बालसिर्जना संवाददाता २९ भदौ २०७७, सोमवार

 

गोपालप्रसाद रिमालको परिचय
गोपालप्रसाद रिमालको जन्म वि. सं. १९७५ जेठ १८ गते लगनटोल, काठमाडौँमा भएको हो । यिनले आई. ए. सम्मको औपचारिक शिक्षा लिएका थिए । यिनले जुद्धोदय पब्लिक स्कूलको संस्थापक र अध्यापन (१९९७), अमिनीमा लप्टन (१९९७), भाषानुवाद परिषद्को लेखक (२०००), शारदाका सम्पादक (२००३) तथा गौरी शङ्कर नाट्य समुदायको स्थापना र प्रबन्धक भएर काम गरेका थिए । वि. सं. १९९२ बाट काव्ययात्रा तय गरेका रिमालले आमाको सपना कविता सङ्ग्रह (१०१९), मसान (२००३), यो पे्रम ! (२०१५) नाटक र माया एकाङ्की लेखेका छन् । यिनलाई मदन पुरस्कार २०१९ र त्रिभुवन पुरस्कार २०३० बाट सम्मान गरिएको छ । यिनको मृत्यु २०३० कात्तिक ८ गते काठमाडौंमा भयो ।
काव्य प्रवृत्ति
गोपालप्रसाद रिमालले वि. सं. १९९२ सालमा ‘प्रति’ शीर्षकको कविता लेखेर काव्यबाट साहित्य यात्रा आरम्भ गरेका हुन् । थोरै लेखेर चर्चाको शिखरमा पुग्ने साहित्यकारमध्ये गोपालप्रसाद रिमाल पनि एक हुन् । यिनको एउटा मात्र कविता सङ्ग्रह प्रकाशित भएको छ । यिनी नेपाली कविताको इतिहासमा गद्य लेखनका थालनीकर्ता र अमेरिकी कवि वाल्ट हिट्सम्यानका अनुयायी मानिन्छन् । यिनका कवितामा स्वच्छन्दतावादी भावभित्रै क्रान्किारी विद्रोही चेत प्रबल रूपमा प्रकट भएको पाइन्छ । यिनको क्रान्तिकारी–विद्रोही चेत नाराको रूपमा नभई कवितात्मक रूपमा व्यक्त भएको पाइन्छ । यिनका कवितामा संवेदनशील कवि हृदयको सृजनात्मक इच्छा, आकांक्षा, आशा, क्रान्ति, विद्रोह राजनीतिक–सामाजिक परिवर्तनका स्वरहरू मुखरित भएको पाइन्छ । गोपालप्रसाद रिमालका कतिपय कविताहरू लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठका कवितासँग तुल्य–साम्य देखिन्छन् । यिनी पे्रमसम्बन्धी स्वच्छ भावना र विशिष्ट दृष्टिकोण राख्ने अतुलनीय मानवतावादी कवि हुन् । यिनले आफ्ना कविताहरूमा नारीलाई वासनापूर्तिको साधनका रूपमा नभई मातृत्वको स्रोत मानेर उच्च सम्मान प्रकट गरेका छन् ।
प्रचुर कल्पनाशक्ति भएका कवि रिमालले आफ्ना कवितामा मुलुकलाई स्वतन्त्रता र समानता प्रदान गर्न सक्ने मुक्ति पुरुषको चाहना राखेका छन् । यिनले आफ्ना कवितामा स्वाधीनतारूपी नारीका माध्यमबाट पराधीनताको बन्धन तोडी आपूmलाई मुक्ति प्रदान गराउन सक्ने क्रान्तिपुरुषलाई सपनामा आमन्त्रण गरेका छन् । प्रकृतिलाई आंशिक रूपमा चित्रण गर्ने रिमालका कवितामा क्रान्तिचेत यत्रतत्र सर्वत्र सल्बलाएको पाइन्छ वा भनौं आमाको सपना सिङ्गो कविता सङ्ग्रह नै क्रान्तिकारी कविता सङ्ग्रह हो । यिनी जीवनका पीडादायी शक्तिमाथि पौराणिक विषयको समेत प्रयोग गरी युगीन जनजीवनप्रति व्यङ्ग्य प्रहार गर्ने सशक्त कवि हुन् । यिनले अमूर्त वस्तुलाई मानवीकृत रूपमा प्रस्तुत गरी आफ्नो कलात्मक र अभिव्यञ्जनात्मक रूपमा अभिव्यक्त गरेका छन् ।
