बालसिर्जना संवाददाता १२ असोज २०७९, बुधवार

 

प्राकृत अनुशासनको पालना गरी सम्पूर्ण जीवजगत प्राणी जगत, जलचर, थलचर, कीटकृमीलगायत सम्पूर्ण प्राणी र मानवकल्याण र अभ्यूदयको नयाँ मार्गको खोजी गर्नु विश्वमा शान्ति स्थापना गर्नु यस युगको प्रमुख आवश्यकता हो । अलकापुरीसभा यसै उद्देश्यमा पनि लक्षित छ ।

मुलायम माटोबाट कलात्मक भाँडाहरु बने जस्तै, ढुङ्गा खोपेर सुन्दर मूर्ति बनाए जस्तै, काठमा कलात्मक बुटाहरु बनाए जस्तै, सुनका आकर्षक गहनाहरु बने जस्तै, बाँस–निगालाका कलात्मक वस्तुहरु बने जस्तै, फलामबाट यानहरु यन्त्र–उपकरणहरु बने जस्तै, फलफूलबाट जाम जेली जुस बने जस्तै, घाँस पराल खाएर गाईले दूध बनाए जस्तै, फूलको सुगन्धबाट अत्तर बने जस्तै, राम्रा अनुभूतिबाट धरालाई पनि झिलीमिली पार्न सिगार्न सकिन्छ भने माटोबाटै धूलो उडाए जस्तै, काठ पोलेर खरानी अङ्गार बनाए जस्तै, सुनलाई ढल पाइप बनाउन प्रयोग गरे जस्तै, बाँस निगालालाई दाउरा बनाएर बाले जस्तै, फलामबाट धारिला हतियार क्षेप्यास्त्र बनाए जस्तै, घाँस पराल सडाएर दुर्गन्धित बनाए जस्तै, फलफूलबाट नसालु रक्सी पैदा गरे जस्तै, फूल सडाएर दुर्गन्धित बनाए जस्तै धरालाई पनि ध्वनि, वायु, जल थलका प्रदूषण, खैलाबैला आतङ्कले क्षतविक्षत पारी बिगार्न पनि सकिन्छ भने सुन्दर बनाएर सिगार्न पनि सकिन्छ । बिगार्ने काम पनि सिगार्ने काम पनि मानव बाहेक अरु कसैले गर्न सक्दैन । धराका सम्पूर्ण प्राणीमध्येको सर्वश्रेष्ठ प्राणी मानवको सीप, कला ज्ञानको तुलना अरु प्राणीसँग हुनै सक्दैन । मानवसँग अपूर्वको सिक्ने कला र निर्माण गर्ने कला छ । यो कलाको सदुपयोग गर्ने कि दुरूपयोग गर्ने ?

धरालाई अलकापुरीजस्तो खुशी आनन्दले भरिएको बनाउने उद्देश्यले आयोजना गरिएको महासभामा जनावरहरु प्राणीहरु, पंक्षीहरु, जलचरहरु, थलचरहरु, कीटपतंगहरु, देवताहरु, पितृहरु, गन्धर्वहरु, यक्षहरु, किन्नरहरु, नागहरु, अप्सराहरु सबै सामेल भएर सबैले आ–आफ्ना पिरमर्काहरु कठिनाइहरु र समाधानका उपायहरु समेत प्रस्तुत गरेका छन् ।

महाराज इन्द्रको आदेश अनुरूप सभा सञ्चालन गर्नका लागि पावनभूमिको खोजी गर्न उषा, निशा, दिवा, मेनका, उर्वसी धराका भू–भागको अध्ययन गर्न चीन, जापान, भारत, युरोप, अमेरिका, फ्रान्स तथा अरब देशहरुमा जान्छन् । त्यहाँ युद्धमा दिवंगत आत्माहरुको पिडादायक क्रन्दन सुनेपछि पावनभूमि भगवान्् शिवको वासस्थान नेपालखण्डमा नै सभा सञ्चालन गर्न उपयुक्त हुने कुरा महाराज इन्द्रमा बिन्ति गर्दछन् । यो महासभामा भगवान्् अल्लाह, भगवान्् यशु, भगवान्् राम, भगवान्् कृष्ण, भगवती देवी, भगवान्् बुद्ध, भगवान्् नानक, भगवान्् जैन, भगवान्् शिव र सम्पूर्ण देवीदेवताको उपस्थिति हुन्छ । जनावर, देवीदेवताहरु जगतपितामा धार्मिक सहिष्णुता सहितको कल्याणकारी प्राकृत धर्मको प्रारम्भ गर्न आग्रह गर्दछन् ।

