवेच्य उपन्यासका केही पात्र प्रगतिशील र केहीपात्र अवसरवादी विचारका छन् । यीमध्ये रमेश भन्ने रामबहादुर, ज्वाला र बाटुलीको यस उपन्यासमा समानान्तर भूमिका रहेको छ । यस उपन्यासको प्रमुख पात्र रामबहादुर हो । ऊ रमेशका नामले चिनिएको छ । राजनीतिशास्त्र स्नातकसम्म गरेको रमेशको अतीत दयनीय रहेको छ । ऊ आफूलाई सामाजिक ग्यारेण्टी नभएको मान्छे, आमाको बतासे शिशु, मसँग परिवारको संस्कार छैन र व्यक्तिको मर्यादा छैन भन्ने टिप्पणी गर्दछ । उपन्यासको आरम्भमा उसको राजनैतिक पृष्ठभूमि दिइएको छैन । केवल ट्युशन पढाएर जीविका गर्ने मास्टर साहेबका रुपमा उसलाई चिनाइएको छ । उसले एउटी दुःख पाएर उपाय खोज्दै आएकी विधवालाई आश्रय दिएको छ । बाटुली उसका जीवनमा आएपछि पनि उसले पारिवारिक सुख भोग गर्न नपाउँदै राजनैतिक आक्षेपमा गिरफ्तार परी करिब बाह्र वर्षसम्म काठमाडौंको सदरकारागारमा राखिएको छ । ऊ कारागारबाट छुटेपछि साथीहरूबाट सहयोग पाउने अपेक्षा गरेको देखिन्छ । स्वार्थवश अन्धा भएका अवसरवादी उसका प्रगतिशील साथीहरूले विपद्मा सहयोग गर्नुको बदला सडक मजदुर भएर श्रम गर्दा पनि उठिवास लगाउँदै पुनः गिरफ्तार गराएर प्रगतिवादी अवसरवादी चरित्रलाई प्रष्ट पारेको देखिन्छ । रमेश यो उपन्यासभरि एउटा शिष्ट, शालीन र मिष्टभाषी बुज्रुक, परिस्थितिलाई काबुमा लिएर कार्य सम्पादन गर्ने मिलनसार र ज्यादै भलाद्मीपनले ओतप्रोत भएको पात्रका रुपमा चित्रित छ । कर्मजीवी गरिब, असहाय जनताको आड भरोसा र मुक्तिदाताको रुपमा चित्रित रमेश कारागारमा अत्यन्त सहयोगी ज्यालाको दुःखद मृत्युले विह्वल बनेको थियो । तीन महिनाकी गर्भवती बाटुलीलाई फेरि असहाय बनाएर जेल जानुपर्दा निकै दुखित बनेको छ । उपन्यासमा रमेशको चरित्राङ्कन सहज रुपमा भएको छ । स्नातकसम्म पढेको व्यक्तिलाई सडकमा सावेल समाउन पठाएर सजायँ दिनु उचित थिएन । ज्वाला यस उपन्यासको अर्को संघर्षशील, चाँडै तात्ने र चाँडै सेलाउन पनि सक्ने गजबको चरित्र हो । रमेशलाई आदर गर्ने र बेलाबेलामा झक्झकाउने, क्रान्ति गर्नुपर्छ, जेल फोर्नु पर्छ, काट्नुपर्छ, मार्नुपर्छ भन्दै विद्रोह गर्ने चरित्र ज्वालाले अन्त्यमा कारागारमा भवितव्य वा कर्तव्य मृत्युवरण गर्न पुग्छ । उसको क्रियाकलापमा असहजता देखिन्छ । ऊ पनि जनमुक्तिको अपेक्षा गर्ने सहयोगी चरित्र हो । बाटुली रमेशले राखिदिएको नाम हो । उसले जीवनका विसङ्गतिहरू दुःख कष्ट बेस्कन खेपेकी छे । गरिब परिवारमा जन्मिएकी, मायाँ लगाएको अल्लारेले छलेर भागिदिएपछि आफूले नरुचाएको मान्छेसँग बिहे गरेर विधवा भएकी, घरको बुहार्तनले आजित भएर कतै काम गरेर जीविका गर्न चाहने आशावादी चरित्र हो । ऊ साधारण नेपाली महिला सरह नारी चाहना काखका छोरा छोरी, बस्न एउटा साधारण घर, गरिखान थोरै जग्गा र लोग्नेको न्यानो आलिङ्गनमा समेटिन