लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरस्थित जिल्ला जनस्वास्थ्यमा साधारण कर्मचारी बुबा र गृहिणी आमाकी माइली छोरी सावित्रा भण्डारीको जन्म लमजुङ जिल्लाको सिम्पानी ७ मा भएको हो ।
दुइ छोरा र चार छोरी मध्ये माइली छोरी सावित्रा सानै देखि फुटबल खेल्न अत्यन्तै रुचि राख्थिन् । गाउँका दाइहरूसँग फुटबल खेल्न उनी साह्रै खुशी हुन्थिन् । बाबुआमाको प्रेरणाबाट उत्कृष्ट खेलाडी बनेकी सावित्रा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा चिनिन्छिन् । छरछिमेकी र गाउँलेको कुरा काटेपनि उनका बाबुआमाले उनलाई सधै हौसला प्रदान गरिनै रहे । सोही कारण आज सावित्राले गाउँको मात्रै नभई देशकै नाम राखेकी छन् ।
चार वर्षअघि केटाहरूसँगै एक्लै फुटबल खेलेकी सावित्रा भण्डारीलाई रेफ्री शुक्र लामाले देखेपछि सशस्त्र प्रहरी बल (एपीएफ) को महिला क्लब हुँदै राष्ट्रिय टीमको ठेगना बताइदिएका थिए । उनले लामा दाइलाई पछ्याउदै राष्ट्रिय टीममा खेल्ने मौका पाएकी थिइन् । उनले राष्ट्रिय टोलीमा एउटै खेलमा डबल ह्याट्रिक गरेर नयाँ कीर्तिमान राखेकी छन् ।