वायु प्रदूषण, ध्वनि प्रदूषण, जल प्रदूषण, थल प्रदूषण, बढ्दो तापमान र पातलिदो ओजनतहबाट त्रसित प्रकृतिमाता प्रदूषण हटाई धरा स्वच्छ बनाउन, मानवमा मौलाएको रिस, ईख, आक्रोस र प्रतिशोध शान्त पार्न मैत्री सद्भाव बढाउन अनुरोध गर्दै जनावर र प्राणीहरुमा माया ममताका नयाँ प्रयोगहरु प्रारम्भ गरेको कुरा प्रकाश पारेकी छन् । मेनका, विख्याता र अनन्तज्योति विनाशकारी हतियारको प्रयोग अध्ययन अध्यापन रोकी शान्तिको नयाँ बाटोमा हिड्न आग्रह गर्दै आणविक हतियारमा लागेको वैज्ञानिक शक्ति जलयान, थलयान, वायुयानमा सौर्यउर्जा, वायु उर्जाको विकासमा लाग्न र समुद्रमा धावनमार्ग बनाउन तथा तैल्य पदार्थको प्रयोग रोक्न आग्रह गरेका छन् ।

पुतलीका, कमिलाका, माहुरीका, गाईका, राँगाभैंसीका, सिंहका, बाघका, भालुका, मृगका, नागका, बोटबिरुवाका फूलफलका, लता कुसुमका, बालीनालीका प्रतिनिधि सबैले आ–आफ्ना पिरमर्का प्रकट गर्दै मानव विधि व्यवहारमा सुधार गर्न र प्राकृत पद्धति अवलम्बन गर्न आग्रह गरेका छन् ।

पानीको बहाव विरुद्धमा डुङ्गा चलाए जस्तै, पहाडी भूभागमा राजमार्ग बनाए जस्तै, पखेटा नहुने आकाशमा उड्न खोजे जस्तै, खुट्टा नहुने दौडन खोजे जस्तै, भारी बोकेर उकालो चढे जस्तै, सम्पूर्ण प्राणी बोटबिरुवाको वर्तमान प्रतिकूल  अवस्था बहावसँगै डुङ्गा चलाए जस्तै, मैदानमा राजमार्ग बनाए जस्तै, पक्षीहरु आकाशमा उडे जस्तै, हलुंगो भारी बोकेर ओरालो झरे जस्तै, सहज सरल आनन्दपूर्ण हुन सबैले आग्रह गरेका छन् । प्राकृत पद्धति पालना भएपछि मानव मनमा भरिएको रिस, ईख कटुता शान्त भई फूलको जस्तो, पुतलीको जस्तो, माहुरीको जस्तो, पक्षीको जस्तो खुशी आनन्दको जीवन बनाउन विनम्र अनुरोध गरेका छन् ।