चाहने युवती हो । रमेशसँगको पुर्निववाहपछि उसले आफ्ना चाहनापूर्ण हुने मीठो सपना देखेकी थिई । नियतिको खेलले गर्दा समाजकी उपहासकी पात्रा बनेर उसले पाटीको वास र मजदुरी गरेर जीविका निर्वाह गर्नुप¥यो तापनि रमेशप्रतिको अटुट आस्था र विश्वास रत्तिभर डग्मगाएन । ऊ निरन्तर जीवन संघर्षमा जुटिरही । रमेशको रिहाइपछि झुल्किएको आशाको किरण पुनः मलिन हुँदै गएर उसको भविष्य अन्धकारपूर्ण देखिन्छ । ऊ यस उपन्यासमा आदर्श चरित्र बनेकी छे ।
भाषा शैली ः
प्रगतिशील विचारलाई अभिव्यक्ति दिने भाषा सशक्त छ । वर्णनका क्रममा पात्रगत संवाद योजनाका अतिरिक्त मनोगत ढङ्गले अभिव्यक्ति शिल्पलाईनिरन्तरता प्रदान गरिएको छ । उपन्यासकारको भावुक प्रकृति वर्णनले काव्यात्मक आनन्द प्राप्त हुन्छ । विषयको प्रगतिवादी विचारको सशक्तीकरण गरिएको छ । उखान टुक्का, अङ्ग्रेजी, हिन्दी भाषाको प्रयोग पनि पाइन्छ । घटनाको प्रयत्न वर्णनभन्दा संस्मरणका आधारमा औपन्यासिक विषयको प्रतिपादन गरिएको छ । पात्रगत आवेश, संवेग र आक्रोश प्रकट गरी पाठकको ध्यान आकृष्ट गर्ने प्रयासमा उपन्यासकारको लगाव बढी देखिन्छ । यो वर्णन र विवरणात्मक शैलीमा लेखिएको प्रगतिवादी उपन्यास हो ।
परिवेश
पर्खालभित्र र बाहिर जेलको परिवेशमा लेखिएको उपन्यास हो । पात्रको एघार वर्षे जेल जीवनका क्रममा संस्मरणमा आएका मूल घटनालाई नै प्रस्तुत उपन्यासले चित्रण गरेको छ । काठमाडौंस्थित सदर जेलको झ्यालबाट देखिने प्राकृतिक दृश्य, रमेशले ट्युसन पढाएर बस्दाको स्थानीय स्थान, टेकुस्थित मसानघाट, सदर जेलबाट कोठासम्म जाँदाको काठमाडौंको दृश्य, मोटर, रिक्सा, आधुनिक पहिरनमा सजिएर हिंड्ने नगरका बासिन्दाहरू, काठमाडौंको घुइँचो, आधुनिक घर बङ्गलाहरू नदीकिनारको पाटी, गुन्द्रुक, दशैतिहारको सांस्कृतिक रमझम, सिपाहीहरूको रसिया गीत, सडक निर्माणका कार्यमा सरिक कुल्लिहरू, विविध घटनाहरूलाई विवेच्य उपन्यासले परिवेशका रुपमा चित्रण गरेको छ । यस उपन्यासले देशको गिर्दो आर्थिक अवस्था, सामाजिक सांस्कृतिक चालचलन, पात्रगत मनोविश्लेषणलाई पनि यथावश्यक ढङ्गले चियोचर्चा गर्ने र अर्काको हुर्मत लिने प्रवृत्तिमा कमी नआएको, पोलाहाहरूको सङ्ख्यामा वृद्धि हुँदै गई राष्ट्रिय स्वाभिमानमा खतरा उत्पन्न हुन थालेको तर्फ पनि यस उपन्यासले सङ्केत गरेको छ । यस उपन्यासको परिवेश चित्रणमा स्वाभाविकता देखिन्छ ।
उद्देश्य