अन्योक्ति वा वक्रोक्तिमूलक शैलीमा तत्कालीन राजनीतिक, सामाजिक परिस्थितिबाट मुक्तिको चाहना राख्नु यिनको काव्यगत वैशिष्ट्य मानिन्छ । यिनले आफ्ना कविताका माध्यमबाट तत्कालीन राजनीतिक निरङ्कुशताबाट आक्रान्त नेपाली जनमानसको उन्मुक्तिको लागि शङ्खघोष गरेका छन् । यिनका कवितामा राजनीतिक, सामाजिक जागरण सशक्त रूपमा प्रकट भएको पाइन्छ । प्रतीकात्मकताका दृष्टिले यिनका कविता नेपाली कविताका इतिहासमा बेजोड मानिन्छन् । यिनी सामाजिक सुधारको चाहना राख्ने क्रान्तिकारी–विद्रोही कवि हुन् । यिनका कवितामा प्राकृतिक सौन्दर्य, प्रेमभाव, मानवता, करुणा, व्यङ्ग्य, विद्रोह सशक्त रूपमा व्यक्त भएको पाइन्छ ।
गोपालप्रसाद रिमाल गद्यकविताका स्रष्टा भए पनि यिनका कवितामा स्वतन्त्र लय, झ्याउरे लय र गद्य लयको सफल प्रयोग पाइन्छ । स्वर–व्यञ्जन वर्णको समानुपातिक आवृत्ति र सम–विषम वर्णको यथोचित प्रयोगबाट यिनका कविता साङ्गीतिक बनेका छन् । यिनले शास्त्रीय नियमलाई तोडी स्वतन्त्र रूपमा गद्य लयात्मक कवितालेखनको परम्परा बसालेका छन् । सरल, सहज र स्वााभाविक भाषाशैलीका प्रयोक्ता रिमालका कवितामा तत्सम, तद्भव शब्दको सन्तुलित प्रयोग पाइन्छ । यिनले भावोचित बिम्ब र प्रतीकको प्रयोग गरी युगीन सामाजिक, राजनीतिक बेथिति र विसङ्गतिप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । यिनका कवितामा तरल भाव, सन्तुलित पदावली र नवीन बिम्ब–प्रतीक तथा विभिन्न अलङ्कारको प्रयोग पाइन्छ ।
नेपाली कविताको इतिहासमा गद्यकविताको थालनीकर्ताका रूपमा गोपालप्रसाद रिमाललाई लिइन्छ । उनले आरम्भ गरेको गद्यकविताको परम्परालाई उनका उत्तरवर्ती कविहरूले अद्यावधि निरन्तरता दिइरहेको
पाइन्छ । यही नै गोपालप्रसाद रिमालको विशिष्ट पहिचान हो ।
‘तिमी को ?’ कविताको समीक्षा÷विश्लेषण
विषयवस्तु
गोपालप्रसाद रिमालको ‘तिमी को ?’ शीर्षक कविता आमाको सपनामा सङ्कलित क्रान्तिकारी विचार प्रवाहित भएको विद्रोहात्मक गद्य कविता हो । प्रश्नमूलक शीर्षक भएको विवेच्य कवितामा २००७ सालको राजनीतिक परिवेशलाई मुख्य आधार बनाएर असन्तोष प्रकट गरिएको छ । २००७ सालमा राजनीतिक क्रान्ति भएपछिको दिल्ली सम्झौता अनुसार राणा र जनता सम्मिलित छ्यासमिसे अन्तरिम सरकारको गठन हुन्छ । यस्तो परिस्थिति देखेर गोपालप्रसाद रिमाल असन्तुष्ट र क्षुब्द देखिन्छन् । यही विक्षुब्धता र क्रुद्धतापूर्ण मनस्थितिको कवितात्मक अभिव्यक्ति नै ‘तिमी को ?’ कविताको केन्द्रीय कथ्य हो । यसमा कविले राजनीतिक क्षेत्र र विरोधाभासपूर्ण भावलाई व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरेका छन् । सात सालको क्रन्तिले रिमालको विचारमा नराम्ररी ठेस पु¥यायो । उनी आफ्नै राष्ट्रमा बसेर जनताका शत्रुसित लड्न चाहन्थे तर नेपाली जनताले विदेशी शक्तिको भरमा विद्रोह गरेर स्वतन्त्रता प्राप्त गरेपछि पनि विदेशीले दिएको भ्रमपूर्ण स्वतन्त्रताको उपभोग गर्न थालेपछि वास्तविक अर्थमा जनताको जीत नभएको कटुसत्यलाई कवितात्मक विषय बनाइएको छ । यही असन्तुष्टि नै प्रस्तुत कविताको विषयवस्तु हो ।
मूलभाव
परिवर्तनकामी क्रान्तिकारी कवि रिमाल सात सालको राजनीतिक परिवर्तनपछि देश स्वतन्त्र र सार्वभौमशक्ति सम्पन्न भएको देख्न चाहन्थे तर यो उनको चाहना केवल सपनामा मात्र सीमित भएपछि उनी विक्षुब्ध र कु्रद्ध हुन पुगे । यही विक्षुब्धतापूर्ण विद्रोहात्मक अभिव्यक्ति नै यस कविताको केन्द्रीय विचार हो । व्यङ्ग्यको धार निकै तेजिलो भएको विवेच्य कवितामा प्रतिपक्षी चरित्र र मनोभावलाई आलम्बन बनाएर आपूmलाई द्वितीय पुरुष शैलीमा राखेर एकालापी शैलीमा विद्रोहात्मक पाराले विचाराभिव्यक्ति प्रस्तुत गरिएको छ ।
यहाँ हामीलाई आप्mनो अशक्तता नै प्रिय छ,
त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ ।
त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?
नेपाली मन हुनेहरूले पराइको दासत्व स्वीकार गर्दैन । नेपालको सार्वभौमसत्ता अखण्डताप्रति आँखा गाढ्ने तिमी को भन्ने राष्ट्रवादी चिन्तन प्रस्तुत गर्ने रिमाल अर्काको सहानुभूति जन्य क्रियाकलापप्रति विद्रोह ओकल्न पुग्छन् । पुर्खाको रगत पसिनाबाट सिर्जित यस मुलुक बहादुरीको वीरगाथाले सिञ्चित छ । नासोको रुपमा प्राप्त यस धर्तीको संरक्षण गर्नु हाम्रो दायित्व हो । त्यसैले वीरताले पोतिएको अहङ्कार नै नेपाली आत्माहरूका लागि प्रिय छ । सहिदको रातो रगतले लिपिएको नेपालको ऐतिहासिक भूपरिवेशलाई निगाह स्वरुप सहयोगको याचना गर्ने सतही मित्रता आवश्यक छैन । नेपाली मनको स्वतन्त्रता, आत्मीयता माथि आच ल्याउने कुटिल जाल रच्ने विस्तारवादी मानसिकताको पराकाष्टा उदाङ्ग देख्न सकिने तिम्रो कथित देखावटी मैत्रीभाव आवश्यक हाम्रा लागि प्रिय छैन ।
हामीलाई हाम्रो हार नै प्रिय छ,
दुर्गति र्न प्रिय छ ,
यो पसारो नै प्रिय छ,