सिनेमा, फेसबुक, युटुवमा डुबेको बालजगत, गुरुका सन्देशहरु सुन्न तयार नहुनाले गुरुका लागि पनि अध्यापन कार्य फलामको चिउरा जस्तै बनेको छ भने घरपरिवार इष्टमित्र पति, पत्नीमा माधुर्यता सद्भाव हराई शंका, कटुता र वैरभाव सिर्जना भएको छ । व्यक्ति व्यक्ति राष्ट्रराष्ट्र बीचमा द्वन्द्व र आक्रोस अशान्ति र तनाव बढेको हुनाले आत्महत्या गर्नेको संख्या बढ्दै गएको, प्राकृत जीवन पद्धति हराई खुशी र आनन्द नासिँदै गएको वर्तमान अवस्थामा टिभी, रेडियो, सिनेमा आदि सञ्चारका साधन र मनोरञ्जनका साधनलगायत शिक्षा, खेलकूद, विज्ञान, धर्म राजनीति सबैबाट बलेको अग्निमा घिउ थप्ने कार्य भएको हुनाले बदला, हत्या, हिंसा, आक्रोश, आतंकले भरिएको वर्तमान मानव सभ्यता सेवा, सहयोग, दया, माया, क्षमा, परोपकारले भरिएको नयाँ सभ्यतामा रूपान्तरण गराउनु पर्ने वर्तमान अवस्था बारे बोध गराएका छन् ।

महासभा सञ्चालनको लागि उपयुक्त ठाउँ खोजी गरेर मेनका आदि परीहरु फर्कन लाग्दा धरामा महामारीको प्रकोप फैलिएकोले प्रकृतिमाताको शरणमा पुगेका महाराज इन्द्रलाई संकटपूर्ण अवस्थाबारे जानकारी गराउँदै प्रकृतिमाताले ओजनतहको मर्मत कार्य गर्नका लागि रोगको किटाणु दिनुपर्ने बाध्यात्मक अवस्थाको अवगत गरउँछिन् र ओजन तहको मर्मत कार्य प्रारम्भ गरिसकेको हुनाले जलथल, वायु, आकाशमा दूषण नगरिदिन आग्रह गर्दछिन् भने तैल्य पदार्थको प्रयोग रोकी सोलार इनर्जीबाट सम्पूर्ण कार्य गर्न आग्रह गर्दछिन् ।

रिस, इख, बदला, आक्रोश, आतङ्क भरिएको पुरानो मानव सभ्यतालाई त्यागेर दया, माया, क्षमा, शान्ति, सद्भावको नयाँ सभ्यता प्रयोगमा ल्याउनु अनिवार्य छ । कल्याणकारी नयाँ सभ्यताको विकास भएपछि कसैले पनि दुःख पिडाको अनुभूत गर्नुपर्ने छैन । नवीन मानव सभ्यताको विकास भएपछि सबैमा खुशी आनन्दको सञ्चार हुनेछ । सबै रमाएर बस्न पाउने, आनन्दायक समाजको निर्माण गर्न सकिने सरल उपायहरु यस कृतिमा उल्लेख गरिएको छ । मानव मनलाई कसरी प्रयोग गर्दा खुशी आनन्द बर्षन्छ ? कसरी प्रयोग गर्दा दुःख दर्दको ओइरो लाग्छ भन्ने विषयमा तर्क वितर्क गरी नयाँ सिद्धान्तहरु प्रतिपादन गरिएका छन् । सूर्यकिरणमा सूर्य स्नान गरी ताप आर्जन गरे जस्तै, सोलार प्यानल बनाई झलमल्ल बत्ति बले जस्तै, ताताकिरणहरुलाई तातो बनाउने चिसो बनाउने उर्जाको रूपमा प्रयोग गरे जस्तै, नदीको प्रवाहलाई कुलो बनाई फाँटमा सिचाई गरे जस्तै, बाँध बाधेर उर्जा निकाले जस्तै, मानवमनमा पनि राम्रा अनुभूति दिएर महŒवपूर्ण उपलब्धीहरु हाँसिल गर्न सकिन्छ भने नराम्रा अनुभूति दिएर अशान्ति दुःख दर्द, पिडा, आक्रोश पैदा गर्न सकिन्छ । वर्तमान र भावी पिँढीको लागि नवीन मानव सभ्यताको विकास गरी धरामा उल्लास, उमङ्ग, खुशी, आनन्दको सञ्चार गराई नयाँ युगको स्थापना गर्न सकिने प्रयोगात्मक तथ्यहरु सहित यो कृति पाठक सामु प्रस्तुत भएको छ ।

Top