प्रगतिशील विचारको प्रतिपादन गरी निम्नवर्गीय जनताको यथार्थ चित्रण गर्नु उपन्यासकारको अभीष्ट रहेको छ । नेपालको राजनैतिक परम्परामा देखिनै आएको विखण्डकारी प्रवृत्ति, शोषक सामन्तवादी संस्कार, बढ्दो पाश्चात्य फेशन, अवसरवादी संस्कार यावत् पक्षलाई चित्रण गरी जनमानसलाई सजग गराई क्रान्तिकारी प्रगतिवादी ढङ्गको शासन व्यवस्था स्थापना गरी सामाजिक आर्थिक र सांस्कृतिक रुपबाट थिचोमिचोमा सदियौंदेखि पिल्सिल्दै आएका निम्नवर्गको मुक्ति गर्नु यस उपन्यासको प्रमुख उद्देश्य हो । आफ्नो उद्देश्य प्रतिपादका लागि उपन्यासकारले कथाविन्यास, घटनाको प्रस्तुति, पात्र चयन, परिवेश चित्रणमा सजगता अपनाएकी छिन् । जनमुक्तिका लागि संघर्षरत योद्धाहरूलाई जाली फटाहाहरूबाट जेलको चिसो छिंडीमा थुनेर, कतिपयलाई जेलभित्रै मारेर, आन्दोलन दबाउने घृणित कार्य गरिरहेको अमानवीय व्यवहारको पर्दाफास गर्ने उद्देश्य राखेर लेखिएको विवेच्य उपन्यास पर्खालभित्र र बाहिरले अन्धकारपूर्ण अवस्थालाई देखाएको छ । समाजमा विसङ्गत जीवन भोग्न विवश निम्न आय भएका नेपालीहरूको दयनीय अवस्थाको चित्रण गरी क्रान्तिकारी प्रगतिवादी विचारको अभिव्यक्ति दिने उपन्यास हो । यस उपन्यासले जीवनप्रति हरेस नखाई उज्ज्वल भविष्यको कामना गर्दछन्, आफू बूढो भए पनि इतिहास बूढो नहुने अभिव्यक्ति दिएर क्रान्ति सफल हुन्छ र भविष्यमा आम नागरिकहरूले सुखद् जीवनयापन गर्न पाउँछन् भन्ने आशावादी स्वरप्रकट भएको छ ।
शीर्षक
पर्खालभित्र र बाहिर प्रतिकात्मक शीर्षक भएको उपन्यास हो । पर्खाल शब्दले बाधा बन्धन र अबरोधलाई बुझउँछ । बाहिरले खुल्ला र स्वतन्त्रतालाई सङ्केत गरेको छ । यस उपन्यासको प्रमुख पात्र अन्याय अत्याचारको विरोध गरेर पर्खालभित्र अर्थात् काठमाडौको सदर जेलमा थुनिएको छ । क्रान्ति पुरूषको थुनुवा अवस्थालाई अभिधार्थमा पर्खालभित्र र उसको रिहाइपछिको अवस्थालाई बाहिरले बुझाउन खोजे पनि लक्ष्यार्थमा पर्खालभित्र र बाहिरले अमानवीय शासन व्यवस्थालाई कठोर पर्खालका रूपमा चित्रण गरी ज्वालाका माध्यमबाट उक्त पर्खाल फोर्ने प्रयास गरिएको छ । एकजना व्यक्तिको प्रयासबाट शासन व्यवस्थारूपी पर्खाल फोर्न कठिन हुने र त्यसका लागि असीम जनबलको आवश्यकता बुझेको रमेश ज्वालालाई सम्झाउने प्रयास गर्दछ । निरङ्कुश शासन व्यवस्थालाई पर्खालको रूपमा हेरिएको यस उपन्यास जनमुक्तिको अपेक्षा राख्ने र त्यसै अनुरूप क्रान्तिमा होमिने जुझारू योद्धाहरूको साहसको कथालाई चित्रण गर्ने सामाजिक यथार्थवादी उपन्यास हो । यसले निरङ्कुश शासन व्यवस्थामा निरीह जनताहरूको शोषणको चरमोत्कर्षताको चित्रण गरेको छ । नेपालको वामपन्थी राजनीतिमा चरम अवसरवादीताको कारण वाम धारामा विखण्डन आएको राजनीति शिथिल बन्दै गएको क्रान्तिको चर्को नारा लगाउने वामपन्थी विचारधाराका मानिसहरू नै वामपन्थी राजनीतिलाई तारो बनाएर सत्ताको नजिक पुगि वाम आन्दोलनलाई कमजोर बनाउने घृणित खेल खेलेको विषयवस्तुलाई समेटिएको छ । क्रान्तिकारीहरू निरङ्कुश शासन व्यवस्थामा पर्खालभित्र र बाहिर जहाँ गए पनि असुरक्षित हुँदै गएको यथार्थतालाई यस उपन्यासले चित्रण गरेको हुनाले प्रतीकात्मक रूपमा पर्खालभित्र र बाहिर उपन्यासको शीर्षक सार्थक देखिन्छ ।

Top