निरंकुश तानासाही शासनका विरुद्ध लड्न नेपाली नै सक्षम छन् । जुन रुपमा लडिरहेका छन्, जस्तो अवस्थामा रहेका छन्, यही हाम्रा लागि प्रिय छ । स्वतन्त्रताको लडाइँमा हार खानु परे पनि नेपाली मनको आत्मीयतामाथि तगारो हाल्नु तिम्रो नादानी हो । बहुजाति, बहुभाषी, बहुसंस्कृति भित्र एकत्वको भाव रहेको यो सिङ्गो मुलुक जस्तो छ त्यस्तै हुनु नेपालीहरूका लागि प्रिय छ ।
अतः यस कविता प्रत्यक्ष रूपमा द्वितीय पुरुषतिर कविलाई नै सम्बोधन गरी लेखिएको छ । यस कवितामा एकातिर क्रान्ति र प्रगति चाहने कवि छन्, अर्कातिर यथास्थितिवादी प्रगति नचाहने विरोधी विचार भएको समाज छ, यसर्थ प्रस्तुत कवितामा कवि र समाजका बीच द्वन्द्वात्मक अवधारणा प्रकट गरिएको छ ।
नेपाली समाज बिकम्मा र राष्टिय चतनाशून्य छ, उसलाई आफ्नो अशक्तता, फोस्रो आडम्बर र अहंकार नै प्रिय छ । यस्तो समाजको कमी कमजोरी प्रकाशमा ल्याउन खोज्दा उसले कविप्रति नकारात्मक धारणा प्रकट गर्दछ । अर्थात् आफ्नो आलस्य र धरमरप्रति तीखो आलोचना गर्ने कविलाई नै उक्त समाजले घृणाको आँखाले हेर्दछ तर कवि विचारमा आगो ओकल्न चाहन्छन् । आप्mनो देशको विकास गर्न हामी सक्षम छौ, कसैको स्वार्थको स्वतन्त्रता चाहिएको छैन भन्दै कवि लेख्छन्
हामीलाई हाम्रो सुधार चाहिएको छैन,
क्रान्ति चाहिएको छैन,
उधारो क्रान्तिको भ्रान्ति
व्यङ्ग्यात्मकता
कवि रिमालले २००८ सालमा मोहनशमशेरको पतनपश्चात् मुलुकको वागडोर सहृमालेका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई निसाना बनाएर व्यङ्ग्यात्मक रूपमा अभिव्यक्ति दिएको पाइन्छ । उनको व्यङ्ग्यात्मक छवि यसरी प्रतिध्वनित भएको छ ः
यहाँ हामीलाई आफ्नो आशक्यता नै प्रिय छ,
त्यसलाई छोप्ने अङ्गार नै प्रिय छ,
त्यो उदाङ्को पार्न खोज्ने तिमी को ?
(रिमाल, तिमी को ? ः २७)
२००७ सालको क्रान्ति नेपाली काङ्गे्रसको अगुवाइमा भएको थियो । राणातन्त्रको पतनपछि पनि देशको अवस्था उस्तै भएकाले कवि रिमाल विक्षिप्त भएका थिए । त्यसको अभिव्यक्ति तिमी को ? जस्ता कवितामा मुखरित भएको छ ।
कवि रिमाललाई राणाहरूले प्रजापरिषद्का मानिसलाई प्राणदण्ड दिएको अवगत थियो । त्यसैले अध्यात्मवादका आवरणमा छिपेर उनी साथीहरूका साथ राजनीति गरिरहेका थिए । उनमा देशभक्तिको सेवा भाव सशक्त रूपमा देखिन्छ । कवि रिमालमा देशको प्रकृति पहरा–छहरा, धर्ती अनुपम लाग्दछ । त्यस्तै उनलाई देशभक्तिको भावनाले घनीभूत बनाएको थियो । उनका अन्तर्हृदयमा देशभक्तिको व्यवस्थाबाट यो परिपूर्ति नहुने देखे । उनी विक्षिप्त बने । उनमा भएको व्यङ्ग्यात्मक भावलाई यसरी देखाउन सकिन्छः
हामीलाई हाम्रो हार नै प्रिय छ,
त्यसैलाई हामी जयमाला बनाउन चाहन्छौँ,
“तिमी जितेका छैनौँ, जित्ने त अर्कै छ ”भन्ने तिमी को ?
हामीलाई हाम्रो आलस्य नै प्रिय छ ,
दुर्गति नै प्रिय,
उठाउन खोज्ने तिमी को ?
(रिमाल, तिमी को ?ः २७)
कवि रिमाल चन्द्र– सूर्य अङ्गित झण्डा प्रिय छ, उनले त्यसमा राष्ट्रको महिमा, गरिमा र अस्तित्व देखेका छन् । यसर्थ सम्पूर्ण धरमर, अत्यौल, कमी कमजोरी मेटाएर स्वच्छ, शान्त र उपयुक्त समाज व्यवस्था कायम गर्ने कविको प्रयास बेकार खेर जान्छ, व्यर्थ हुन्छ । कवि सात सालको क्रान्तिलाई जीत नभएर हार मान्दछन् । उनका दृष्टिमा यो जीत आफ्नो नभएर अर्काको जीत भएको अभिव्यक्ति छ, यसर्थ यो जीत नेपाली जनताको जीत नभई समाज विरोधी शक्ति वा विदेशी शक्तिको जीत हो । उनको आपूmले क्रान्ति गरेर विजय प्राप्त गर्ने चाहना केवल अरण्यरोदन बनेको छ, उनको पुकार खेर गएको छ । कविलाई साथ दिन कोही आउँदैन, एक्लो वृहस्पति भूmट भने भैंm कवि एक्ला बन्दछन् ।
ग) भाषाशैली
गोपालप्रसाद रिमालकृत ‘तिमी को ?’ कविता गद्यात्मक कविता हो । सातवटा प्रश्नबाट शङ्का, संशय, वा आशङ्का प्रकट गरिएको प्रस्तुत कवितामा अन्त्यानुप्रास र अन्तरअनुप्रासको सफलतापूर्वक संयोजन गरिएको छ । तथाकथित क्रान्तिकारीहरूप्रति धारिलो व्यङ्ग्य हानिएको विवेच्य कवितामा गेयात्मकता । साङ्गीतात्मकताको सफल समायोजन गरी भावको क्रमिक विकास गरिएको छ । प्रत्येक अनुच्छेदमा लाछीपन, बेकम्मा र दुर्गतिलाई रुचाउने नेपाली समाजको प्रतिनिधित्व गर्दै सुधार र क्रान्तिको स्वर गुञ्जाउने कविको चाहनालाई बेवास्ता गर्ने भावासिक्त प्रस्तुत कवितामा भावानुकूल बिम्ब र प्रतीकको चयन गरी कवितालाई गहन र खँदिलो ढङ्गले प्रस्तुत गरिएको छ । अहङ्कार, उदाङ्ग, श्रृङ्खला, गुण जस्ता तत्सम र धरमर, हार, अलमल जस्ता नेपाली झर्रा शब्दको यथोचित प्रयोग र क्रान्तिकारी विचारलाई प्रश्नात्मक शैलीमा प्रस्तुत गरी स्वच्छन्दतावादी प्रगतिवादी वृत्ति अनुरूप कविको क्रान्तिकारी स्वर सुसेलिएको ‘तिमी को ?’ एउटा गद्यलयात्मक उत्कृष्ट कविता हो । तिमी को ? प्रश्नसूचक कविता
हो । यस कवितामा कविले लोक लयको छनक दिने ढपमा कवितालाई गेयात्मक, लयात्मक र श्रुतिमधुर तुल्याएका छन् ।
घ) शीर्षकको सार्थकता
कविको राष्ट्रवादी विचारका पछि समाज लागेन, समाजले पनि आफ्नो हितैषी कविको कुरा सुन्नुको साटो उसैलाई मारेर भए पनि भिन्न देखाउने प्रवृत्ति लियो । त्यस्तो वीरताको फोस्रो धाक देखाएर रमाउने सामाजिक, राजनीतिक मनोवृत्तिप्रति खेद प्रकट गरी विरोधभाव देखाउने प्रस्तुत कविताको शीर्षक प्रतिकात्मक अर्थमा सार्थक र उपयुक्त देखिन्छ ।

Top